BIZMANDU
www.bizmandu.com

काठमाडौं-तराई फास्ट ट्र्याकमा रुख काट्न ५ करोडभन्दा बढी खर्च, परामर्शमा सकियो २ अर्ब

२०८१ असार ३

काठमाडौं-तराई फास्ट ट्र्याकमा रुख काट्न ५ करोडभन्दा बढी खर्च, परामर्शमा सकियो २ अर्ब
काठमाडौं-तराई फास्ट ट्र्याकमा रुख काट्न ५ करोडभन्दा बढी खर्च, परामर्शमा सकियो २ अर्ब

काठमाडौं। राष्ट्रिय गौरवको काठमाडौं-तराई फास्ट ट्र्याक आयोजनामा रुख काट्ने प्रयोजनमा मात्रै ५ करोडभन्दा बढी खर्च भएको छ।

Tata
GBIME

नेपाली सेनाले निर्माणको जिम्मा लिएको आयोजनाले रुख कटानका लागि ५ करोड ५ लाख रुपैयाँ खर्च गरेको हो। यसमा चालु वर्ष रुख काट्दा भएको खर्च समावेश छैन।

आयोजनामा वृक्षारोपण र वातावरण संरक्षणका नाममा १० करोड ५ लाख रुपैयाँ खर्च भएको छ।

सेनाले आयोजनामा सवारीसाधनमा १५ करोड ८५ लाख, इन्धनमा ३२ करोड ९९ लाख, उपकरणमा ७८ करोड २३ लाख, मेसिनमा ४ करोड ७६ लाख, संचार साधन र कम्प्युटरमा ९ करोड २८ लाख तथा प्रशासनिक खर्चबापत ४८ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ।

सेनाले विभिन्न शीर्षकमा खर्च देखाउँदा निर्माण कार्य भने विभिन्न निर्माण कम्पनीहरुले गरिरहेका छन्। गत असार मसान्तसम्म निर्माण कार्यमा ४१ अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ।

आयोजनाले गत आर्थिक वर्षसम्म परामर्श सेवाका नाममा २ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ। यो रकम निर्माण कार्यमा खर्च भएको रकमको ४.८५ प्रतिशत हो।

आयोजनाको निर्माण अवधि थप हुँदा परामर्श सेवाको नाममा हुने खर्च अझै बढ्ने महालेखा परीक्षकको कार्यालयले आफ्नो ६१औं प्रतिवेदनमा उल्लेख गरेको छ। ४ वर्षमा पूरा गर्ने गरी २०७४ साउनमा निर्माणको जिम्मा लिएको सेनाले अहिलेसम्म एक तिहाइ मात्र काम गरेको छ।