BIZMANDU
www.bizmandu.com

सुनचाँदी व्यवसायी र कालीगढको प्रदर्शनले जब न्यूरोड क्षेत्र नै बन्द भयो…

२०८१ असार १२

सुनचाँदी व्यवसायी र कालीगढको प्रदर्शनले जब न्यूरोड क्षेत्र नै बन्द भयो…
सुनचाँदी व्यवसायी र कालीगढको प्रदर्शनले जब न्यूरोड क्षेत्र नै बन्द भयो…


काठमाडौं । प्राय: बिहानैदेखि चहलपहल हुने न्यूरोड क्षेत्रको दृश्य आज फरक थियो। सुनचाँदी पसलको ‘हब’ भएको जुद्धशालिकदेखि इन्द्रचोक क्षेत्रमा अधिकांश पसल खुलेनन्। जति खुले त्यो पनि पछि बन्द गरिए।

Tata
GBIME
NLIC

कारण थियो सुनचाँदी व्यवसायी र कालीगढको आन्दोलन।

पसल बन्द गरेर व्यावसायी सडकमा ओर्लिएपछि न्यूरोड क्षेत्र केही समय अस्तव्यस्त बन्यो। व्यवसायी र पसलमा कार्यरत कर्मचारीले नारा लगाउँदै न्यूरोड क्षेत्रमा र्‍याली निकाले। जसकारण केही घण्टा त्यो क्षेत्र नै बन्द हुन पुग्यो।

प्रदर्शनमा उत्रिएका अधिकांशको एउटै माग थियो – रिद्धि सिद्धि ज्वेलर्सले सुनको गहनामा जर्ती नलाग्ने र ज्यालामा भारी छुटको विज्ञापन रद्द हुनुपर्छ।

केहीदिन अघि रिद्धि सिद्धिले ज्याला ७ प्रतिशतमात्र लिने भनि विज्ञापन गरेको थियो। ज्वेलर्सले एकलौटी रुपमा सस्तो प्रचार गरेको विषय कालिगढ र व्यवसायीमुखी नभएको भन्दै व्यवसायीहरु आज विरोधमा उत्रिएका हुन्।

आजको प्रदर्शनमा उनीहरुले रिद्धि सिद्धिले भनेको जस्तो हुन नसक्ने भन्दै आक्रोश व्यक्त गरेका थिए।

अन्य सुन पसल बन्द भए पनि रिद्धि सिद्धि ज्वेलर्सको पसल खुल्ला थियो। प्रदर्शन गरिरहेका व्यवसायी न्यूरोड क्षेत्रभर घुमेर विशाल बजारमा रहेको रिद्धि सिद्धि ज्वेलर्स अगाडि भेला भए। र, नाराबाजी गर्न थाले।

उनीहरुले रिद्धि सिद्धिको विज्ञापन जायज भएको भन्दै विरोध गरे। रिद्धि सिद्धि पसल बन्द गर्नुपर्ने भन्दै नारा पनि लगाए।

त्यसक्रममा रिद्धि सिद्धिमा रहेका व्यक्ति र प्रदर्शनरत् व्यवसायीबीच केही समय भनाभनसमेत भयो।

इन्द्रचोकमा कोणसभा गरेपछि अहिले व्यवसायीहरु फिर्ता भएका छन् आआफ्नो काममा। तर माग पूरा नभए फेरि आन्दोलनमा आउने चेतावनी उनीहरुले दिएका छन्।

यससँगै उनीहरुले सरकारले सुनको भन्सार १५ प्रतिशतबाट २० प्रतिशत बनाएकोमा पनि विरोध गरिरहेका छन्। आजको प्रदर्शनका क्रममा उनीहरुले सो निर्णय पनि फिर्ता हुनुपर्ने माग गरिरहेको छ। यसका लागि १० संघहरुले सामुहिक रुपमा विभिन्न सरकारी निकायमा ज्ञापन पत्र पनि बुझाइसकेका छन्।