काठमाडौं। नागरिक उड्डयन प्राधिकरणको कारबाहीमा परेका वरिष्ठ क्याप्टेन विजय लामा दुई सातापछि रिलिज भएका छन्। प्राधिकरणले ग्राउण्डेड गरेको २३ दिनपछि कारबाही फुकुवा भएसँगै उनी बुधबारबाट पुनः उडान सेवामा फर्किएका छन्।
‘क्याप्टेन विजय लामा हिजोबाट पुनः वाइडबडी उडान सेवामा फकर्सक्नु भएको छ,’ नेपाल एयरलाइन्सका प्रवक्ता देवेन्द्र पुनले भने, ‘अहिले हामीसँग एउटा वाइडबडी जहाज सी-चेककै प्रक्रियामा छ। बाँकी एउटा वाइडबडी जहाजले नारिता र दुबई उडान गरिरहेको छ।’
विमानस्थल परिसरमा निषेधित क्रियाकलाप गरेको भन्दै नागरिक उड्डयन प्राधिकरणले निगमका वरिष्ठ क्याप्टेन लामालाई कारबाही गरेको थियो। क्याप्टेन लामा ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको लङ हल रुटअन्तर्गत जापान, हङकङ लगायतका उडान प्रभावित भएको थियो।
निगममा वाइडबडी जहाजका लागि कुल आठ जना क्याप्टेन र पाँच को-पाइलटमध्ये यसअघि नै ३ जना वरिष्ठ क्याप्टेन ग्राउण्डेड छन्। जहाज सी-चेक प्रक्रियामा नागरिक उड्डयन प्राधिकरणको नियम नै उल्लंघन गरेको भन्दै थप दुई जना क्याप्टेन अहिले निलम्बित छन्।
निगमको वाइडबडी जहाजका क्याप्टेन सुवास रिजाल स्वास्थ्यका कारण ग्राउण्डेड छन् भने क्याप्टेन श्रवण रिजाल वाइडबडी खरिद प्रकरणका कारण ग्राउण्डेड छन्। यसैगरी क्याप्टेन योगेश हिराचनले ३ महिना अगाडि नै निगमबाट बिदा भइसकेका छन्।