BIZMANDU
www.bizmandu.com

६१ किलो सुन प्रकरणमा फरार जीवन चलाउनेले दिए ज्यान मार्ने धम्की, प्रहरीकहाँ पुग्यो उजुरी

२०८१ असार १६

६१ किलो सुन प्रकरणमा फरार जीवन चलाउनेले दिए ज्यान मार्ने धम्की, प्रहरीकहाँ पुग्यो उजुरी
६१ किलो सुन प्रकरणमा फरार जीवन चलाउनेले दिए ज्यान मार्ने धम्की, प्रहरीकहाँ पुग्यो उजुरी

काठमाडौं। ६१ किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेले फोन गरेर विभिन्न व्यक्तिलाई धम्काउने गरेको खुलेको छ। प्रहरीको खोजी सूचीमा रहेका चलाउनेले एक व्यक्तिलाई फोन गरेर मार्नेसम्मको धम्की दिएका हुन्।

Tata
GBIME

ह्वाट्सएप नम्बरबाट फोन गरेर यस्तो धम्की दिएपछि पीडित व्यक्तिले प्रहरीकहाँ उजुरी दिएका छन्। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा ती व्यक्तिले आइतबार उजुरी दिएका हुन्। उजुरी दिने मिटरब्याज प्रकरणमा जोडिएका उप्रेती थरका भएको खुलेको छ।

‘ज्यानै मार्ने धम्की आएको उजुरी परेको छ। थप हेर्दै छौं,’ प्रहरी स्रोतले भन्यो। ६१ किलो सुन प्रकरणमा फरार रहेका आरोपी जीवन चलाउनेलाई पक्राउ गर्न प्रहरीले गत वैशाखमा डिफ्युजन नोटिस जारी गरेको थियो। केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को पत्रको आधारमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको थियो।

६१ किलो सुन प्रकरणमा हाल पूर्पक्षका लागि थुनामा रहेका दावा लामासँग चलाउनेको सम्पर्क रहेको देखिएको थियो। तर सीआइबीले अनुसन्धानका क्रममा चलाउनेलाई बोलाएर कागज गरी छोडेको थियो। प्रहरीमाथि नै चलाउनेलाई उन्मुक्ति दिएको आरोप लागेको छ।

सुन तस्करी जाँचबुझ आयोगले चलाउनेलाई अनुसन्धान नगरी प्रहरीले नै भगाएको आरोप लगाएको छ। सीआइबीकी तत्कालीन प्रमुख एआइजी किरण बज्राचार्यलाई त्यही आरोपका कारण एक महिनाअघि सरुवा गरिएको थियो।

अहिले सीआइबीले ६१ किलो सुन प्रकरणमा थप अनुसन्धान गरिरहेको छ। अहिलेसम्म भारतीय, चिनियाँ र नेपाली गरेर २० जना पक्राउ गरेको छ। अबको केही दिनमा अनुसन्धान सकेर प्रहरीले राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ। तर चलाउने अझैं पक्राउ पर्न सकेका छैनन।

चलाउने आफैंले पनि केही समयमा नेपाल आउने दाबी गरेका थिए। तर उनी आएका भने छैनन्।