BIZMANDU
www.bizmandu.com

वाणिज्य बैंकको नाफामा १५ प्रतिशतले गिरावट, १४ वटाको खुम्चियो, कुनको कति ?

२०८१ जेठ ३०

वाणिज्य बैंकको नाफामा १५ प्रतिशतले गिरावट, १४ वटाको खुम्चियो, कुनको कति ?
वाणिज्य बैंकको नाफामा १५ प्रतिशतले गिरावट, १४ वटाको खुम्चियो, कुनको कति ?

काठमाडौं। बढ्दो लागत र खराब कर्जाका कारण वाणिज्य बैंकहरुको खुद नाफामा उल्लेख्य गिरावट आएको छ। बैंकहरुको नाफा १५ प्रतिशतले घटेको पाइएको छ। १४ बैंकको नाफा खुम्चिंदा ६ वटाले भने बढाएका छन्।

Tata
GBIME
Nepal Life

चालु आवको १० महिनामा वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका छन्। गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएका थिए। पोहोर १० महिनाको तुलनामा यसपालि बैंकहरुले ८ अर्ब ५६ करोड रुपैयाँ नाफा गुमाएका छन्।

सबैभन्दा बढी खुद नाफा नबिल बैंकले कमाएको छ। उसले १० महिनामा ५ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको हो। तर यो रकम पोहोर १० महिनाको तुलनामा १०.७५ प्रतिशत कम हो। नबिलले गत आर्थिक वर्ष वैशाखसम्म ६ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

नबिलपछि ग्लोबल आइएमईले ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा गरेको छ। पोहोर १० महिनाको तुलनामा भने यो रकम २२.८१ प्रतिशत कम हो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक धेरै नाफा कमाउनेको सूचीमा तेस्रो नम्बरमा छ। उसले १० महिनामा ३ अर्ब ७७ करोड रुपैयाँ नाफा गरेको छ। तर, यो रकम पोहोरको सोही अवधिको तुलनामा ३.२४ प्रतिशत कम हो।

गत आर्थिक वर्ष १० महिनामा खुद नाफा ४ अर्ब नघाएका एनआईसी एसिया र राष्ट्रिय वाणिज्य बैंकले यसपालि धेरै गुमाएका छन्। एनआईसी एसियाको खुद नाफा २ अर्ब १६ करोड र राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५६ करोड रुपैयाँमा सीमित भएको छ।

खुद नाफा एनआईसी एसियाको ५०.७५ र राष्ट्रिय वाणिज्य बैंकको ३६.७९ प्रतिशतले घटेको छ।

एनआईसी एसियालाई यसपालि प्राइम कमर्सियल, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास, स्ट्यान्डर्ड चार्टर्ड लगायत थप ९ बैंकले पछि पारेका छन्।

सबैभन्दा कम खुद नाफा कमाउनेको सूचीमा नेपाल बैंक छ। उसले १० महिनामा ५९ करोड रुपैयाँमा चित्त बुझाएको छ। नेपाल बैंकको खुद नाफामा ७६ प्रतिशतले गिरावट आएको छ। उसले गत आर्थिक वर्ष वैशाखसम्म २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

प्राइम कमर्सियल, एभरेष्ट, प्रभु, सिटिजन्स, कृषि विकास र सिद्धार्थ बैंक नाफा बढाउन सफल भएका छन्।

कृषि विकास बैंकले खुद नाफा सबैभन्दा धेरै १२०.६५ प्रतिशतले बढाएको छ। उसले यो वर्ष वैशाखसम्म २ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा गरेको छ। पोहोर १० महिनामा उसले १ अर्ब २२ करोड रुपैयाँमा चित्त बुझाएको थियो।

प्राइम कमर्सियलले खुद नाफा १५.२२ प्रतिशतले बढाएर ३ अर्ब २२ करोड रुपैयाँ पुर्‍याएको छ। रकमका आधारमा प्राइम कमर्सियल धेरै खुद नाफा कमाउने बैंकको सूचीमा चौथो नम्बरमा छ।

८.०४ प्रतिशतले खुद नाफा बढाएको एभरेष्ट बैंक रकमका आधारमा पाँचौं नम्बरमा छ। उसले १० महिनामा २ अर्ब ९८ करोड रुपैयाँ कमाएको छ।

सबैभन्दा कम नाफा बढाउने सूचीमा सिटिजन्स बैंक छ। उसले खुद नाफा ५.१० प्रतिशतले बढाएर १ अर्ब ५० करोड पुर्‍याएको छ।