विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ बजेटबाट मेल्टिङ उद्योगलाई परेका समस्या समाधान गर्न अर्थमन्त्री वर्षमान पुनलाई आजै निर्देशन दिने आश्वासन दिएका छन्।
अर्थमन्त्री पुनले बिलेटको आयातमा लाग्दै आएको अन्तःशुल्क हटाएर मेल्टिङ युनिटका कच्चा पदार्थमा महसुल बढाएपछि रुष्ट बनेका उद्योगीलाई आश्वासन दिँदै प्रधानमन्त्री दाहालले समस्या समाधानको आश्वासन दिएका हुन्।
प्रधानमन्त्रीसित वार्ता गर्न गएका एक उद्योगी नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन शारडाले प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै भने, ‘संशोधन गर्ने समय भोलिसम्म छ। म अर्थमन्त्रीजीसित आजै कुरा गर्छु र संशोधनका लागि निर्देशन दिन्छु। भोलिसम्म समाधान निस्कन्छ।’
प्रधानमन्त्री दाहालले उद्योगीसित आफू राजस्वका नीतिमा स्थिरताको पक्षमा भएको उल्लेख गर्दै अस्थिर राजस्वनीतिले आर्थिक समृद्धि हासिल हुन नसक्ने धारणा व्यक्त गरे।
अध्यक्ष शारडाले प्रधानमन्त्री दाहालसमक्ष भने, ‘तीन वर्षअघि प्रधानमन्त्रीज्यूकै पार्टीका अर्थमन्त्री जनार्दन शर्माले मेल्टिङ युनिटलाई संरक्षण गर्ने राजस्व नीति ल्याउँदा हामीले उहाँलाई यस्तो नीति २ वर्षपछि ल्याइदिनूस् भनेका थियौँ। तर तत्कालीन अर्थमन्त्री शर्माजीले हाम्रो कुरा सुनिदिनु भएन। यसपछि हामीले धमाधम मेल्टिङ युनिट लगायौँ। आज हामीले उद्योग चलाउनै नसक्ने गरी अर्को राजस्वनीति आएको छ।’
अध्यक्ष शारडाले मेल्टिङमा आधारित केही उद्योग एक महिनाअघि मात्र सञ्चालनमा आएको र केही उद्योगको मेसिन आउँदै गरेको जानकारी गराए। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आफ्नो उद्योग १५ दिन अगाडि मात्र सञ्चालनमा आएको स्पष्ट पार्दै अब यो उद्योग चल्नै नसक्ने गरी राजस्व नीति आएको गुनासो गरे।
अम्बे स्टिलका अध्यक्ष उद्योगी हरि न्यौपानेले अर्थमन्त्री वर्षमान पुनबाट प्रस्तुत राजस्वनीतिले मेल्टिङ उद्योग प्रतिस्पर्धामा आउन नसक्ने र देशको ४०० मेगावाट भन्दा बढी विद्युत् खेर जाने बताए।