BIZMANDU
www.bizmandu.com

सेन्चुरी बैंकबाट ऋण लिन सहकारीको कीर्ते कागजपत्र, लेखा परीक्षणसमेत नक्कली

२०८१ जेठ २९

सेन्चुरी बैंकबाट ऋण लिन सहकारीको कीर्ते कागजपत्र, लेखा परीक्षणसमेत नक्कली
सेन्चुरी बैंकबाट ऋण लिन सहकारीको कीर्ते कागजपत्र, लेखा परीक्षणसमेत नक्कली

काठमाडौं । तत्कालीन सेन्चुरी बैंकबाट नियम विपरीत ऋण लिन नक्कली कागजपत्र बनाएर त्यसैको आधारमा ऋण प्रवाह भएको देखिएको छ।

Tata
GBIME

काठमाडौं, ललितपुर र भक्तपुरमा संचालित देउराली बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्ष रवीन्द्र चौलागाईले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका कर्मचारी तथा पदाधिकारीसँग मिलेमतो गरेर आपराधिक मनसायका साथ नियोजितरुपमा बैंकको रकम हिनामिना गर्ने उद्देश्यले नक्कली कागजपत्र बनाएको प्रहरी अनुसन्धानमा खुलेको हो।

चौलागाई पूजा ग्रुप अन्तर्गतका पूजा ट्रेडिङ एन्ड मार्केटिङ प्रालि, पूजा मार्केटिङ प्रालि, थ्री ब्रदर्स मार्केटिङ प्रालि र अन्नपूर्ण डिस्टिलरी प्रालिको समेतको सञ्चालक हुन्।

चौलागाईले परिवार भित्रका नातेदारको नाममा पूजा ट्रेडिङ एन्ड मार्केटिङ प्रालि, थ्री ब्रदर्श मार्केटिङ प्रालि, पूजा मार्केटिङ प्रालि र अन्नपूर्ण डिस्टिलरी प्रालि समेतका कम्पनीहरू संचालन गरि नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा निर्देशिकाको अधीन भन्दा बाहिर रहेर आफू अनुकूलको अवस्था सृजना गरेको देखिएको छ।

ती कम्पनीहरुको वास्तविक कारोबार रकम भन्दा बढी कारोबार भएको भनी आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्र समेत बनाएको अनुसन्धानमा खुलेको सीइआबीका प्रवक्ता एसएसपी होबेन्द्र बोगटीले बताए।

मूल्य अभिवृद्धि करको कागज बनाई, नभएको कारोबारको स्टक र रिसिप देखाई गलत वित्तीय विवरण तयार गरी, नक्कली लेखा परीक्षण समेत बनाई नक्कली कागजातहरू समेतको आडमा गैरकानूनीरुपमा विभिन्न शीर्षकमा धितो खाम्ने भन्दा अत्यधिक बढी रकम जम्मा २ अर्ब ३० करोड ८१ लाख प्रवाह गरेको देखिएको उनले बताए।

यो घटनामा तत्कालीन सेन्चुरी कमर्सियल बैंकका तत्कालीन कार्यकारी अधिकृत मनौज न्यौपाने समेत अन्य कर्मचारीलाई फागुन १५ गते प्रहरीले पक्राउ गरेको थियो। बैंकिङ कसुर तथा सजाय ऐन,२०६४ बमोजिम उनीहरुविरुद्ध मुद्दा दर्ता गरि अनुसन्धान गर्ने क्रममा तत्कालीन सञ्चालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठ समेतको संलग्नता देखिएको प्रहरीको दाबी छ। श्रेष्ठलाई सोमबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले बैंकका सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, उमा कुमारी श्रेष्ठ, राजेशकुमार दली, अभिषेश बज्राचार्य र शिव गोपाल रिसाललाई पनि नियन्त्रणमा लिएको छ। मीनबहादुर राई भने प्रहरीको पक्राउ सूचीमा छन्।