काठमाडौं। कफी पारखीहरुलाई लक्षित गर्दै कप टेस्टर च्याम्पियनसिप-२०२४ आयोजना गरिएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार आयोजित कार्यक्रममा कफी पारखी युवाहरुले उल्लेख्य संख्यामा सहभागिता जनाएका छन्।
नेपाली कफी चखाउने र अन्तर्राष्ट्रिय बजारमा ब्राण्डिङ गर्ने उद्देश्यका साथ द वारिस्टा कफी स्कुल, जोयल हिमालयन कफी विन्स, लेकसिटी कफी र लेकाली कफीले संयुक्तरूपमा च्याम्पियनसिप आयोजना गरेका हुन्।
‘कफीको क्षेत्रमा युवा सहभागिता बढाएर भविष्य सुनिश्चित गराउन सकिन्छ,’ आयोजकमध्येका विनायक मल्लले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा उचित बजार र बजार मूल्य नपाइरहेको स्थितिमा नेपाली कफीलाई ब्राण्डिङ गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो।’
उनका अनुसार नेपाली कफीले गुणस्तरमा निकै राम्रो फड्को मारेको छ। तर, त्यसको तुलनामा अन्तर्राष्ट्रिय बजारमा अपेक्षित मूल्य पाइरहेको छैन। ‘हामीले उत्पादनसँगै ब्राण्डिङ पनि राम्रो गर्दै लैजानुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यसका लागि यस्तो खालको प्रतिस्पर्धाले थप हौसला प्राप्त हुने अपेक्षा छ।’
कप टेस्टर प्रतिस्पर्धामा ४८ जनाले सहभागिता जनाएका छन्। कफी उत्पादक, कफी सपका संचालकदेखि पारखीहरुले सहभागिता जनाएको निमा तेन्जिङ शेर्पाले बताए। पछिल्लो समय कफी उद्योगमा उत्साह छाइरहेको बेला यस्ता खालका च्याम्पियनसिपले अझ प्रोत्साहन मिल्ने उनको भनाइ छ।
‘हाम्रो देश सानो भए पनि कफी कल्चर निकै बढेको छ। नेपालका कफी उत्पादकहरु अब बजारमा धेरै सिपालु छन्,’ उनले भने, ‘यो च्याम्पियनसिपबाट उनीहरुको क्षमता राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा प्रचार हुनेछ।’
दुई वर्षअघि पहिलो पटक यो खालको प्रतिस्पर्धाको आयोजना गरे पनि बीचमा रोकिएको थियो। अब भने हरेक वर्ष प्रतिस्पर्धाको आयोजना गर्दै जाने उनले बताए।
प्रतिस्पर्धामा सहभागी जो कोही हुन सक्छ। आयोजकले केहीअघि सामाजिक सञ्जालमार्फत प्रतिस्पर्धामा सहभागिताका लागि सार्वजनिक आह्वान गरेको थियो। सोही आधारमा ४८ जनाले आवेदन दिएका थिए।
आवेदन दिएकाहरुलाई विभिन्न चरणमा प्रतिस्पर्धा गरिन्छ। एक जनालाई पहिलो चरणमा तीन कप कफी राखिएको हुन्छ। तीमध्ये दुई वटा एउटै स्वादको र अर्को केही फरक हुन्छ। प्रतिस्पर्धीले ३ मध्ये एक कप कफी चाखेर स्वादको फरक छुट्याउनुपर्छ। निर्णायकले त्यो सही हो या होइन भन्ने छुट्याएको हुन्छ। त्यही आधारमा तीन चरणसम्म पार भएपछि फाइनलमा पुगिन्छ।
प्रतिष्पर्धाका सहभागीलाई सुरुवाती चरणमा केही सहज हुन्छ। पछि केही जटिल चरण पनि उनीहरुले पार गर्नुपर्ने आयोजकले जनाएका छन्। प्रतिस्पर्धामा उत्कृष्ट हुनेले अन्तर्राष्ट्रिय स्तरमा हुने कफी टेष्ट प्रतिस्पर्धामा सहभागी हुन पाउने छन्।
कफीको क्षेत्रमा लामो समय काम गरेका निमा तेन्जिङ शेर्पा, प्रणित गुरुङ, मनोज शाही, सूर्य दुरा र विनायक मल्लको टीमनए सहकार्य गर्दै इभेन्टको आयोजना गरिएको हो। प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय जगतमा गरिएको प्रतिस्पर्धाको मापदण्ड कायम गरिएको जनाइएको छ।
छानी छानी कफीको स्वाद लिन पाइने च्याम्पियनसिपमा प्रतिस्पर्धा मात्र नभइ सहभागीले इच्छाअनुसार छानीछानी विभिन्न ब्राण्डका कफीको स्वाद लिन पाउँछन्।
कार्यक्रम स्थलमा विभिन्न नेपाली ब्राण्डका १६ वटा कफीले स्टल छन्। त्यहाँ कफीको स्वादसहित कफी र त्यसमा लाग्ने मेसिनहरु खरिदसँग जानकारी समेत लिन पाइने जनाइएको छ।