काठमाडौं। प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाइन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन्।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ।
‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्।
असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ। सो क्रममा ललितपुरको खोकनामा पनि आज असार १५ मनाइएको छ।
खोकनाका खेतमा महानायक राजेश हमालदेखि विदेशी पर्यटकले हिलो खेल्दै रोपाइँमा सहभागी भएका छन्। बाउसे र रोपार रोपाइँमा व्यस्त हुँदा बालबालिकादेखि युवासम्म हिलोमा रमाइलो गरिरहेका देखिन्थे।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा कृषि हो।