BIZMANDU
www.bizmandu.com

फिफा विश्वकप छनोट : अन्तिम खेलमा नेपाल यमनसँग भिड्दै, चेम्जोङको शतकीय खेल

२०८१ जेठ २९

फिफा विश्वकप छनोट : अन्तिम खेलमा नेपाल यमनसँग भिड्दै, चेम्जोङको शतकीय खेल
फिफा विश्वकप छनोट : अन्तिम खेलमा नेपाल यमनसँग भिड्दै, चेम्जोङको शतकीय खेल

काठमाडौं । नेपाली फुटबल टोलीले यमनसँग प्रतिस्पर्धा गर्दैछ। फिफा विश्वकप छनोटको दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्न लागको हो। खेल साउदी अरबको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा पौने १२ बजे सुरु हुनेछ।

Tata
GBIME

छनोटको समूह ‘एच’ मा नेपाल र यमनसहित बहराइन र युएई छन्। समूहका सबै टोलीले एकअर्कासँग होम र अवेका आधारमा दुई खेल खेल्छन्। चारवटै टोलीले पाँच खेल खेलिसक्दा शतप्रतिशत जित निकालेको यूएई १५ अंकसहित तालिकाको शीर्षस्थानमा छ। त्यस्तै बहराइन १० अंकसहित दोस्रो, यमन ४ अंकसहित तेस्रो र अंकविहीन नेपाल तालिकाको पुछारमा छन्। पाँच खेल खेल्दा नेपालले १८ गोल खाएको छ भने एउटै गोल फर्काउन सकेको छैन।

यसक्रममा नेपालले एउटै मात्र खेल घरेलु मैदानमा खेल्न पायो। त्यो खेल यमनविरुद्धकै थियो। त्यसपछि भने एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले नेपालको दशरथ रंगशालालाई सुरक्षा, मैदानको अवस्था, फर्डलाइट जस्ता कारण देखाउँदै विश्वकप छनोटका खेल खेलाउन अयोग्य घोषणा गरिदियो। त्यसैका कारण नेपालले बहराइन र यूएईविरुद्धको होम खेल घरेलु मैदानमा खेल्न पाएन।

अघिल्लो खेलमा नेपालले यमनसँग २-० गोलको हार ब्यहोरेको थियो। फिफा वरीयतामा यमन १५६ औँ स्थानमा छ भने नेपाल १७८ औँ स्थानमा छन्।

यमनसँगको खेल अघि नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसले खेलाडी पलायनले टोलीमा पुगेको धक्काबारे दोहोर्‍याउँदै यमनविरुद्धको खेल टफ हुने विश्वास गरे।

‘यमन र बहराइनबिचको पछिल्लो म्याच मैले हेरेँ। यमनसँग फिजिकलसँगै राम्रा खेलाडी छन्। हामीले पनि खेलैपिच्छे सुधार गर्दै ल्याएका छौँ। यमनविरुद्धको खेल टफ हुनेछ।’ उनले भने।

त्यस्तै कप्तान किरण चेम्जोङले ‘म्याच-बाइ-म्याच’ प्रदर्शन सुधारिरहेको बताउँदै अन्तिम म्याचबाट सुखद नतिजा चाहेको बताए। आजको खेलबाट उनले नेपालको राष्ट्रिय टोलीबाट सयौँ खेल पूरा गर्नेछन्।