काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले डण्डी उद्योगलाई प्रतिस्पर्धी बनाउन स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार बढाएको जवाफ दिएका छन्।
उनले बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको बुधबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिने क्रममा संसदीय समितिको निर्देशनमा टेकेर उद्योगलाई प्रतिस्पर्धी बनाउन भन्सार बढाएको जवाफ दिएका हुन्।
‘स्पन्जमा आइरनमा धेरै केही चलाएको होइन। चालु वर्ष १ प्रतिशत रहेको भन्सार २.५ प्रतिशत पुर्याइएको हो। स्क्रयापमा १ प्रतिशत भन्सार लगाइएको हो। कसैलाई काखापाखा गरिएको होइन। प्रतिस्पर्धाको ग्राउण्ड बनाएको हो। यो वस्तुगत छ,’ उनले भने।
मन्त्री पुनले संसद्कै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्देशनअनुसार स्पन्ज आइरनमा भन्सार बढाएको बताए। ‘उद्योग समितिको २०७९ असार ६ गतेको निर्देशन अनुसार गरेका हौं। समितिले जे निर्देशन गरेको थियो त्यही अनुसार निर्णय गरेका हौं,’ उनले भने।
सरकारले आर्थिक विधेयक २०८१ मार्फत् बिलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशतबाट बढाएर २.५ प्रतिशत पुर्याएकामा नेपाल फलामे छड उत्पादक संघले यो व्यवस्थाले ३८ अर्ब लगानी डुब्ने अवस्था आएको भन्दै विरोध गर्दै आएको छ। संघले बिलेट उद्योगलाई पोस्न स्पन्ज आइरनमा भन्सार बढाएको आरोप लगाउँदै आएको छ।
आर्थिक वर्ष २०७७/७८ मा स्पन्ज आइरन, बिलेट र स्क्र्यापमा समान ५ प्रतिशत भन्सार रहेकामा २०७८/७९ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले स्पन्ज आइरन र स्क्र्याप आयात गर्दा लाग्ने ५ प्रतिशत भन्सार महसुललाई शून्य बनाउनुका साथै बिलेट आयातमा प्रति केजी २.५ रुपैयाँ अन्त:शुल्क लगाएका थिए।