BIZMANDU
www.bizmandu.com

एनएसी अध्यक्षले गरे अर्को विवादास्पद निर्णय, उडान नै नरहेको अस्ट्रेलियामा कार्यविधिविपरीत सरुवा

२०८१ जेठ २५

एनएसी अध्यक्षले गरे अर्को विवादास्पद निर्णय, उडान नै नरहेको अस्ट्रेलियामा कार्यविधिविपरीत सरुवा
एनएसी अध्यक्षले गरे अर्को विवादास्पद निर्णय, उडान नै नरहेको अस्ट्रेलियामा कार्यविधिविपरीत सरुवा

काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी) का कार्यकारी अध्यक्ष युवराज अधिकारीले अस्ट्रेलियामा उडान गर्ने निश्चित नहुँदै तीन कर्मचारीलाई उतै सरुवा गरेका छन्। उनले तीन जना महिला कर्मचारीलाई आफूखुशी अस्ट्रेलियामा खटाउने निर्णय गरेका हुन्।

Tata
GBIME
Nepal Life

उडान हुने टुंगो नभएका कारण अस्ट्रेलियामा एनएसीले कार्यालय खोलेको छैन। उडानका लागि अस्ट्रेलियाले ग्रिन सिग्नल दिएको अवस्था पनि छैन। नेपाली वायु सेवा प्रदायक कम्पनीलाई युरोपियन युनियनले सुरक्षा सूचीबाट नहटाएका कारण अस्ट्रेलिया नहतारिएको हो।

तर, उडान सुरक्षामा एकपछि अर्को खेलाँची गर्दै आएका उनै अधिकारीले अस्ट्रेलियामा कार्यालयविनै र उडान हुने सुनिश्चितविनै एनएसीको आर्थिक भार बढाउने निर्णय गरेका हुन्।

‘अस्ट्रेलियामा उडान हुने निश्चित छैन। त्यही कारण कार्यालय समेेत खोल्न नसकेको अवस्था छ। उडानका लागि अस्ट्रेलियाबाट सकारात्मक जवाफ पनि आएको छैन। तर, अध्यक्षज्यूले विना आधार तीन कर्मचारीलाई त्यहाँ खटाउने निर्णय गर्नुभएको छ। यो निर्णयबाट आश्चर्यचकित भएका छौं,’ एनएसीका एक उच्च अधिकृतले भने, ‘संस्थाको सुधार गर्नुपर्ने मुख्य जिम्मेवारीमा रहेका व्यक्ति नै संस्थालाई तहसनहस बनाउन लागेको अनुभव भएको छ।’

विदेशमा खटिने कर्मचारीलाई डलरमा तलब दिनुपर्छ। अस्ट्रेलियामा खटिने कर्मचारीले मासिक तीन लाख रुपैयाँ हाराहारी तलब पाउँछ। तलब सुविधाबाहेक बसोबास खर्च एनएसी आफैंले बेहोर्छ।

आर्थिक रुपमा जर्जर बनेको संस्थाको अवस्था सुधार गर्ने योजना बनाउन असफल अधिकारीले अस्ट्रेलियामा सरुवा गर्ने कर्मचारी छनोटमा पनि उस्तै मनोमानी गरेका छन्। उनले संस्थाको कार्यविधिलाई लत्याउँदै आफूसँगको निकटताका आधारमा कर्मचारी रोजेका छन्।

इन्टर्नल अडिटमा कार्यरत विपुला बराल तथा मार्केटिङ विभागमा कार्यरत कविता आचार्य र अर्णिमा शाक्यलाई अधिकारीले अस्ट्रेलियामा पठाउने निर्णय गरेका हुन्। उनले शाक्यलाई एनएसीको अष्ट्रेलिया प्रमुख, बराललाई फाइनान्स म्यानेजर र आचार्यलाई एयरपोर्ट म्यानेजरका रुपमा पठाउने निर्णय गत मंगलबार गरेका हुन्।

जबकि आकर्षक तलबका कारण विदेशमा खटाउने कर्मचारी अन्तर्वार्ता लिएर छान्ने प्रक्रिया छ। अन्तर्वार्ताअघि विभागीय प्रमुख, कार्यकारी प्रमुख र मानव संशाधन विभाग प्रमुखले मूल्यांकन गर्नुपर्छ। मूल्यांकनको १५ र अन्तर्वार्ताको २० अंक छ। यसअघि त्यसमा उत्कृष्ट हुनेलाई विदेशमा खटाउने गरिएको थियो।

कर्मचारीलाई विदेशमा खटाउँदा नयाँ आर्थिक वर्ष सुरु भएपछि साउन दोस्रो साता सूचना निकालिन्छ। अवकाश पाउन ३ वर्षभन्दा कम समय रहेकालाई भने विदेशमा नखटाउने कार्यविधिमा व्यवस्था छ। यो व्यवस्था अनुसार साउन महिनासम्म कुर्दा बराललाई पठाउन नमिल्ने भएकाले अधिकारीले हतार हतार अहिले नै आफूखुशी निर्णय लिएको एनएसी स्रोतले जानकारी दियो। स्रोतका अनुसार बराल अधिकारीसँग अति निकट मानिन्छिन्। बरालका छोरा अस्ट्रेलियामा बस्छन्।

‘विदेशमा कर्मचारी पठाउँदा कार्यविधि अनुसार साउन दोस्रो साता सूचना निकाली छान्ने गरिएको थियो। तर, यसपालि हतार हतार जेठमै कर्मचारी आफूखुशी छान्ने काम भएको छ। यसले अध्यक्षको भूमिकामाथि शंका उब्जिन पुगेको छ,’ एनएसीका अर्का उच्च अधिकृतले भने, ‘सरुवामा अध्यक्षको हात हुन्छ। तर, कार्यालय नै नरहेको र उडान हुने कुनै टुंगो नै नरहेको देशमा अहिले रातारात किन कर्मचारी पठाउने निर्णय गरियो भनेर अध्यक्षलाई संस्थाभित्र थप शंकाको नजरमा हेर्न थालिएको छ।’

ती उच्च अधिकृतका अनुसार अधिकारीले शाक्य र आचार्यसँग १०/१० लाख रुपैयाँ घुस लिएको आरोप छ। अध्यक्ष अधिकारीको रोजाइमा परेका तिनै जना कर्मचारी अस्ट्रेलिया जाने तयारीमा लागिसकेका छन्।

त्यसो त अधिकारी यसअघि पनि महिला कर्मचारीको बढुवालाई लिएर विवादमा मुछिएका थिए। मापदण्डविनै बढुवा गरेको विषयमा सञ्चालक समितिको बैठकमै कुरा उठेको उदाहरण छ। तर, कर्मचारीले सार्वजनिक रुपमा मुख खोल्ने हिम्मत गर्न सकेका छैनन्। विरोध गरे कार्यसम्पादन मूल्यांकनमा कम नम्बर दिएर बढुवामा अप्ठेरो पार्ने भयले कर्मचारीहरुले उनको मनोमानीमा पनि मौनता साँध्ने गरेका हुन्।