BIZMANDU
www.bizmandu.com

विश्वकपपछि रोहित : फ्लड लाइट नहुँदा एड्जस्ट गर्नुपर्‍यो, ब्याटरलाई मात्रै दोष दिएर हुँदैन

२०८१ असार ६

विश्वकपपछि रोहित : फ्लड लाइट नहुँदा एड्जस्ट गर्नुपर्‍यो, ब्याटरलाई मात्रै दोष दिएर हुँदैन
विश्वकपपछि रोहित : फ्लड लाइट नहुँदा एड्जस्ट गर्नुपर्‍यो, ब्याटरलाई मात्रै दोष दिएर हुँदैन


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसीसी टी-२० विश्वकपमा बलरहरूले राम्रो प्रदर्शन गरेको बताएका छन्। विश्वकपमा सहभागी भएर बिहीबार स्वदेश फर्किएपछि पत्रकारहरुसँग प्रतियोगिताको समीक्षा गर्दै उनले ब्याटिङ अडरमा समस्या देखिएको बताएका हुन्।

Tata
GBIME
NLIC

विश्वकपका खेलहरु भएका अमेरिका र वेष्टइन्डिज दुवै मैदानले बलरहरुका लागि उपयुक्त भएको उनको भनाइ थियो। तर, मैदानले भने ब्याट्सम्यानहरुलाई साथ नदिएको उनले बताए।

पछिल्लो डेढ वर्षका खेलहरूमा जहाँ पनि ब्याट्सम्यान लागि ‘फेभरेबल कन्डिसन’ रहेको स्मरण गर्ने उनले यो विश्वकपमा भने धेरै टिमले लो स्कोरिङ खेल नै खेलेको बताए।

‘ब्याटरहरूका लागि सरफेस गाह्रो थियो। अनइभन बाउन्स भइरहेको थियो । ब्याटरलाई मात्रै दोष दिएर हुँदैन जस्तो लाग्छ। त्यो कन्डिसन बलरहरूलाई फेभरेबल थियो। त्यसले गर्दा बलरहरूले रेस्पोन्सिबिलिटी लिएको थियो,’ उनले भने।

त्यसक्रममा उनले प्रतियोगितामा पहिलो खेलदेखि नै उच्च मनोवलका साथ खेलेको सुनाए। तर विशेषगरी मैदानको कन्डिसनले प्रभाव पारेको उनको भनाइ थियो।

उनले भने, ‘फर्स्ट गेममा पनि फाइट त हामीले दिएकै हो। अर्को खेलमा अलमोस्ट लाइन क्रस गर्ने अवस्था थियो। त्यहाँ चाहिँ मिस हुन पुग्यो।’

बंगलादेशसँगको खेलमा भने ब्याटिङ युनिटले जिम्मेवारी पूरा गर्न चुकेको उनले स्वीकारे। भने, ‘विशेषगरी टप अडरको ब्याटरले त्यो रेस्पोन्सिबिलिटी लिएन। ओभरअल टुर्नामेन्टको कुरा गर्दा बलरहरूले राम्रो बलिङ गरे। त्यो चाहिँ पोजिटिभ छ।’

ब्याटिङ अडर परिवर्तन गर्नुपर्ने अवस्था देखिएको हो? भन्ने पत्रकारको प्रश्नमा उनले घरेलु प्रतियोगितामा देखाएको प्रदर्शनको आधारमा सबैले मौका पाउने बताए।

‘घरेलु खेलमा जसले पर्फर्म गर्छ उसले मौका पाउने हो। ढोका सबैको लागि खुला छ। करिब २ वर्षदेखि कुशल र आशिफले पर्फर्म दिनुभएको छ उहाँहरूलाई साथ दिनु एकदम जरुरी थियो। हरेक टुर्नामेन्टमा एक/दुई जनाले पर्फर्म गर्दैन त्यो हिसावले चेन्ज गर्न थाल्यो भने हरेक टुर्नामेन्टमा टिम चेन्ज हुन्छ,’ उनले भने।

दक्षिण अफ्रिकाविरुद्धको खेलले धेरै नै निराश बनाएको उनले बताए। लगभग जितिसकेका खेल हार्दा दुःख लागेको उनले सुनाए। उक्त खेलमा टप अडरको ब्याटिङ युनिटले राम्रो प्रदर्शन नगरेको उनको गुनासो रह्यो।

‘टप अडर ब्याटरले राम्रो पर्फर्म गर्नु पर्ने थियो किनभने सानो टार्गेटमा ब्याटरहरूले जसरी पनि खेल जिताउनु पर्ने थियो। ब्याटिङ युनिटबाट मिस गर्न पुग्यौँ,’ उनले भने।

बंगलादेशसँगको खेलमा भने विपक्षी बलरहरूले डोमिनेट गरेको उनले बताए।

उनी भन्छन्, ‘बंगलादेशका अपनिङ बलरहरूको स्किलले हामीलाई आउट प्ले गरेको थियो। त्यो ६/७ ओभरमा अलि जिम्मेवारी लिएर खेलेको भए नतिजा राम्रो हुन सक्थ्यो। ’

अबको जिम्मेवारी

खेल सुधार्नका लागि राम्रो टिमहरूसँग खेल्न जरूरी रहेको उनी सुनाउँछन्। अबका दिनमा आफूभन्दा राम्रा टिमहरूसँग खेल्न पाउने उनले आशा व्यक्त गरेका छन्।

श्रीलंका, बंगलादेश, दक्षिण अफ्रिकाहरूसँग पनि सिरिजहरू खेल्न जरुरी रहेको उनी बताउँछन्। भने, ‘घरेलु मैदानमा त हामीले डेढ वर्षदेखि राम्रो गरिरहेका छौं। बाहिरको कन्डिसनमा बेस्ट दिन पाएको छैन। त्यो एक्सपोजर जरुरी छ। क्यानसँग बसेर त्यसमा छलफल गरेर निर्णय लिनेछौँ।’

खेलाडीहरू व्यक्तिगत रुपमा देशबाहिर गएर डोमेस्टिक लिगहरू पनि खेल्न जरुरी रहेको उनको भनाइ थियो।

फ्लड लाइटको प्रभाव कति?

नेपालमा फ्लड लाइटमा खेल्ने मैदान छैन। त्यसैले फ्लड लाइटमा खेलेको बानी नहुँदा केही गाह्रो भएको उनले सुनाए।

‘हामी दिउँसो खेलिरहेका थियौं सबै खेलहरु। डे-नाइटमा खेल्दा अलिकति गाह्रो हुन्छ। तर एक्सक्युज गर्न भन्दा पनि एडजस्ट गर्न जरुरी थियो। किनभने अरु कुनै पनि अप्सन थिएन। अब चाहिँ त्यो इम्प्रुभ गर्न सकिन्छ,’ उनले भने।

घरेलु मैदानमा फ्लड लाइट लगायो भने सजिलो हुने उनको विश्ववास छ। ‘किनभने हामी युजटु हुन पाउँछौँ,’ उनले भने।