BIZMANDU
www.bizmandu.com

नेवारी परिकार प्रवर्धनमा मध्यपुर थिमि, नगदेशमा शनिवार व: फेस्टिभल

२०८१ जेठ २५

नेवारी परिकार प्रवर्धनमा मध्यपुर थिमि, नगदेशमा शनिवार व: फेस्टिभल
नेवारी परिकार प्रवर्धनमा मध्यपुर थिमि, नगदेशमा शनिवार व: फेस्टिभल

भक्तपुर । नेवारी खानाका परिकार प्रवर्धन गर्ने उद्देश्यले जेठ २६ गते शनिबार मध्यपुर थिमि नगरपालिकामा वः फेस्टिभल तथा ग्रीन भेजिटेबल एक्सपो-२०२४ आयोजना हुने भएको छ। मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिको आयोजनामा मेला आयोजना हुन लागेको हो।

Tata
GBIME
Nepal Life

मध्यपुरथिमि नगरपालिकाको मध्य भाग अर्थात् वडा नं ७ नगदेशको प्रांगणमा मेला आयोजना हुनेछ। बिहान १० बजेदेखि बेलुकाको ७ बजेसम्म मेला संचालन हुनेछ। सो मेलामा काठमाडौं उपत्यकाका ख्यातीप्राप्त १८ वटा नेवारी रेष्टुराँ तथा स्थानीय किसान तथा आमा तथा महिला समुहलगायतका विभिन्न ग्रीन भेजिटेबल र विभिन्न परिकारका नेवारी खाना उपलब्ध हुने आयोजक समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए।

उनका अनुसार मेलामा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरणका लागि पनि प्रदर्शनी कक्ष राखिनेछ। मेलाका लागि स्थानीय विद्यालय, कलेज तथा सहकारी तथा अन्य संघसंस्थालाई चार लाख रुपैयाँभन्दा बढीको अग्रिम कुपन बिक्री समेत भइसकेको समितिले जनाएको छ।

मेलामा विभिन्न वःका परिकार उपलब्ध हुनेछन्। अध्यक्ष प्रजापतिका अनुसार नेवा: समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि श्राद्धसम्म, विभिन्न चाडपर्व मनाउन र देवी देवतालाई चढाउन वःका परिवारको प्रयोग गरिन्छ। केही खान मिल्ने वःमा माय् वः, मुँ वः, मुसू वः, भुति वः, तरकारी वः, ला वः/लापी वः, खें वः ख्वल्चा वः, भु वः/तःपा वः, सू वः/बारा वः का नामले पनि चिनिन्छ। बार वःका कारण नेवारी परिकार बारा प्रसिद्ध भएको उनले बताए। समितिका अनुसार कतिपय वः खानाका परिकारका रुपमा लिइँदैन ।

लिच्छिवी र मल्लकालदेखि नेवार समुदायका विभिन्न चाडबाडमा र जीवनका विभिन्न सुख दुःखमा वःको प्रयोग गरिन्थ्यो। मेलामा वःको ऐतिहासिक, सामाजिक र स्वास्थ्यका लागि के कति महत्वबारे पनि जानकारी दिइनेछ। वःका परिकारबारे मेलाका अवसरमा विज्ञहरुले कार्यपत्र समेत प्रस्तुत गरिनेछ।

मेलाले मध्यपुरथिमिको पर्यटन तथा आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ। नेवार समुदायको विशेष चाड सिथिनखःको अवसरमा आयोजना हुन लागेको मेलामा मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ पिसेर अण्डा, माछा, मासु तथा मरमसला मिलाई टावामा विभिन्न आकार बनाई पकाइने विशेष परिकार समेत प्रस्तुत गरिने समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए।

मध्यपुरमा गत वर्ष पनि वः फेस्टिभल आयोजना गरिएको थियो। यो वर्ष मेलाका लागि नगरपालिकाले ६ लाख रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ। साथै व्यवसायीहरुले स्वस्फूर्त रुपमा दुई लाख रुपैयाँ सहयोग गरि कुल आठ लाख रुपैयाँ लागतमा मेला सम्पन्न गरिने मेला संयोजक बिक्रम बाडेले बताए।