BIZMANDU
www.bizmandu.com

अर्बपति जेफ बेजोसले गरे अमेजनको थप ५ अर्ब डलर बराबरको सेयर बिक्री गर्ने घोषणा

२०८१ असार २०

अर्बपति जेफ बेजोसले गरे अमेजनको थप ५ अर्ब डलर बराबरको सेयर बिक्री गर्ने घोषणा
Photo: AP Photo/John Locher, File

अमेजनका संस्थापक जेफ बेजोसले कम्पनीको थप २ करोड ५० लाख सेयर बेच्ने बताएका छन्। जसको मूल्य लगभग ५ अर्ब डलर हुन्छ।

Tata
GBIME
Zonsen

कम्पनीको सेयर मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेपछि बेजोसले यस्तो घोषणा गरेका हुन्।

गत फेब्रुअरीमा उनले करिब साढे ८ अर्ब डलर बराबरको अमेजनको सेयर बेच्ने घोषणा गरेका थिए। सन् २०२१ पछि बेजोसले अमेजनको सेयर बिक्री गरेको त्यो पहिलो पटक थियो।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको बढ्दो मागले कम्पनीको क्लाउड कम्प्युटिङ व्यवसायमा आम्दानी बढाउने अपेक्षाका कारण अमेजनको सेयर मूल्य यस वर्ष ३० प्रतिशतभन्दा बढीले बढेको छ।

गत महिना अमेजको सेयर बजार मूल्य पहिलो पटक २ ट्रिलियन डलरभन्दा माथि पुगेको थियो।

यद्यपि, त्यो एनभिडिया, एप्पल र माइक्रोसफ्ट जस्ता अन्य प्रमुख टेक्नोलोजी कम्पनीहरू भन्दा कम नै हो। ती कम्पनीहरूले ३ ट्रिलियन डलर अंकको विन्दु पार गरिसकेका छन्।

अमेजनले अप्रिलको अन्त्यमा बलियो त्रैमासिक आम्दानीको रिपोर्ट गरेको थियो। यसले पनि एआईमा कम्पनीले लगाएको दाउ सफल भएको संकेत गरेको छ।

बेजोसले २०२१ मा कम्पनीको प्रमुख कार्यकारीको पदबाट राजीनामा दिएका थिए। हाल उनी कम्पनीको कार्यकारी अध्यक्ष हुन् भने उनीसँग कम्पनीको सेयरको सबैभन्दा ठूलो हिस्सा पनि छ।

उनले सन् १९९४ मा वाशिंगटनको बेलेभ्यूस्थित ग्यारेजमा अमेजनको स्थापना गरेका थिए। त्यतिबेला इन्टरनेट अझै शैशव कालमा थियो।

अनलाइन पुस्तक बिक्रेताको रूपमा अमेजनको सुरुवात भएको थियो। विश्वको सबैभन्दा ठूलो ई-पुस्तकहरूको सङ्ग्रह भएको उसको दाबी थियो।

अमेजन हाल विश्वको अग्रणी अनलाइन रिटेल र क्लाउड कम्प्युटिङ कम्पनीहरूमध्ये एक बनेको छ।

बेजोसले रकेट कम्पनी ब्लू ओरिजिन पनि स्थापना गरे। उक्त कम्पनीले गत मेमा ६ जना धनाढ्यलाई अन्तरिक्षसम्म पुर्‍याएको छ।

फोर्ब्स अर्बपतिहरूको सूची अनुसार बेजोस विश्वकै दोस्रो धनी व्यक्ति हुन्। उनको अनुमानित कुल सम्पत्ति करिब २ खर्ब १४ अर्ब डलर रहेको छ।