काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय सडक सुरक्षा ऐनको मस्यौदा तयार गरेको छ। मन्त्रालयले सहसचिव कृष्णराज पन्थको नेतृत्वमा समिति गठन गरी ऐनको मस्यौदा तयार पारेको हो।
सहसचिव पन्थले सवारी दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने गरी मस्यौदा तयार पारेको जानकारी दिए। ‘हामीले मस्यौदा तयार पारिसकेका छौं। मस्यौदा हुबुहु पारित भए सवारी दुर्घटना कम गर्न सहयोग पुग्नेछ,’ उनले भने, ‘अर्को हप्ता सचिवलाई बुझाउने तयारी छ। त्यसपछि अन्य प्रक्रिया अगाडि बढ्ने छन्।’
समितिमा कानुन मन्त्रालय, सडक विभाग र यातायात व्यवस्था विभागबाट प्रतिनिधि सदस्य थिए।
सडक सुरक्षाको लागि नेपालमा अहिलेसम्म स्पष्ट कानुन छैन। मस्यौदामा राष्ट्रिय सडक सुरक्षा परिषद् गठन गर्न प्रस्ताव गरिएको छ। परिषद्ले सडक सुरक्षाका विषयमा सरोकारवाला निकायसँग समन्वय गरी काम गर्नेछ।
पन्थका अनुसार, सडक सुरक्षित हुने तवरमा डिजाइन गरेको छ कि छैन भन्ने यकिनका लागि अडिट गर्ने प्रस्ताव गरिएको छ। साथै सवारीसाधन र चालकका बारेमा पनि विभिन्न प्रस्ताव गरिएको उनले बताए।
यसैगरी सार्वजनिक सडक ऐन संशोधनका लागि पनि मस्यौदा तयार भएको छ। सार्वजनिक सडक ऐन २०३१ लाई संशोधन गर्न मस्यौदा तयार पारिएको हो। उक्त ऐन पछिल्लोपटक २०७५ फागुनमा संशोधन भएको थियो।
सहसचिव पन्थले मस्यौदामा सडक वर्गीकरणको प्रस्ताव गरिएको जानकारी दिए। ‘अहिले कुन सडक कुन सरकारले हेर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था छैन। त्यही कारण कतिपय ठउँमा विवाद देखिएको छ। त्यसैले हामीले तीन तहमध्ये कुन सडक कसको क्षेत्राधिकारभित्र पर्छ भन्ने स्पष्ट हुने गरी मस्यौदा बनाएको छौं,’ उनले भने।