BIZMANDU
www.bizmandu.com

भक्तपुरमा पानीको स्रोत सफा गर्दै यसरी मनाइयो सिथी नख:

२०८१ जेठ ३०

भक्तपुरमा पानीको स्रोत सफा गर्दै यसरी मनाइयो सिथी नख:
भक्तपुरमा पानीको स्रोत सफा गर्दै यसरी मनाइयो सिथी नख:


काठमाडौं। आज सिथी नख:। नेवार समुदायमा पानीको स्रोत सफा गर्दै यो चाड मनाउने गरिन्छ।

Tata
GBIME
NLIC

उपत्यकामा विभिन्न स्थानमा पानीका मुहान, इनार, कुवा, पोखरी, ढुंगेधारा लगायतका पानीको स्रोतहरू सफा गर्ने चलन छ। अहिलेको समयमा पानीका स्रोत र मुहानहरूमा पानीको सतह कम हुने गर्छ।

वर्षभरी फोहोर जम्मा भएका स्रोतहरू सफा गर्न अहिले सजिलो हुन्छ। त्यसैले वर्षको अन्तिम चाडका रुपमा नेवारहरू आफ्नो नजिकका पानीको स्रोत र मुहान सफा गर्ने गर्छन्।

यो पर्वसँगै वर्षा सुरु हुने र किसानहरू धान रोपाइमा व्यस्त हुने मान्यता रहेको छ। त्यसैले किसानहरू अबका दिनमा खेतमै व्यस्त हुने हुँदा वर्षातका बेला बगेर आउने भेल र फोहोरले पानीको स्रोत दुषित हुनबाट बचाउन आज पानीको स्रोत सफा गर्ने गरेको बताउँछन् संस्कृतिविद् ओम धौभडेल।

लिच्छवीकालदेखि सुरु भएको सिथी नख: पानीको महत्व र त्यसको स्रोतको संरक्षणबारे मानिसलाई सचेत गराउने पर्व रहेको उनी बताउँछन्।

पानीको स्रोत सफा गरेसँगै टोलमा भट्मास, अदुवा, बारा, चटामरी बाड्ने परम्परा रहेको छ।

सिथी नखःकै अवसरमा आज भक्तपुरमा रहेका विभिन्न इनार, पोखरीहरूको सफा गरिएको छ। उपत्यकाका तीन जिल्ला मध्य भक्तपुरमा यस पर्वलाई ठूलै चाडका रुपमा मनाउने चलन रहेको छ। स्थानीयहरू मिलेर आफ्नो टोलमा रहेका पानीको स्रोत सफा गर्न बिहानैदेखि लागिरहेका छन्।

भक्तपुरको दत्तात्रयमा पनि स्थानीयहरू मिलेर इनार, दुंगेधारा सफा गरेका छन्।