BIZMANDU
www.bizmandu.com

सेबोन अध्यक्षको अन्तर्वार्तामा दुईजना मात्र पुगे, तीनको नाम सिफारिस गर्नु पर्ने व्यवस्था के होला?

२०८१ असार २

सेबोन अध्यक्षको अन्तर्वार्तामा दुईजना मात्र पुगे, तीनको नाम सिफारिस गर्नु पर्ने व्यवस्था के होला?
sebon nepal नेपाल धितोपत्र बोर्ड samartha ranjit share


काठमाडौं। नेपाल धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ताका लागि छानिएका ५ जनामध्ये दुई जना मात्रै अन्तर्वार्ता दिन गएका छन्। सरकारले १९ जना आवेदकबाट ५ जनालाई सर्टलिस्ट गरेको थियो।

Tata
GBIME
NLIC

उनीहरुको कार्ययोजना प्रस्तुति र अन्तर्वार्तापछि तीन जनाको नाम मन्त्रीपरिषद्मा सिफारिस गर्ने योजना थियो। तर दुई जना मात्रै अन्तर्वार्ताका लागि पुगेका छन्।

अन्तर्वार्ताका लागि सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्र अन्तर्वार्ता दिन पुगेका हुन्। छनौट भएका अर्का कार्यकारी निर्देशक डा. नवराज अधिकारी गएनन्।

त्यसैगरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष चिरञ्जिबी चापागाइँ पनि गएनन्। उनीहरु सबैको मोबाइ स्विच अफ छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ नेतृत्वको छनौट समितिले आइतबार बिहान ९ बजेदेखि अन्तर्वार्ता सुरु गरेको थियो। १२ बजेसम्म ३ जना उम्मेदवार उपस्थित भएका छैनन्।

‘सर्टलिस्टेड पाँच जनामध्ये सन्तोषनारायण श्रेष्ठको अन्तर्वार्ता सकिएको छ,’ स्रोतले भन्यो, ‘मुक्ति श्रेष्ठको अन्तर्वार्ता सुरु भएको छ। बाँकी उम्मेदवार उपस्थित नै भएका छैनन्।’

स्रोतका अनुसार अध्यक्ष सिफारिस समितिले १ बजे भित्रै उपस्थित भएका उम्मेदवारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति सकेर प्रक्रिया अघि बढाउनेछ।

कानुनी प्रावधान अनुसार, ५ मध्ये तीन जनाको नाम मन्त्रीपरिषद्मा सिफारिस गर्नु पर्छ। दुई जना मात्र उपस्थित भएपछि तीन जना नपुग्ने हुन्छन्। यही व्यवस्थाको फाइदा उठाउँदै बाँकी उम्मेदवार अन्तर्वार्तामा नगएका हुन्।

धितोपत्र बोर्डको अध्यक्ष पछिल्लो समय राजनीतिक र कर्पोरेट बिषय बनेको छ। नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स बाँड्ने चरणमा रेहकाले कर्पोरेट जगत् दुई वटा भागमा ध्रुवीकरण भएका छन्।

उपस्थित भएका उम्मेदवारहरु एउटा समूहका हुन् भने बाँकी तीन अर्को कर्पोरेट समूहका हुन्। अध्यक्ष कति महत्वपूर्ण छ भन्ने कुरा पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीले बनाएको दबाब र अर्थमन्त्री वर्षमान पुनले देखाएको सक्रियताले पनि पुष्टी हुन्छ।

स्रोतहरुका अनुसार, ओली र प्रधानमन्त्री प्रचण्डको उम्मेदवार साझा छन्। अर्थमन्त्री भने आफूलाई कन्फिडेन्समा नलिइएको भन्दै फरक व्यक्तिलाई नियुक्ति दिन चाहन्छन्। यो रस्साकस्सीमा बजेट अघि नै तय भएको अध्यक्षको अन्तर्वार्ता सरेको थियो।