BIZMANDU
www.bizmandu.com

उपभोक्ता समितिका नाममा दुरुपयोग गर्न जानाजान टुक्रे योजनामा बजेट राखेको आरोप

२०८१ असार ४

उपभोक्ता समितिका नाममा दुरुपयोग गर्न जानाजान टुक्रे योजनामा बजेट राखेको आरोप
उपभोक्ता समितिका नाममा दुरुपयोग गर्न जानाजान टुक्रे योजनामा बजेट राखेको आरोप


काठमाडौं। पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दुरुपयोग गर्नका लागि सरकारले जानाजान टुक्रे योजनामा बजेट विनियोजन गरेको आरोप लगाएका छन्।

Tata
GBIME
NLIC

उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेट शीर्षकमाथिको छलफलमा भाग लिंदै अत्यावश्यक प्रकृतिका आयोजनालाई प्राथमिकता दिनुको साटो टुक्रे योजनामा रकम विनियोजन गर्नु बिडम्बनापूर्ण भएको बताए।

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ११ अर्ब ८७ करोड, सहरी विकासमा २९ अर्ब ६५ करोड, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ५ अर्ब १५ करोड र खानेपानी मन्त्रालयमा ५ अर्ब ९९ करोड रुपैयाँ बराबरका योजना एक करोडभन्दा कम लागतका छन्,’ उनले भने, ‘उपभोक्ता समितिका नाममा दुरुपयोग हुन्छ भन्ने जान्दा जान्दै कनिका छर्ने गरी बजेट ल्याइयो।’

सरकारले ३ करोडभन्दा मुनिका योजनामा केन्द्रले बजेट नछुट्याउने मापदण्ड बनाएकामा बजेटमा १ करोडभन्दा मुनिका सयौं योजना छन्।

महतका अनुसार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थानीय सडकका ६५५ मध्ये ७९, काठमाडौं सडक विस्तारका ४३ मध्ये ३, रणनीतिक सडकका ६७९ मध्ये ७२ र वैकल्पिक सहायक राजमार्गका ८९८ मध्ये १८९ योजनामा मात्र १ करोड रुपैयाँभन्दा बढी बजेट छ।

‘यो तरिकाबाट विकासमा छलाङ हुन्छ? स्रोत साधनलाई छरेर आर्थिक विकास हुन्छ?,’ महतले प्रश्न गरे।