चितवन। तयारी पोशाकको नेपाली ब्राण्ड ‘चिनो’ले काठमाडौं उपत्यका बाहिर पहिलोपटक शाखा विस्तार गरेको छ। शनिबार आध्यात्मिक गुरुहरूको उपस्थितिमा १ सय वर्षका ज्येष्ठ नागरिक ईश्वरी बजगाईले चितवन शाखाको शुभारम्भ गरेका छन्।
एक वर्षअघि मात्रै फेसन एण्ड टेक्स्टायल म्यानुफ्याक्चरिङ कम्पनीले उत्पादन गरी बिक्री थालेको चिनोले छोटो समयमै शाखा विस्तारलाई तीव्रता दिएको कम्पनीका संचालक नवराज बजगाईले बताए। उपभोक्ताको माग बमोजिम चितवनमा शाखा विस्तार गरेको उनको भनाइ छ।
संचालक बजगाईले भने, ‘आगामी दिनमा मुलुकका विभिन्न सहर हुँदै विदेशमा आउटलेट विस्तार गर्ने योजना छ।’
उनका अनुसार राजधानीमा बौद्ध, जोरपाटी, कुमारीपाटी, बानेश्वर, भक्तपुर, न्यूरोडलगायतका स्थानमा आउटलेट संचालनमा छन्। अबको दुई वर्षभित्र नेपालका विभिन्न ५० स्थानमा आउटलेट विस्तार गर्ने कम्पनीको योजना रहेको उनले जानकारी दिए।
कम्पनीले महिलाहरूका लागि तयारी पोशाक उत्पादन गरिरहेको छ। आगामी दिनमा पुरुषहरूका लागि पनि तयारी पोशाक उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए।
कम्पनीले १३ वर्षदेखि ४० वर्षको उमेरसमूहका महिलालाई लक्षित गरी विभिन्न डिजाइनमा तयारी पोशाक उत्पादन गरिरहेको छ। कम्पनीले विश्व बजारमा पछिल्लो समय आएका फेसनको ट्रेन्डलाई ध्यानमा राखेर पोशाक उत्पादन गरिरहेको छ।
तयारी पोशाकका नाममा हरेक वर्ष विदेश गइरहेको पैसालाई रोक्ने नीति कम्पनीले लिएको छ। ‘चिनो’ ब्राण्डका पोशाकलाई विदेश निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य रहेको बजगाईले बताए।
उनका अनुसार कम्पनीले चाँडै दुबई, जापान, भारतको नयाँ दिल्ली र सिलगुडीमा समेत चिनोको शाखा विस्तार गर्ने लक्ष्य लिएको छ।
कम्पनीले इटहरीमा होसलेसमार्फत पूर्वको बजार विस्तारको काम गरिरहेको छ भने पश्चिमतर्फ छिट्टै पोखरा र बुटवलमा पनि नयाँ शाखा विस्तारको क्रममा छ। राजधानीको गोंगबुमा पनि नयाँ आउटलेट स्थापनाको तयारीमा रहेको उनले जानकारी दिए।