काठमाडौं। १२ वर्षपछि अन्तर्राष्ट्रिय उडानमा ‘कमब्याक’ हुन लागेको बीबी एयरवेजले भुटानको ड्रुक एयरको जहाज ल्याउने भएको छ। कम्पनीले जहाज ‘ड्याम्प लिज’मा ल्याउन ड्रुक एयरसँग सम्झौता गरेको छ।
बीबी एयरवेजका अध्यक्ष भवन भट्टले सुरुमा लिजको जहाज प्रयोग गर्ने बताए। ‘हामीले एक वर्षभन्दा बढी अध्ययन गरेर उडान संचालनको योजना बनाएका छौं। प्राधिकरणबाट एओसी प्राप्त भएको एक सातामा जहाज ल्याउन तयार छौं,’ भट्टले भने, ‘हामीले ड्रुक एयरसँग सुरुमा एउटा जहाज ड्याम्प लिजमा ल्याउने सम्झौता गरिसकेका छौं।’
जहाज लिज वेट, ड्राइ र ड्याम्प गरी तीन प्रकारको हुन्छ। बीबी एयरवेजले ड्याम्प लिजमा एयरबसको न्यारोबडी जहाज ल्याउन लागेको हो। ‘एओसीआर (एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट्स) अन्तर्गत हामीले ड्याम्प लिजलाई प्राथमिकता दिएका हौं,’ उनले भने।
ड्याम्प लिज अन्तर्गत जहाज र यसका ककपिट क्रु लिजमा दिने कम्पनीको व्यवस्थापनमा रहन्छन्। फ्लाइट एटेन्डेन्ट भने बीबी एयरवेजले नै व्यवस्थापन गर्नेछ।
कम्पनीलाई एयर अपरेसन सर्टिफिकेट ‘एओसी’ दिने प्रक्रिया नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अन्तिम चरणमा पुर्याएको छ। एओसी पाएलगत्तै एउटा जहाजमार्फत उडान सुरु गर्ने तयारी रहेको भट्टले बताए। कम्पनीले सुरुवाती चरणमा २ अर्ब रुपैयाँ लगानी गर्दै छ।
सुरुमा दुईवटा न्यारोबडी जहाजमार्फत दिल्ली, दुबई र क्वालालाम्पुरमा नियमित उडान गर्ने कम्पनीको योजना छ। उडानका लागि कम्पनीले सिनामंगलमा कार्यालय खडा गरी जनशक्ति भर्ती गर्ने काम थालिसकेको छ।
अहिलेसम्म ५४ जनाले कम्पनीमा जागिर पाइसकेका छन्। कम्पनीले एयर होस्टेसलाई तालिम दिन सुरु गरेको छ। कार्यालय तयार पार्न कम्पनीले राम्रै लगानी गरेको छ।
उडान सुरु गरेको केही समयमै जहाज किन्ने कम्पनीको तयारी छ। जहाज खरिदका लागि कम्पनीले अहिले ड्रुक एयर, गल्फ एयर लगायत वायुसेवा प्रदायकसँग छलफल गरिरहेको भट्टले जानकारी दिए।
उनले कम्पनीमा रणनीतिक साझेदार भित्र्याउन चाहेका छन्। ‘हामीले पैसा हाल्ने पार्टीभन्दा पनि स्ट्राटेजिक पार्टनर ल्याउने छौं। इण्डिगो, भिस्तारा, एयर अरेबिया जस्ता कम्पनीले चासो देखाएको अवस्थामा हामी सहकार्य गर्नेछौं,’ उनले भने।
बीबी एयरवेजले सन् २०१२ सेप्टेम्बर १३ मा कम्बोडियाको सियाम रिपबाट बोइङ ७५७-२०० विमानमा २०१ पर्यटक ल्याएर आफ्नो सेवा सुरु गरेको थियो। त्यो चार्टर्ड उडान थियो। नियमित उडान भने अक्टोबरदेखि सुरु गरेको थियो। तर फाइदा नभएपछि कम्पनी ६ महिनामै बन्द भएको थियो।