काठमाडौं। बुधबार सेन्ट्रल फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर एक वर्षयताकै उच्च ५२६.९० रुपैयाँ पुग्यो।
वित्तीय अवस्थाले कम्पनीको सेयर मूल्यलाई सपोर्ट गर्दैन। चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म सेन्ट्रल फाइनान्सको प्रति सेयर मूल्य ८.६४ रुपैयाँ ऋणात्मक छ।
कम्पनी ६ करोड १४ लाख रुपैयाँ घाटामा छ। अरु सूचक पनि खस्किएका छन्। तर सेयर भाउ भने अब्बल वित्तीय अवस्था भएका वाणिज्य बैंकको भन्दा महँगो छ।
चालु वर्ष तेस्रो त्रैमाससम्म गुहेश्वरी फाइनान्सको प्रति सेयर आम्दानी ५.४४ रुपैयाँ ऋणात्मक छ। कम्पनी ५ करोड ५० लाख रुपैयाँ घाटामा छ। तर सेयर मूल्य ९.९८ प्रतिशतले बढेर एक वर्षयताकै सर्वाधिक ४८१ रुपैयाँ पुगेको छ।
आइसीएफसी फाइनान्सको सेयर भाउ पनि सकारात्मक सर्किट लागेर एक वर्षयताकै उच्च ६२२.६० रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य ४२२ रुपैयाँसम्म झरेको थियो।
पछिल्लो समय नेप्से ओरालो लाग्दा समेत निरन्तर सेयर बजारमा राज गरिरहेका फाइनान्स कम्पनीको भाउ अस्वाभाविक रुपमा बढेको छ।
नेप्से बुधबार जम्मा ३.७९ अंकले बढ्दा फाइनान्स उपसमूहको सूचक ६.०४ प्रतिशतले बढ्यो। सूचीकृत १५ वटै फाइनान्स कम्पनीको सेयर मूल्य बढेको छ। मूल्य धेरै बढ्ने ५ कम्पनीको सूचीमा चारवटा र सर्वाधिक कारोबार हुने शीर्ष ५ कम्पनीको सूचीमा ५ वटै फाइनान्स कम्पनी छन्।
फाइनान्स कम्पनीको मूल्य र कारोबारमा उछाल देखिएको बुधबार पहिलो पटक होइन। वित्तीय विवरण खराब भएपनि केही महिनायता फाइनान्स कम्पनी नै लगानीकर्ताको रोजाइमा पर्दै आएका छन्।
अहिले बजारमा ४०० रुपैयाँभन्दा कम भाउमा कुनै पनि फाइनान्स कम्पनीको सेयर पाइँदैन। सेयर मूल्य सबैभन्दा न्यून भएको फाइनान्स कम्पनी प्रोग्रेसिभ हो। यसको मूल्य अहिले ४३६ रुपैयाँ छ।
जबकि सूचक राम्रो रहेका वाणिज्य बैंकमध्येमा सेयर भाउ धेरै हुनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रति कित्ता ५७७, एभरेष्ट बैंकको ५३८ र नबिल बैंकको ४८४ रुपैयाँ छ। अधिकांश वाणिज्य बैंकको सेयर भाउ प्रति कित्ता २०० रुपैयाँभन्दा कम छ।
तर नाजुक वित्तीय अवस्थाका बावजुत बजारमा फाइनान्स कम्पनीको दबदबा छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण हेर्दा अधिकांश फाइनान्स कम्पनीको वितरणयोग्य नाफा ऋणात्मक छ। खुद नाफा खुम्चिएको छ। प्रति सेयर आम्दानी ऋणात्मक छ।
तैपनि फाइनान्सकै सेयरमा लगानीकर्ता किन आकर्षित छन् त? बजारका विश्लेषकहरु यसलाई लगानीकर्ताको मनोविज्ञान, माग र आपूर्तिलाई सँगै राखेर हेर्नुपर्ने धारणा राख्छन्।
‘बजारमा डिमाण्ड र सप्लाईले कम्पनीको सेयर मूल्यमा फरक पार्छ। तर हाम्रोमा कम्पनीको वास्तविक अवस्था नहेरी लगानी गर्ने प्रचलन छ,’ एक विश्लेषकले भने, ‘जुन कम्पनीको सेयर मूल्य बढिरहेको छ, सबैको आकर्षण त्यसमै भएको पाइन्छ। तर यो लगानीकर्ता स्वयंका लागि राम्रो होइन। खराब वित्तीय अवस्था भएका कम्पनीमा लगानी खन्याउनु भनेको जानाजान जोखिम निम्त्याउनु हो।’
अधिकांश फाइनान्सको वितरणयोग्य नाफा ऋणात्मक रहेकाले लगानीकर्ताले आगामी वर्ष लाभांश पाउन सक्ने देखिंदैन। अर्थतन्त्रमा शिथिलताले फाइनान्स कम्पनीहरूको खराब ऋण बढिरहेको छ। कम्पनीको वित्तीय अवस्थामा तत्कालै सुधार आउने कुनै गुञ्जायास छैन।
‘बजार अहिले स्थिर छ। तर एउटा सेक्टर मात्रै मुभ भइरहेको छ। पछिल्लो समय लगानीकर्ता फाइनान्सको सेयरमा आकर्षित भएका छन्। लगानीकर्ता सबै एउटा सेक्टरमा ओइरिएपछि आपूर्तिभन्दा माग धेरै हुँदा मूल्य अकासिएको हो। बढ्नुपर्ने कारण केही छैन,’ एक ब्रोकर कम्पनीका प्रबन्ध निर्देशकले भने।