BIZMANDU
www.bizmandu.com

जब अर्थमन्त्री पुनलाई मन्त्रालयका सहसचिवले ‘हामी सबैभन्दा डराउने मान्छे हौं’ भने…

२०८१ जेठ २९

जब अर्थमन्त्री पुनलाई मन्त्रालयका सहसचिवले ‘हामी सबैभन्दा डराउने मान्छे हौं’ भने…
जब अर्थमन्त्री पुनलाई मन्त्रालयका सहसचिवले ‘हामी सबैभन्दा डराउने मान्छे हौं’ भने…

काठमाडौं। अर्थमन्त्री वर्षमान पुन मन्त्रालयका एक सहसचिवलाई तपाईंहरु डराउनु हुन्छ, छिटो छरितो गर्नुहुन्न, धेरै हिसाबकिताब गर्नुहुन्छ, काम त गर्नुपर्‍यो नि भन्छन्।

Tata
GBIME

ती सहसचिव अर्थमन्त्री पुनलाई जवाफ फर्काउँछन्- ‘हामी सबैभन्दा डराउने मान्छे यहाँ आएका छौं हजुर।’

तुरुन्तै अर्थमन्त्री पुनले सोध्छन्, किन?

ती सहसचिव प्रतिउत्तर दिन्छन्- सबैभन्दा आँटिलो मान्छे राजनीतिमा जान्छ। चुनाव हार्छ, सडकमा पुग्छ। आन्दोलन गर्छ, जेल जान वा मारिन सक्छ अथवा सर्वस्व गुमाउन सक्छ। जोखिम उठाउन सक्ने मान्छे राजनीतिमा रहन्छ।

सहसचिव थप्छन् – त्यसपछि बढी जोखिम उठाउने मान्छे कि त करोडपति हुन्छ कि रोडपति। कहिले टाट पल्टिएर कालोसूचीमा पर्छ, कि त अर्बौंको मालिक हुन सक्छ। ती मान्छेले बिजनेस गर्छन्।

ती सहसचिव अन्तिममा आफ्नो उदाहरण दिंदै भन्छन्- ‘हामी त पढ्छौं, लोकसेवा लड्छौं, जागिर भएको दिनदेखि तलब सुरु हुन्छ। रिटायर्ड भएपछि पेन्सन थाप्छौं। हामी केही पनि रिस्क नलिने मान्छेहरु यहाँ आएका हौं।’

अर्थमन्त्री पुनले मन्त्रालयका सहसचिवसँगको सवालजवाफ मंगलबार काठमाडौंमा एक सार्वजनिक कार्यक्रममा सुनाए। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको कार्यक्रममा उनले ती सहसचिवको नाम भने खुलाएनन्।

मन्त्री पुनले सहसचिवको जवाफपछि आफूले कर्मचारीहरुलाई दबाब दिनै छोडेको बताए। ‘मन्त्री र व्यापारिक घरानाका लागि कर्मचारीले किन रिस्क लिन्छन्? उचित र सही निर्णय गर्ने वातावरण मन्त्रीले तयार गरिदिने हो,’ उनले भने, ‘मैले कर्मचारीलाई दबाब दिन छोडेको छु। तर, कर्मचारीले सिस्टमअनुसार काम चाहिं गर्नुपर्छ।’

कार्यक्रममा मन्त्री पुन व्यापारी र कर्मचारीप्रति केही खरोरुपमा प्रस्तुत भए।

‘मैले गर्न सक्ने काम मात्रै मलाई बुझाइदिनुस्। तपाईंहरु जत्तिकै बिजनेस बुझेको भए त राजनीति छोडेर व्यापारमा आइहाल्थें नि। म राजनीति मात्रै बुझ्छु। समग्र नीतिमा के गर्ने भन्ने विषय मात्रै बुझ्दछु,’ मन्त्री पुनले व्यापारीलाई लक्षित गर्दै भने, ‘विषय बुझ्नुस् भन्दै दबाब दिने काम उद्योगी व्यापारी साथीहरुले नगरौं। नाफा र घाटा बुझ्ने भएको भए म व्यापारी हुन्थें। त्यो नबुझेरै राजनीतिमा आएको हुँ। राजनीतिको आफ्नो नियम छ।’

उनले कर्मचारीलाई पनि आफूले लिएका नीतिबारे नाफा घाटाको हिसाब नसुनाउन भने। ‘कुनै फाइल सदर गर्दा वा नीति निर्माण गर्दा यति नाफा/घाटा हुन्छ भन्न थाल्ने हो भने सरकारी जागिर छोडेर व्यापारतिर लाग्नुस्। सचिव, सहसचिव वा उपसचिव भएर नाफा घाटाको हिसाब गर्ने होइन,’ उनले कर्मचारीहरुलाई भने, ‘कर्मचारीको काम राजनीति गर्ने पनि होइन। सिस्टम अनुसार काम गर्ने हो। राजनीति गर्न मन भए जागिरबाट अलग हुनुपर्छ।’