काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक उडान गर्न एउटा जेनरल सेल्स एजेन्ट (जीएसए) कम्पनीले चासो देखाएको छ।
हाल थाइ एयरवेज, जजिरा, सिचुवान, एयर अस्त्रा र विज एयरको जीएसए कम्पनी सोसाइटी इन्टरनेसनल ट्राभलले विभिन्न २ देशबाट उडान गर्न चासो देखाएको हो।
कम्पनीले कुवेत र आबुधाबीमा उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा प्रस्ताव नै गरेको छ। उसले जजिरा एयरमार्फत कुवेत र विज एयरमार्फत आबुधाबीमा नियमित व्यावसायिक उडान गर्न प्रस्ताव गर्ने क्रममा सर्त राखेको छ।
कम्पनीले आफूलाई ग्राउण्ड ह्याण्डलिङ सेवा संचालन गर्न दिनुपर्ने सर्त राखेको छ। साथै जजिरा र विज एयरको जहाजको पार्किङ शुल्क तथा यात्रुको सेवा शुल्क छुट हुनुपर्ने पनि कम्पनीको सर्त छ।
अहिले अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले सेवा शुल्कबापत प्रति यात्रु ३ हजार रुपैयाँका दरले क्यानलाई तिर्नुपर्छ।
क्यानका एक उच्च अधिकृतले भैरहवामा नियमित उडान र ग्राउण्ड ह्याण्डलिङ सेवा संचालनका लागि प्रस्ताव आएको जानकारी दिए।
‘सोसाइटी इन्टरनेसनलले भैरहवामा व्यावसायिक उडानको प्रस्ताव गरेको छ। तर उसले ग्राउण्ड ह्याण्डलिङ संचालन गर्नेदेखि पार्किङ र सेवा शुल्कमा पूरै छुटको माग गरेको छ,’ क्यानका ती अधिकृतले भने।
उनका अनुसार कम्पनीले कारोबार रकममा लाग्ने करमा पनि छुट दिन माग गरेको छ। सोसाइटी इन्टरनेसनलका संचालक रविचन्द्र सिंह हुन्।
क्यानले सिंहलाई जहाज पार्किङ शुल्कमा छुट दिन सकिने तर यात्रुको सेवा शुल्कमा छुट गर्नुपर्ने माग भने पूर्णरुपमा सम्बोधन गर्न नसकिने जवाफ दिएको छ।
‘भैरहवामा उडान हुन नसकिरहेको अवस्थामा हामी सोसाइटी इन्टरनेसनलको प्रस्तावप्रति सकारात्मक छौं। तर उसको माग अनुसार यात्रुको सेवा शुल्क भने पूरै छुट गर्न सकिँदैन। ३० प्रतिशत छुट दिन भने तयार छौं,’ क्यानका अर्का उच्च अधिकृतले भने।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २ वर्ष नाघेपनि नियमित व्यावसायिक उडान ठप्प छ। जजिरा एयरले केही महिना उडान गरेर बन्द गरेको थियो। नेपाल वायुसेवा निगमले मलेसियाबाट आउने यात्रु झार्नका लागि सातामा एक दिन भैरहवामा जहाज लाने गरेको छ।
अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि क्यानले एक महिनाअघि ग्राउण्ड ह्याण्डलिङ सेवा संचालन गर्न दिने योजना अगाडि बढाएको थियो।
क्यानले वायुसेवा प्रदायक स्वदेशी कम्पनीलाई प्रतिस्पर्धामार्फत ग्राउण्ड ह्याण्डलिङ संचालन गर्न दिने भन्दै एक महिनाअघि हिमालय एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्स र यती एयरलाइन्सलाई सूचीकृत गरेको थियो।
क्यानको निर्णय अनुसार ग्राउण्ड ह्याण्डलिङ सेवा संचालनका लागि भने भैरहवाबाटै अन्तर्राष्ट्रिय उडान गर्नुपर्नेछ। हिमालय एयरलाइन्स बाहेक तीन कम्पनीले अहिले आन्तरिक उडान मात्र गर्दै आएका छन्।