BIZMANDU
www.bizmandu.com

पारसको काउन्टर आरोप : व्यक्तिगत स्वार्थका लागि क्यानको प्रायोजन हत्याउने प्रयास भयो

२०८१ जेठ २८

पारसको काउन्टर आरोप : व्यक्तिगत स्वार्थका लागि क्यानको प्रायोजन हत्याउने प्रयास भयो
पारसको काउन्टर आरोप : व्यक्तिगत स्वार्थका लागि क्यानको प्रायोजन हत्याउने प्रयास भयो

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले व्यक्तिगत लाभका लागि प्रायोजन हत्याउने प्रयास भएको आरोप लगाएका छन्। उनले क्यानले समग्र नेपाली क्रिकेटको पक्षमा काम गर्दै आएको दाबी गर्दै संघलाई बदनाम गराउन क्यानभित्रकै केही व्यक्ति लागेको आरोप लगाए।

Tata
GBIME
NLIC

‘कयौं चुनौती र कठिनाइलाई चिर्दै नेपाली क्रिकेटको दिगो विकास र विस्तारतर्फ क्यान लागिरहेको समय आफैंमा महत्वपूर्ण छ,’ उनले सोमबार प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘यद्यपि यी सबैका बीच संघका अध्यक्ष, सचिव लगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्यसहित संघभित्रका केही सदस्यले हरसम्भव प्रयास गरिरहनुभएको कार्य आफैंमा दु:खद हो।’

उनले संस्थागतरुपमा क्रिकेटको विकास गरौं भन्ने सोचले काम गरिरहँदा व्यक्तिगत र राजनीतिक लाभका लागि अनर्गल प्रचारबाजी गरेको आरोप लगाएका छन्। उनले यसको कानुनी उपचार खोज्ने पनि बताएका छन्।

‘यसबीचमा मैले २० वर्ष देशका लागि खेलाडीका रुपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरी केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिनसहित संस्थागत पद्दतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने छ,’ उनले भनेका छन्।

सन्दीप लामिछानेलाई विश्वकप खेलाउनका लागि अमेरिकाको भिसा दिलाउन गरेको प्रयासमा केही संस्थाले क्यानविरुद्ध वक्तव्यबाजी गरेका थिए। नेपाल खेलकुद महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दले देशको शिर निहुर्‍याउने काम गरेको भन्दै राजीनामा मागेको थियो।

त्यस्तै खेलाडीलाई भरिया बनाएर किट्स अमेरिका पठाएको र त्यो बेच्नेमा क्यानका पदाधिकारी नै सक्रिय भएको, जर्सी ब्ल्याकमा बेचेको, खेलाडी भेट्न गएकाहरुबाट गैह्रकानुनी रुपमा ३५ डलर उठाएको, ८० डलरको टिकटलाई १३५ डलर लिएर नेपाली दर्शकलाई ठगेको लगायत आरोप लगाएको थियो।

खड्काले भने दर्शकलाई ‘भ्रममा नपर्न’ र क्रिकेट टोलीलाई समर्थन गर्न आग्रह गरेका छन्।

‘नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरुलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका मिडियाबाजीबाट बिचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्।

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यानलाई विश्वकप खेल्न गएको क्रिकेट टोलीलाई खेलमा केन्द्रित गराउन निर्देशन दिएको थियो। अमेरिका र वेस्ट इन्डिजमा जारी पुरुष टी– २० विश्वकप खेल्न गएको नेपाली टोली विभिन्न कार्यक्रममा सहभागी हुँदा अभ्यास प्रभावित भएको भनेर आलोचना भइरहँदा राखेपले निर्देशन दिएको हो।