BIZMANDU
www.bizmandu.com

कालिगढसँग ७२ लाख रुपैयाँ, प्रहरीसँग बयानमा भने : हुन्डी रकम होइन, सुन किन्ने पैसा हो

२०८१ असार १४

कालिगढसँग ७२ लाख रुपैयाँ, प्रहरीसँग बयानमा भने : हुन्डी रकम होइन, सुन किन्ने पैसा हो
कालिगढसँग ७२ लाख रुपैयाँ, प्रहरीसँग बयानमा भने : हुन्डी रकम होइन, सुन किन्ने पैसा हो

काठमाडौं । गत जेठ १८ गते काठमाडौं महानगरपालिका वडा ७ गंगाहितिमा रहेको लुम्बिनी गेस्ट हाउसबाट ५२ वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा पक्राउ परे। प्रहरीले उनीहरूको साथबाट ७२ लाख रुपैयाँ बरामद गर्‍यो। साथमा भेटिएको रकमको विश्वस्त स्रोत नभएको भन्दै प्रहरीले हुन्डी कारोबारीको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो।

Tata
GBIME

तर, भीमसेनले भने रकम आफूले कमाएको दाबी गरेका छन्। १० वर्षदेखि काठमाडौंमा सुनको गहना बनाउने कालिगढको रुपमा काम गर्दै आएका उनले न्युरोडमा धाउखानी सुनचाँदी गरगहना बनाउने कारखाना सञ्चालन गर्दै आएका छन्।

अनुसन्धानका क्रममा उनले छोरा र श्रीमतीको नाममा विभिन्न बैंकमा रहेको रकम झिकेर सुन ल्याएको दाबी गरेका छन्।

त्यसो भए पैसा किन ल्याएको? भन्ने प्रहरीको प्रश्नमा उनको जवाफ हुन्छ : सुन किन्न।

बयानका क्रममा उनले एक महिना अगाडीको घटना सुनाउँछन्।

पसलमा आएका रोशन भन्ने व्यक्तिले आफूसँग एक पिस सुन रहेको भन्दै मोबाइलमा फोटो देखाउँछ। बिल नभएको यसरी अवैध रुपमा सुन किन्दा सस्तो पर्ने लोभले उनी सुन किन्न तयार भएको देखिन्छ। सोही सुन लिन उनी गेस्ट हाउस पुगेको उनको भनाई छ।

तर, यसरी सुन किन्ने राष्ट्र बैंकबाट कुनै पनि अनुमति लिएको देखिँदैन। किन्ने र बिक्री गर्ने व्यक्तिको पनि आधिकारिकता खुल्दैन। अनुसन्धानका क्रममा उनले रोशन भन्ने व्यक्तिको थप जानकारी खुलाउन सक्दैनन्।

त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। खेमराज भने उनका भतिजा हुन्। रकम बोक्नको लागि उनलाई प्रयोग गरेको देखिन्छ।

जिल्ला अदालत काठमाडौंबाट दुईजना विरुद्ध नै हुन्डीमा मुद्दा दायर भएको छ। पछिल्लो समय प्रहरीको अनुसन्धानमा हण्डी र अवैध सुन तस्करीको कनेक्सन देखिएको छ।