BIZMANDU
www.bizmandu.com

फर्स्ट लेडीलाई उपहार आएको त्यो ह्याण्डब्याग, जसले ल्यायो दक्षिण कोरियाको राजनीतिमै हलचल!

२०८१ असार १०

फर्स्ट लेडीलाई उपहार आएको त्यो ह्याण्डब्याग, जसले ल्यायो दक्षिण कोरियाको राजनीतिमै हलचल!
फर्स्ट लेडीलाई उपहार आएको त्यो ह्याण्डब्याग, जसले ल्यायो दक्षिण कोरियाको राजनीतिमै हलचल!


एउटा महँगो डिजाइनर ह्याण्डब्यागले दक्षिण कोरियाको राजनीतिमा हलचल मच्चाइदिएको छ। केही अघि सार्वजनिक भएको उक्त भिडियोको गुणस्तर खासै सफा थिएन तर त्यो दक्षिण कोरियाको राजनीतिमा उथलपुथल ल्याउन काफी थियो।

Tata
GBIME
NLIC

उक्त भिडियोमा एक पुरुषले एक महिलालाई महँगो ब्याग दिएको देखिएको थियो। हेर्दा यो भिडियोमा असामान्य केही थिएन तर दक्षिण कोरियाको राजधानी सोलमा रेकर्ड भएको यो भिडियोको असर देशकै संसदीय चुनावमा समेत पर्‍यो। किनभने उक्त भिडियोमा देखिएकी महिला आम नागरिक नभइ दक्षिण कोरियाका राष्ट्रपतिकी श्रीमती अर्थात फर्स्ट लेडी किम क्योन हुन्।

५१ वर्षकी किम क्योन फर्स्ट लेडी मात्र नभई एक व्यापारी तथा फेसनेबल महिलासमेत हुन्। उनले दुई हजार डलरको उक्त ह्याण्ड ब्याग बोक्नु खासै ठूलो कुरा समेत होइन। तर योसँग जोडिएको परिघटनाका कारण उक्त ह्याण्डब्याग प्रकरणले दक्षिण कोरियाको राष्ट्रिय राजनीति गर्मायो।

सन् २०२२ को सेप्टेम्बरमा इसाई पादरी चोई जे युंगले दक्षिण कोरियाका राष्ट्रपतिकी श्रीमती अर्थात फर्स्ट लेडी किम क्योनसँग उनकै निजी निवासमा भेट गरेका थिए।

पादरी चर्चका प्रमुख नेता थिए र फर्स्ट लेडीसँग पुरानै परिचय समेत थियो। सोलस्थित स्वतन्त्र पत्रकार राफेल राशिदका अनुसार चेइ जे युंग धार्मिक नेता हुन् र उनको दक्षिण कोरियाको राजनीतिमा धर्मको ठूलै प्रभाव पर्छ।

दक्षिण कोरिया इसाई देश होइन तैपनि त्यहाँको राजनीतिमा इसाई धार्मिक नेताहरुको राम्रै पहुँच छ। यी पादरी एक म्यासेन्जिङ सर्भिसका माध्यमबाट फर्स्ट लेडीसँग सम्पर्कमा रहिरहेका थिए। उनीहरुका बीच मित्रवत सम्बन्ध थियो र धेरै अघिदेखि एकअर्कासँग परिचित थिए।

यी पादरीको फर्स्ट लेडीसँग यो पहिलो भेट थिएन। उनीहरु यसअघि पनि धेरै पटक भेटिसकेका थिए।

पादरीको दाबीअनुसार एक भेटका क्रममा फर्स्ट लेडीले वरिष्ठ सरकारी पदहरुको नियुक्तिका बारेमा कुराकानी गरेको सुनेका थिए।

फर्स्ट लेडीको सरकारमा कुनै पनि आधिकारिक भूमिका छैन त्यसैले पादरीलाई उनको कुरा अनुचित लाग्यो। राफेल राशिदका अनुसार ती पादरीले फर्स्ट लेडीले सरकारी नियुक्तिहरुका बारेमा कुराकानी गरेको सुन्दा उनलाई लाग्यो- ‘यो त सरकारमा गलत तरिकाले प्रभाव पार्न काम हो।’

उनलाई लाग्यो, सरकारी नियुक्तीहरुमा फर्स्ट लेडीको कथित दखलका बारेमा सार्वजनिक गर्नु नै जनहितमा हुनेछ।

त्यसैले जब पादरी अर्को पटक फर्स्ट लेडीलाई भेट्न गए त्यो बेला सिक्रेट क्यामेरा लिएर त्यहाँ पुगे। उनले हाते घडीमा उक्त क्यामरा लुकाएका थिए। उनको उद्देश्य फर्स्ट लेडीले सरकारी नियुक्तिहरुमा गरेको दखललाई रंगेहात समात्नु थियो।

डियोरको डिजाइनर ह्याण्ड ब्याग

तर जब एक वर्षपछि उक्त भिडियो सार्वजनिक भयो, त्यो बेला सरकारी नियुक्तिहरुमा फर्स्ट लेडीको दखलको भन्दा पनि दुई हजार डलरको एक डिजाइनर ह्याण्ड ब्यागको चर्चा धेरै भयो।

राफेल राशिदका अनुसार पादरीको भनाइ के थियो भने उनले उक्त ह्याण्ड ब्याग सौहार्दता दर्शाउनका लागि फर्स्ट लेडीलाई उपहारका रुपमा दिन चाहेका थिए। उनको उद्देश्य उनलाई घूस दिने वा घूस लिएको देखाउने भन्ने चाहिँ थिएन।

उनी त केवल सरकारी नियुक्तिहरुमा अनावश्यक रुपमा देखिएको फर्स्ट लेडीको भूमिकालाई सबैका सामु ल्याउन चाहिरहेका थिए। यो भिडियोमा पनि फर्स्ट लेडीले उक्त ह्याण्डब्याग स्वीकार गरेको भन्ने देखिएको छैन।

त्यसमा फर्स्ट लेडीले भनेकी पनि छन्- ‘तपाईँ सधैं महंगा उपहार लिएर किन आउनुहुन्छ। तपाई यस्तो नगर्नुस्!’

भिडियोमा अगाडि उनको टेबलमा डियोरको ह्याण्डब्याग टेबलमा देखिन्छ। तर त्यो ब्याग फर्स्ट लेडीको हातमा देखिँदैन। उनले त्यो बोकेर गएको पनि देखिँदैन।

ब्याग लिएकोबारे अस्पष्टता भए पनि ह्याण्डब्याग विवाद चर्किएको छ।

उक्त भेटको एक वर्षपछि सन् २०२३ को नोभेम्बरमा मिडिया भ्वाइस अफ सोल नामको संस्थाले यसै विषयमा प्रेस कन्फ्रेन्स आयोजना गर्‍यो। उक्त संस्थाले नै ती पादरीलाई रेकर्डिङका लागि गोप्य क्यामेरा उपलब्ध गराएको थियो। त्यसको केही महिनामै दक्षिण कोरियामा संसदीय चुनाव हुनेवाला थियो। स्वतन्त्र पत्रकार राफेल राशिद समेत पनि उक्त पत्रकार सम्मेलनमा उपस्थित थिए। पादरी पनि पत्रकार सम्मेलनमा आए। राशिदका अनुसार उक्त पत्रकार सम्मेलन “मिडिया सर्कस”मा बदलियो।

उपहार कसरी घूसमा बदलिन्छ?

बेलायतको सेफिल्ड युनिभर्सिटीमा सेन्टर फर साउथ कोरियन स्टडिजकी निर्देशक सारा सोनका अनुसार दक्षिण कोरियामा आम सर्वसाधारणलाई लागेको छ कि नेताहरु आफ्नो सुविधासम्पन्न जीवनका लागि आफ्नो पदको दुरुपयोग गरिरहेका छन् र आम नागरिक सामान्य जीवनका लागि पनि सधैं संघर्ष गरिरहेका छन्।

त्यहाँ गिफ्ट अर्थात उपहारहरुको लेनदेनलाई सामाजिक रीतिरिवाजकै एक अंगका रूपमा लिइन्छ।

‘जब कोही वरिष्ठ वा आफूभन्दा ठूला व्यक्तिसँग भेट गरिन्छ त्यसबेला उनीहरुले दिएको उपहारलाई नाई भन्न असाध्यै कठिन हुन्छ तर उपहारको लेनदेनबाट भ्रष्टाचारको बाटो पनि खुल्छ किनभने कतिबेला यो उपहार केवल उपहार नभइ घूसमा बदलिन्छ भन्नै सकिन्न।’- निर्देशक सारा सोनले भनिन्।

यस्तै विषयहरु समाधानका लागि सन् २०१६ मै दक्षिण कोरियाले घूसविरोधी एक कानुन समेत बनाइसकेको छ। यो कानुन अनुसार कुनै पनि सरकारी पदाधिकारी वा उनकी श्रीमतीले कतिसम्म मूल्यवान उपहार स्वीकार्न पाउँछन् भन्ने बारेमा स्पष्ट उल्लेख छ। जुन ह्याण्ड ब्याग फर्स्ट लेडीलाई दिएको भनिएको छ त्यो ब्याग कानुनले निर्धारण गरिदिएको सीमाभन्दा कैयन गुना महँगो छ।

तर कानुनले निर्धारण गरेको बाहेक अन्य विशेषअधिकारहरुका कारण उत्पन्न हुने यस्ता समस्याहरुको कुनै हल निकालिएको छैन। यसकारण दक्षिण कोरियाका आम नागरिकहरु आफ्नो र सरकारी अधिकारीहरुको जीवनशैलीमा देखिने असमानताका कारण निकै रुष्ट छन्।

अझ ह्याण्डब्याग विवादले सर्वसाधारणको निराशालाई आक्रोशमा बदलिदियो। दक्षिण कोरियाली समाजको यो असमानतालाई अस्कर अवार्ड जितेको फिल्म ‘प्यारासाइट’ तथा सिरिज ‘स्क्विड गेम’मा पनि देखाइएको छ।

सारा सोन भन्छिन्- ‘प्यारासाइट तथा स्क्विड गेम जस्ता सिरिजहरु समाजको आन्तरिक असन्तुलनमाथि गरिएको टिप्पणी हो। हामी देख्छौं सर्वसाधारण आफ्नो जीवनमा थोरै भए पनि सुधार ल्याउन कति कठिन संघर्ष गर्छन् र सुखी जीवनको सपना पूरा गर्न कति जोखिम उठाइरहेका हुन्छन्। जबकी उच्च वर्ग सुखसुविधा सम्पन्न भएर सधैं ऐसआरामको जीवन बाँचिरहेका हुन्छन्।’

यस्तो भएपछि स्वाभाविक हो सत्तामा रहेका मानिसहरु पनि सामाजिक असमानता कम गर्न केही गर्दैनन्, अझ मनोमानी ढंगले नियमहरुको उल्लंघन गरिरहन्छन् भन्ने नै आम मानिसको पनि बुझाइ हुन्छ।

दक्षिण कोरियामा फर्स्ट लेडीमाथि यस अघि विभिन्न आरोपहरु लाग्दै आएको थियो। तर, उनका श्रीमान राष्ट्रपति यून सिक कियोलले श्रीमतीमाथि लागेका केही आरोपहरुका विषयमा जाँच गर्न नदिएपछि उनको समेत लोकप्रियतामा कमी आयो। राष्ट्रपति यून केमा आशावादी थिए भने संसदीय चुनावमा उनको पार्टीलाई बहुमत प्राप्त हुनेछ तर सर्वसाधारणले त्यो रिसलाई यसरी पोखिदिए कि चुनावमा उनको पिपुल्स पावर पार्टीले नराम्रो हार ब्यहोर्नुपर्‍यो।

राष्ट्रपति युनको कार्यकाल आगामी २०२७ को मार्चमा सकिँदैछ र दक्षिण कोरियाको कानुन अनुसार उनी फेरि राष्ट्रपति हुन पाउने छैनन्।

अमेरिकाको नर्थ ग्रीनविल युनिभर्सिटीमा राजनीतिशास्त्रका उपप्राध्यापक जोंग यून ली भन्छन्, ‘संसदीय चुनावहरुमा उनको पार्टीको हारपछि राष्ट्रपति युन दक्षिण कोरियाको इतिहासमै पहिलो यस्तो राष्ट्रपति हुन्छन् जसको आफ्नै कार्यकालमा पनि संसदमा नियन्त्रण रहनेछैन।’

उनका अनुसार राष्ट्रपति युनको पिपुल्स पावर पार्टी र विपक्षी डेमोक्रेटिक पार्टीका बीच संसद्‍मा कैयन् मुद्दाहरुमा मतभेद रहेको छ, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण उत्तर कोरियाको मुद्दा छ। यसैगरी अन्य विभिन्न राजनीतिक मुद्दाहरुमा पनि दुई दलबीच मतभेद छ। यस्तोमा राष्ट्रपतिले चुनौतीपूर्ण स्थितिको कसरी सामना गर्छन् भन्ने महत्त्वपूर्ण छ।

ह्याण्डब्याग प्रकरणले दक्षिण कोरियाका सर्वसाधारण राष्ट्रपति र फर्स्ट लेडीसँग निकै रिसाएका छन्। यतिबेला दक्षिण कोरियाको राजनीतिमा उक्त डिजाइनर ह्याण्ड ब्यागले कतिसम्म गहिरो असर पार्छ भन्ने विषय नै प्रधान छ। बीबीसी हिन्दीबाट