BIZMANDU
www.bizmandu.com

तीनवटा स्टार्टअप कम्पनी उद्योग मन्त्रालयबाट पुरस्कृत, सूचीमा कुन कुन ?

२०८१ असार १३

तीनवटा स्टार्टअप कम्पनी उद्योग मन्त्रालयबाट पुरस्कृत, सूचीमा कुन कुन ?
तीनवटा स्टार्टअप कम्पनी उद्योग मन्त्रालयबाट पुरस्कृत, सूचीमा कुन कुन ?

काठमाडौं। सरकारले तीनवटा नवप्रवर्तन (स्टार्टअप) कम्पनीलाई पुरस्कृत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३० दिनको समय दिएर प्रस्ताव माग गरी उत्कृष्ट तीन कम्पनीलाई पुरस्कृत गरेको हो।

Tata
GBIME
Nepal Life

मन्त्रालयले औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधि प्रयोग गर्दै आविष्कार र नवप्रवर्तनका माध्यमबाट मुलुकको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै झापाको बिर्तामोड–२ स्थित हाई हिमालय अर्गानिक प्रालि, ललितपुर महानगरपालिका–२४ स्थित माउन्टेन बी कन्सर्न र रुपन्देहीको देवदह–१० स्थित आवास फर्निचर इन्डस्ट्रिजलाई पुरस्कृत गरेको छ।

कम्पनीका सञ्चालकहरुलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रमाणपत्र प्रदान गरे। पुरस्कारका लागि ६ कम्पनीको प्रस्ताव परेको थियो। मन्त्रालयले औद्योगिक पूर्वाधार महाशाखा प्रमुखको संयोजकत्वमा मूल्यांकन समिति गटन गरी उत्कृष्ट कम्पनी छानेको हो। प्रस्तावपछि ६ वटै कम्पनीको स्थलगत निरीक्षण गरी निर्णय गरेको मन्त्रालयले जनाएको छ।

पुरस्कृत हाई हिमालय अर्गानिक प्रालिले कृषिमा प्रयोग गरिने प्रांगारिक मल र अर्गानिक किटनाशक औषधि तथा बाली संरक्षक उत्पादन गर्दै आएको छ।

त्यस्तै माउन्टेन बी कन्सर्न प्रालिले मह उत्पादनका साथै चाकाबाट साबुन, लिपबाम लगायत उत्पादन गर्ने गरेको छ। आवास फर्निचर इन्डस्ट्रिज फर्निचरको उत्पादन र बिक्रीका साथै फर्निचरलाई आवश्यक प्लास्टिकको डोरी उत्पादनमा संलग्न छ।