BIZMANDU
www.bizmandu.com

बीवाइडीको ‘यू एट’ कारमा चिनियाँ अर्बपति युआन ग्वान्जाओदेखि नेपालसम्म किन आए?


बीवाइडीको ‘यू एट’ कारमा चिनियाँ अर्बपति युआन ग्वान्जाओदेखि नेपालसम्म किन आए?
बीवाइडीको ‘यू एट’ कारमा चिनियाँ अर्बपति युआन ग्वान्जाओदेखि नेपालसम्म किन आए?

चीनको ग्वान्जाओका ५४ वर्षीय युआन मोइफु आफ्नी पत्नीसँगै एउटा लामो यात्रामा हिंडे। गन्तव्य झन्डै ३५ सय किलोमिटर लामो दूरीको तिब्बत।

Tata
GBIME
Nepal Life

इन्धन पूरा भरेपछि एक हजार किलोमिटर कुद्ने नयाँ गाडी लिएर हिंडेका उनीहरुले तिब्बतका भित्री गाउँ चहारे। सजिला – असजिला सबैखाले बाटोबाट यात्रा गरे। तिब्बतमा नै हजार किलोमिटर त कच्ची बाटोमै कुदे। यो यात्रा तिब्बती पठारमा मात्र सीमित रहेन।

तिब्बतमा बौद्धमार्गी र गुम्बाहरुले उनीहरुलाई सांस्कृतिक रुपमा जोड्यो। संस्कृतिप्रति रुचि राख्ने युआनले बुद्धबारे थप बुझे। तिब्बतका चैत्यको जरा नेपालसम्मै जोडिएको थाहा पाएपछि उनको यात्रा त्यहाँ मात्र रोकिएन। अर्को करिब नौ सय किलोमिटर थपिएर नेपालसम्मै तन्कियो।

‘बुद्धिज्म र कल्चरले मलाई धेरै प्रभाव पार्‍यो। यो धर्म नेपालबाट आएको भन्ने थाहा भएपछि मैले भौतिकरुपमै यो देश हेर्न चाहें। नेपालको संस्कृतिले चीनमा र चीनको संस्कृतिले नेपालमा कसरी प्रभाव पारेको छ भन्ने बुझ्न मन लाग्यो,’ युआनले सुनाए।

केरुङसम्म पहाडी बाटो भएपनि चीनको स्वशासित तिब्बतको यात्रामा सकस थिएन। तर, जब यता छिरे उनले सोचेभन्दा निकै फरक पाए। उबडखाबड बाटो। साँघुरा घुम्ती। सडककै बीच ठडिएका ढुंगा। धुलो र हिलो पनि। खासमा केरुङमा कागजी प्रक्रिया मिलाएर नेपाल छिरेपछि उनले आफ्नो नयाँ गाडीको असली टेस्ट ड्राइभ गर्न पाए।

‘बढाउन मिल्ने ग्राउन्ड क्लियरेन्सले गर्दा खराब बाटोमा पनि सजिलै आउन सकेँ,’ सडकको हालतले असन्तुष्ट उनी नेपालीको व्यवहारले भने औधी सन्तुष्ट सुनिए, ‘यहाँका मानिसहरु साह्रै असल र सहयोगी रहेछन्।’

शनिबार उनी काठमाडौंबाट फेरि केरुङतिर हानिए। तिब्बती बेल्टमा दुई घन्टामा जति दूरी तय हुन्छ त्यति नै दूरी नेपाली भेगमा ७ घन्टा लाग्ने हिसाब उनले लगाएका रहेछन् उनले।

केरुङ–काठमाडौंको यात्रामै उनले चीन र नेपालको विकासको रफ्तार दाँज्न भ्याइसकेका थिए। शनिबारै उनले धुन्चेपछिको एक लेनको अक्करे भिर हुँदै आफ्नो ड्राइभिङ स्किल बलियो बनाउँदै चिनियाँ भूमिमा टेकिसकेका छन्।

+++

चीनका साहु महाजन लग्जरी कारका सौखिन। त्यसैले उनीहरुको प्राथमिकतामा सधै पश्चिमा ब्रान्ड। चीनका चिल्ला सडकमा लग्जरी सेगमेन्टका एसयूभीमा अहिले पनि युरोपेली, जापानी र अमेरिकी ब्रान्डका गाडीको वर्चस्व छ। लग्जरी एसयूभीका सौखिन युआनले पहिले जापानी कम्पनी निसानको इन्फिनिटी चलाउँथे।

इन्फिनिटी ‘क्यू फिप्टी’।

अमेरिकी बजारमा इन्फिनिटीको लग्जरी सेगमेन्टको मूल्य ५० हजार डलरभन्दा माथि छ। तर, नेपालमा उनले ल्याएको कार चाहिं चीनमै बनेको हो। हाइब्रिड – पेट्रोल र ब्याट्री दुवै भएको।

‘चीनमा एसयूभी लग्जरी सेगमेन्टको बनेको थिएन त्यसैले विदेशी गाडी चढ्नुपर्थ्यो। तर, अब त्यस्तो अवस्था रहेन। यो गाडी चीनमै बनेको र सबै सुविधायुक्त छ,’ उनले भने, ‘मैले यो चढ्नुमा चीनकै उत्पादन हुनु पनि एउटा कारण हो।’

उनले नेपाल ल्याएको गाडी हो यू एट (U 8)। तर, तपाईले यही शब्द गुगलमा सर्च गर्नुभयो भने त्यसमा जर्मनीको पनडुब्बी देखाउँछ। दोस्रो विश्वयुद्धमा समुन्द्रमा प्रयोग भएको पनडुब्बीको नाम हो – यू एट।

‘यू एट’ कार

साथै जमिनमा जस्तै पानीमा तैरिरहेको र एउटै वृत्तमा फनफनी घुमिरहेको गाडीको भिडियो देख्‍नु भएको छ भने तपाइँले चिन्नुहुन्छ युआनले नेपाल ल्याएको कार। चारवटै पाङ्ग्रामा मोटरजडित यो कार त्यसैका बलमा फन्फन्ती घुम्छ – धेरै ठाउँ नै नलिइ।

विशेष भएका कारण उनले नेपाल भित्र्याएको कारका लागि ६ महिना प्रतीक्षा गरे – बुकिङपछि। त्यति लामो प्रतीक्षा गर्नु उनका लागि पनि अनौठो थियो किनकी उनी चाहेको गाडी जतिखेर पनि किन्न सक्थे। उनीहरुले जति पनि यू एट चलाउने भेटेका छन् ती सबै लग्जरी कारका सौखिनमात्र।

‘यो गाडी जसले किनेको छ ऊ पहिलेदेखि नै लग्जरी कार चढ्दै आएको थियो,’ उनले भने, ‘यो इलिट र व्यवसायीबीच प्रिय बनेको छ।’

यू एट चीनमा मात्र होइन, विश्वकै चर्चित कार बनिसकेको छ अहिले।

‘यू एट’ कारको इन्टेरियर

बीवाइडीको सब्सिडरी कम्पनी योङ्वाङले यो कार सार्वजनिक गर्दा विश्वकै अटो क्षेत्र तरङ्गित बन्यो – फ्लोटिङ कार आयो भनेर। १० लाख ९८ हजार युआन मूल्यको यो एसयूभी चीनमा मात्र होइन, बाँकी विश्वकै लागि पनि महँगो कार हो। नेपालमा यो कारको मूल्य सरकारले लगाएको कर र व्यवसायीले राख्ने नाफाका आधारमा करिब ९ करोड रुपैयाँ पर्छ।

बेलायतमा त मौजुदा ड्राइभिङ लाइसेन्सकै भरमा मात्र यो कार चलाउन हुन्न भन्ने लबिङ समेत भएको छ। यसमा यति धेरै फिचर छन् कि अहिलेकै ड्राइभिङ लाइसेन्सले त्यसलाई पूरा गर्न नसक्ने उनीहरुको तर्क छ। युआनका अनुसार यसमा यति धेरै सेफ्टी फिचर छन् कि योभन्दा धेरै महँगा विदेशी गाडीले पनि त्यसलाई भेट्न सक्दैन।

पाङ्ग्रा अलिकति पनि नसरी जहीँको त्यहीं ३६० डिग्री फन्को मार्दै मोडिनसक्ने यो कार गएको साता काठमाडौं र पोखराका सडकमा देखिएपछि यसबारे कौतुहलता जाग्नु स्वाभाविक थियो।

सोसल मिडियामा यो कारका फुटेज र स्टिल सट लगातार प्रवाह भइरहे। रहस्यमयी लाग्ने फिचरका कारण चर्चित हुने नै भयो। त्यस्तै रोचक छ कार चालकको पृष्ठभूमि जसले रसुवा हुँदै यसलाई नेपाल भित्र्याए।

‘यू एट’ कार

‘धेरै भिडियोमा यो कार पानीमा तैरिरहेको देखेका छौं। तपाईंले पानीमा कति कुदाउनु भयो त?’ उनले मुस्काउँदै सुनाए, ‘त्यो फिचर त इमर्जेन्सीका लागि पो हो त। त्यसै प्रयोग गर्ने होइन।’

सेफ्टी प्रयोजनका लागि दिइएको फिचरले फ्लोटिङ कारको यसमा विशेषता छ जुन दुर्घटनामा पर्दा प्रयोगमा ल्याउन सकिन्छ। तीनघन्टासम्म यसभित्र रहेका यात्रुलाई डुब्ने पानीबाट बचाउन सकिन्छ। उनका अनुसार ग्वाङ्झाउमा हाइवे रिङमा वर्षामा बाढी पस्छ। त्यतिखेर उक्त फिचरको प्रयोग हुनसक्ने उनले सुनाए।

++‌+

भाषाको हिसाबले नेपाली त परको कुरो, अंग्रेजी पनि बुझ्दैनन् युआन मोइफु। ट्रान्सलेसनका लागि एउटा एप प्रयोग गर्छन् तर त्यसले पनि सधैं काम गरिरहेको छैन। यी अजीवका यायावर को हुन् त?

‘यू एट’ कार

यू एट चढ्छन् भन्नासाथ यी औसत चिनियाँ होइनन् भन्ने बुझ्न कठिन छैन। रहस्य नै रहस्य भरिएको कारका धनी युआन आफैंमा एउटा सफल व्यवसायी रहेछन्।

‘यति महँगो गाडी यसरी बेपर्वाह लिएर हिंड्न जो कोही सक्दैन। खासमा तपाईँ कुन व्यवसायमा हुनुहुन्छ?’ थोरै मुस्काउँदै उनले जवाफ फर्काए – ‘न्युरो सर्जरीसँग सम्बन्धित सामग्रीको उत्पादन गर्ने कम्पनी छ मेरो। मेडिकल इक्युपमेन्ट।‘

त्यसको नाम?

मेडप्रिन रिजेनेरेटिभ मेडिकल टेक्नोलोजिस कम्पनी लिमिटेड।

सेन्जेन स्टक सूची नम्बर – ३०१०३३।

सन् २००८ मा स्थापित यस कम्पनीले प्रत्यारोपणमा आधारित मेडिकल डिभाइस उत्पादन गर्छ। आर्टिफिसियल सिन्थेटिक मेटेरियलको प्रयोग गरेर अत्याधुनिक प्रविधिमा आधारित सामग्री यसले उत्पादन गर्छ।

वालस्ट्रिट जर्नलका अनुसार कृत्रिम स्पाइन, मेम्ब्रेन प्याच,  क्रेनियो-म्याक्सिलोफेसियल,  हेमस्टेटिक गज लगायत उत्पादनमा कम्पनी सक्रिय छ। कम्पनीको हेडक्वाटर ग्वान्जाओमा छ। सेन्जेन स्टक एक्सचेन्जमा लिस्टेड यो कम्पनीले गत वर्षमात्रै २६ प्रतिशतले उत्पादनको बिक्री बढाएको छ।

‘यू एट’ कारको इन्टेरियर

यसबाहेक उनको व्यवसायको क्षेत्र अरु पनि छ। लगानीका क्षेत्र र व्यावसायिक दायरा हेर्दा गाडी लिएर नेपालसम्म आइपुगेका यिनी चिनियाँ खर्बपति रहेछन्।

तर, भेट्दा उनमा व्यावसायिक विरासतको कुनै धङधङी देखिएन। न ड्राइभर लिएका छन् साथमा न अरु सहयोगी नै। बेपर्वाह पारामा उनी नेपाल भित्रिएको देख्दा चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा बौद्धमा यस्तै पाराले क्युरियो पसलतिर चहारेको याद आयो। 

‘थोरै कारोबार त नेपालमा पनि छ। तर साह्रो कम,’ युआनले नेपालसँगको नाता सुनाए।

बीवाइडीको नेपालमा आधिकारिक डिलरसीप छ भन्ने तिब्बत आएपछि उनले जानकारी पाएका हुन्। त्यसैले उनलाई यहाँ आउन थप हौस्यायो।

+++

नेपाल आएको मौका पारेर बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले उनको गाडी आफ्नो शोरुममा डिस्प्ले गर्न पनि भ्यायो। ‘मैले किनेको गाडी किन दिने?’ भनेनन् उनले। आफू चढेर आएको गाडी ‘डिस्प्ले’ गर्न दिए। आफ्नो मुलुकको उत्पादनप्रति उनले देखाएको सम्मानले वास्तवमा ‘राष्ट्रवाद’ के हो भन्ने अर्थ्याइरहेको थियो।

‘यू एट’ कारधनी चिनियाँ नागरिक युआन मोइफु

उनी ठूला व्यावसायी हुन् भन्ने चाल पाएपछि हामीले नेपालमा चिनियाँ लगानी बढिरहेको सन्दर्भ सुनायौं। लगानीको वातावरण बनिरहेको दाबी पनि गर्‍यौं। यस्तो अवस्थामा उनीजस्ता व्यावसायी लगानीका लागि नेपाल आउन सक्छन् त?

उनले कूटनीतिक तर निकै ओजिलो जवाफ दिए। सन्दर्भ सुरु भयो नेपाल छिर्ने अध्यागमनबाटै।

‘इमिग्रेसनमा सबै मानिस क्याजुअल ड्रेसमा रहेछन्। को अधिकारी हो को काम लिन गएको मानिस चिन्नै कठिन। कोसँग कुरा गर्ने भन्ने समेत थाहा पाउन गाह्रो भयो,’ नेपाल प्रवेशको पहिलो दिनको भोगाइ सुनाए।

को अधिकारिक व्यक्ति हो को होइन भेउ पाउन नसकेको मात्र होइन, कर्मचारीले परिचय खुल्ने कार्ड समेत नलगाएको उनले पाए।

‘यू एट’ कार

दोस्रो कुरा पनि बेथितिकै थियो। सडकको हालतले यहाँ आउनै कठिन हुने उनको तर्क रह्यो। माथि नै उल्लेख गरियो- हाम्रैजस्तो भूगोल भएको तिब्बती क्षेत्रमा २ घन्टामा तय हुने दूरी नेपालतिरको राजमार्गमा ७ घन्टा लाग्छ।

भौतिक पूर्वाधार र कर्मचारीतन्त्रको अहिलेको स्वभावले लगानीको रोड ‘क्लियर’ छैन भन्ने उनको बुझाइ रहेछ। ‘चीनतर्फको सडक एकदमै मेन्टेन गरेको छ। नेपाल छिरेपछि धेरै फरक भयो,’ उनले भने।

नेपाली बाटोको यात्राले उनको नयाँ कारप्रतिको विश्वास भने थप बलियो बनाएको छ। उनले कारको प्रमुख तीन विशेषता सुनाए – पहिलो सस्पेन्सन गज्जब, ग्राउन्ड क्लियरेन्स ठाउँअनुसार मिलाउन मिल्ने। दोस्रो, आकार ठूलो भए पनि कन्ट्रोल एक्युरेट रुपमा गर्न सकिने। जति स्पिडमा पनि सन्तुलन राख्न सकिने। तेस्रो, सक अब्जर्भ गजबले हुने।

+++

युआन अप्रत्यासित रुपमा नेपाल आउँदा नेपाली सडकमा पनि यू एट देखियो। कुनै दिन नेपालका धनीमानीले यो गाडी पनि आफ्नो घरमा भित्र्याउलान्। तर, चीनका यी धनी व्यवसायी नेपाल यात्रा गरेर कस्तो सन्देश लिएर गए त?

‘यू एट’ कारमा युआन मोइफु

उनी सबैभन्दा धेरै नेपालीहरुले गरेको व्यवहारबाट प्रभावित भएका रहेछन्। भाषिक समस्याका बाबजुद उनले नेपालमा सहज रुपमा यात्रा गरे। काठमाडौंदेखि पोखरासम्मका मानिस उनलाई निकै ‘फ्रेन्ड्ली’ लाग्यो।

यहाँको ट्राफिक अवस्था चाहिँ चित्त बुझेन उनलाई। काठमाडौंभन्दा पोखराका सडक सफा अनुभव गरे उनले। अनि सुरक्षाका हिसाबले चाहिँ नेपाललाई उनले निकै राम्रोसँग तारिफ गरे। सुरक्षाकर्मीहरुले गरेको व्यवहारबाट उनी निकै सन्तुष्ट सुनिए। समग्रमा पोजेटिभ टोन।

नेपालबाट जाँदाजाँदै उनले सन्देश पनि दिए – ‘म तपाईँहरुमार्फत नेपाल सरकारलाई कर्मचारी संयन्त्रलाई राम्रो बनाउन र सडकको अवस्था सुधार गर्न भन्न चाहन्छु। नेपालका अथोरिटीले यी दुई कुरामा राम्रो काम गर्‍यो भने धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्रनेछन्।‘

सम्भावनाको बाटो देखाउँदै काठमाडौंबाट फर्किंदै गर्दा उनले फेरि एकपटक हिसाब गरे – केरुङसम्मको १ सय ६० किलोमिटरका लागि ७ घन्टा…!