काठमाडौं। नेपालमा पहिलो पटक सन् २०१० तिर महिन्द्रा (रेभा) विद्युतीय कार भित्रिएको थियो। अहिले नेपाली अटो बजारको दृष्य फेरिएको छ।
अटो बजारमा विद्युतीय गाडी (इभी)को हिस्सा ह्वात्तै बढेको छ। अहिले नेपाली बजारमा दुई दर्जनभन्दा धेरै ब्राण्डका इभी छन्। विश्वका चर्चित ब्रान्ड टेस्ला, अउडी, बीएमडब्लू, बीवाइडीदेखि टाटा, एमजी, किया, हुन्डाई, ओमोडा, डिपल, सेरेस, नेटासम्मका इभी नेपाली बजारमा उपलब्ध छन्।
चालु आर्थिक वर्ष ११ महिनामा आयात भएका सवारीसाधनमा इभीको हिस्सा ६५ प्रतिशत देखिएको छ। इन्धन सवारीको हिस्सा ३५ प्रतिशतमा खुम्चिएको छ।
यस अवधिमा ८ अर्ब ८३ करोड रुपैयाँ बराबरका ६ हजार ९९१ इन्धन गाडी आयात हुँदा इभी त्यसको चार गुणा मूल्य बराबरको भित्रिएका छन्। ११ महिनामा ३३ अर्ब १ करोड बराबरका १२ हजार ९३९ युनिट इभी आयात भएका हुन्। यो तथ्यांकले इन्धन गाडीलाई इभीले डोमिनेट गरेको देखाउँछ।
दुई वर्षयता नेपालमा इभीको बजार बढेको हो। इभीमा पनि सबैभन्दा धेरै चिनियाँ ब्रान्डका छन्। प्रतिस्पर्धाले धेरै रेन्ज दिने तथा उत्कृष्ट फिचर भएका विद्युतीय कार प्रतिस्पर्धी मूल्यमा आउन थालिसकेका छन्। इन्धनको तुलनामा बिजुली धेरै सस्तो रहेकाले पनि इभीले बजार लिएको हो।
यस्तै इभीमा सरकारले कर कम लगाउनुका साथै खरिद गर्ने ग्राहकलाई ८० प्रतिशत ऋण उपलब्ध गराउने व्यवस्थाले पनि आकर्षण बढेको हो। इन्धन सवारीमा भने ५० प्रतिशत मात्रै ऋण उपलब्ध हुन्छ।
गाडी आयातमा ६५ प्रतिशत हिस्सा इभीको भएपनि राजस्व भने इन्धन सवारीबाट धेरै संकलन भएको छ। इन्धन गाडीको आयातमा सरकारले १६ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। इभीको आयातमा १४ अर्ब ७ करोड रुपैयाँ राजस्व उठेको छ। इन्धन सवारीसाधनको तुलनामा इभीमा भन्सारदेखि अन्त:शुल्क निकै कम भएका कारण त्यसको असर राजस्वमा देखिएको हो।
चालु आवमा जेठ सम्मको तथ्यांक हेर्ने हो भने चार पाङ्ग्रे इन्धन सवारी साधन आयातमा खासै ठूलो परिवर्तन भएको देखिंदैन। वर्षको पहिलो महिना ४९० युनिट इन्धन गाडी आयात भएकामा जेठमा ५२० वटा भित्र्याइएका छन्।
तर, इभीको आयात भने उल्लेख्य रुपमा बढेको देखिन्छ। साउनमा १२३ युनिट इभी आयात भएकामा जेठमा ३ हजार ३९१ वटा भित्र्याइएको छ।
दुई पाङ्ग्रे सवारीमा भने इभीको हिस्सा निकै कम छ। चालु आवको ११ महिनामा इन्धन र इलेक्ट्रिक गरी १ लाख ४३ हजार ९४० युनिट दुई पाङ्ग्रे सवारी साधन आयात गरिएको छ। जसमा इलेक्ट्रिकको हिस्सा १६ प्रतिशत मात्रै छ।
यो तथ्यांकले दुई पाङ्ग्रेमा अझै इन्धन सवारीकै बोलवाला रहेको देखिन्छ। ११ महिनामा १४ अर्ब २५ करोड रुपैयाँ बराबरका १ लाख २३ हजार ३०६ युनिट इन्धन बाइक तथा स्कुटर आयात भएका छन्। यसबाट सरकारले १४ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
यसै अवधिमा दुई पाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन २० हजार ६३४ युनिट आयात गरिएको छ। ती सवारीसाधन २ अर्ब ११ करोड रुपैयाँ बराबरका हुन्। ती सवारीबाट सरकारले ६९ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।