काठमाडौं। सत्ता घटक दल नेकपा (माओवादी केन्द्र)का तर्फबाट अर्थमन्त्री रहेका वर्षमान पुनले संसदमा पेस गरेको बजेटमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आलोचना मात्रै गरेका छैनन्, जनयुद्धकालीन भएको टिप्पणी समेत गरेका छन्। ओलीले ‘गम्भीर त्रुटि’ र ‘अन्योलग्रस्त बजेट’ का रूपमा सरकारले संसदमा प्रस्तुत गरेको आरोप पनि लगाएका छन्। शनिबार एमाले संसदीय दलको बैठकबाटै ओलीले बजेटप्रति रुष्ट भएको सन्देश दिएका हुन्।
आइतबार सुरु भएको बजेटमाथिको छलफलमा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पनि बजेटमाथि विभिन्न प्रश्न उठाए। ‘अर्थमन्त्रीले गाँजाको व्यावसायिक उत्पादनका लागि नीतिगत व्यवस्था गर्ने भन्नुभएको छ, त्यसअघि यसका लाभ-हानीका बारेमा अध्ययन हुनुपर्छ,’ पौडेलले बजेटमा समावेश कार्यक्रममाथि प्रश्न गरे।
रोचक त के छ भने -विपक्षी दल कांग्रेसले मोर्चा बनाएर सत्ता गठबन्धनमाथि प्रहार गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको पार्टी माओवादी केन्द्र कम र ओली सरकारको बचाउमा बढी आक्रामक थिए। बजेट प्रस्तुत लगतै ओली किन सरकारको बजेटप्रति आक्रामक सुनिए?
बजेटले आफू नेतृत्वको सरकारले ल्याएका कार्यक्रमलाई प्रचण्ड नेतृत्वको सरकारले निरन्तरता दिनुपर्ने अडानमा ओली थिए। तर, केही कार्यक्रमलाई बजेटमा औपचारिकता मात्रै दिएको र केही हटाइएको भन्दै ओली असन्तुष्ट छन्।
‘हाम्रो पार्टी अध्यक्षज्यू प्रधानमन्त्री भएका बेलामा थुप्रै योजना अघि बढाइएका थिए। त्यसको निरन्तरता दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो। तर, जनार्दन शर्माको पालमै धेरै कुरा कटाइयो। अहिले पनि निरन्तरता दिइएन,’ एमालेका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेकी भगवती चौधरीले भनिन्।
प्रचण्ड नेतृत्वको सरकारले बजेटमा विभेद गरेका कारण असन्तुष्टि व्यक्त भएको उनको भनाइ छ। चौधरीले आफ्नो मन्त्रालयलाई समेत प्रधानमन्त्रीले सम्मानजनक बजेट नदिएको आरोप लगाइन।
‘हामीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १६ अर्ब मागेका थियौं तर बजेट १० करोड मात्रै आयो।अर्थमन्त्रीज्यूलाई भेट्न पनि खोज्यौं। उहाँले हुन्छ हुन्छ भन्नुभयो। पछि अहिले बजेट यति नै छ पाइलटिङ मात्रै गरौं भन्नुभयो,’ चौधरीले भनिन्।
गठबन्धनको सरकार भएकाले मात्रै अहिले सबै असन्तुष्टि सार्वजनिक हुन नसकेको उनको भनाइ छ। ‘गठबन्धन जोगाउनुपर्छ भन्ने पनि छ। यो बजेट त कस्तो कस्तो? सबै असन्तुष्टि सार्वजनिक गरेर पनि साध्य नहोला,’ उनले भनिन्।
ओली निकट नेताहरूका अनुसार महिला मन्त्रालयले छोरी आत्मनिर्भर कार्यक्रम भनेर प्रस्ताव गरेकोमा प्रचण्डले त्यसलाई प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम बनाएकोमा पनि ओलीले प्रचण्डलाई भेटेर असन्तुष्टि व्यक्त गरेका थिए। जसलाई ओलीले प्रचण्डको आफ्नो पार्टीको मन्त्रालयमा हस्तक्षेपको रूपमा लिए।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि प्रमुख पार्टीको अध्यक्षको रूपमा ओलीसँग छलफल नगरी अर्थमन्त्री पुन अघि बढ्न खोज्नु कमजोरी भएको बताए। ‘सत्ता घटक दलसँग परामर्श गर्न सकेको भए यो बजेटलाई व्यवस्थित गर्न सकिन्थ्यो। अलिकति हामी कता कता केही कुरालाई समावेश गर्न नसकेका हौं कि भन्ने लागेको छ,’ बर्तौलाले भने।
करका दरहरूबारे पनि ओलीले असन्तुष्टि जनाएका छन्। ‘स्वदेशी उद्योगमा प्रमोट गर्ने गरी हो कि, हामी कता कता बहकियौं कि यी पाटा पनि यसमा देखिन्छ। करका दरमा पनि के कसरी परिवर्तन गरियो यसमा बिचार गर्नुपर्छ। छलफल गरेको भए यस्तो हुँदैनथ्यो,’ ओलीलाई उद्धृत गर्दै बर्तौलाले भने।
स्रोतका अनुसार ओली स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशतबाट बढाएर २.५ प्रतिशत पुर्याइएकोमा सबैभन्दा धेरै असन्तुष्ट बनेका छन्।
यो निर्णयबाट ३८ अर्बभन्दा बढी लगानी गरेका १८ भन्दा बढी उद्योग संकटमा परेको भन्दै उद्योगीले शुक्रबार ओलीलाई भेटेका थिए। यो भेट भएको भोलिपल्ट भएको पत्रकार सम्मेलनमा ओली पुनप्रति आक्रामक रूपमा प्रस्तुत भएका थिए। नेपाली कांग्रेससँगको गठबन्धन भत्काउन प्रमुख भूमिका खेलेका पुनसँग ओली पछिल्लो केही निर्णयपछि असन्तुष्ट बन्न थालेका थिए। नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियालाई अर्थमन्त्री पुनले रोकेको भन्दै ओली असन्तुष्ट थिए।
बोर्ड अध्यक्ष सिफारिस समितिले पाँच जनाको नाम सर्टलिस्ट गरेपछि पुनले अन्तर्वार्ता लगायतका प्रक्रिया रोकेका थिए। प्रक्रिया रोकेकामा ओली असन्तुष्ट बनेका थिए। नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि व्यापारिक घरानाबिचको कर्पोरेट वारका कारण अध्यक्षमा आफ्नो अनुकूलको व्यक्ति ल्याउन रस्साकस्सी छ। त्यसको पटाक्षेप स्पन्ज आइरनमा आएर पोखिएको स्रोतले बतायो।
माओवादी केन्द्रका नेताहरूले भने एमालेको असन्तुष्टिप्रति विरोध जनाइरहेका छन्। संसद्को अवरोध हटाउनमा प्रधानमन्त्रीको जोड भएकाले गठबन्धनमा एमालेले भनेको जसरी व्यापक छलफल नभएको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए।
तर, कुनै छलफल नगरेर बजेट ल्याएको भन्ने एमालेको टिप्पणी स्वाभाविक नभएको उनको भनाइ छ। ‘यस्तो त भइरहन्छ। सबै कुरा उहाँहरूले बुझेर बोल्नुभएको भए हुन्थ्यो। छलफल कम भएको भन्ने ठिकै हो तर छलफल नै भएन भन्ने ठिक होइन। असन्तुष्टिहरूबारे विभिन्न तहमा छलफल भइरहेको छ,’ पाण्डेले भने।
ओली असन्तुष्ट भएपछि प्रचण्डले आइतबार मात्रै ओलीलाई भेटेर छलफल गरेका थिए। उक्त छलफलमा ओलीले सार्वजनिक रूपमा बजेटमाथि गरेको टिप्पणीबारे प्रचण्डले चासो राखेको थिए। बजेटमा जनयुद्ध शब्द प्रयोग भएकोमा पनि ओलीले असन्तुष्टि जनाइरहेका छन्। माओवादीको सशस्त्र युद्धमात्रै लेख्नुपर्ने भए पनि अर्थमन्त्रीले ‘जनयुद्ध’ शब्द बजेटमा जबर्जस्ती घुसाएको ओलीको आरोप छ।
बजेटको दुई नम्बर बुँदामा ‘२००७ सालको परिवर्तन, २०४६ सालको आन्दोलन, २०५२ सालको जनयुद्ध, २०६२/६३ को जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन’ भनिएको छ।
ओली असन्तुष्ट हुनुको अर्को कारण हो – पछिल्लो समय प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बाक्लो बनाएको संवाद। ओलीले बजेटलाई माध्यम बनाएर असन्तुष्टि व्यक्त गरिरहेको भए पनि प्रचण्डले देउवालाई उनकै निवासमा गएर गरेको छलफल चित्त बुझेको छैन। यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि प्रचण्डले लगातार कुरा गरिरहेका छन्। जसलाई ओलीले अनावश्यक संवाद भन्ने गरेको निकट नेताहरू बताउँछन्।