डिजिटल भुक्तानीको प्रयोगले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ। डिजिटल भुक्तानीले आर्थिक लेनदेनलाई सहज, छिटो र प्रभावकारी बनाएको छ। डिजिटल भुक्तानी प्रणालीको उपयोगले नगद प्रणालीको निर्भरता घटाउँदै बैंकिङ प्रणालीमा जनताको पहुँच वृद्धि गरेको छ।
नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंक, साथै निजी क्षेत्रको सहकार्यले भुक्तानी सेवा डिजिटल प्रणालीमा रुपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। नगद लेनदेनमा आधारित प्रणालीबाट डिजिटल भुक्तानीतर्फको परिवर्तन देख्न सकिन्छ। एक दशकभन्दा अघि सुरु भएको यो यात्रा हाल डिजिटल कारोबारको उल्लेखनीय वृद्धिका साथ अझै गति लिइरहेको छ।
पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने डिजिटल भुक्तानीमा उल्लेखनीय वृद्धि देख्न सकिन्छ। २०७७ चैतदेखि २०८० चैतसम्मको कारोबारमा मात्र क्यूआर कोडमा आधारित भुक्तानीमा ६ गुणासम्मले वृद्धि भएको छ भने मोबाइल वालेटको कारोबार पनि २ गुणाभन्दा बढीले वृद्धि भएको छ।
डिजिटल भुक्तानी क्षेत्रको डिजिटल ट्रान्सफर्मेसनले वित्तीय समावेशितालाई पनि अगाडि बढाएको छ। डिजिटल माध्यमको पहुँच बढ्दै गर्दा हरेक नेपालीले विभिन्न वित्तीय सेवा सहजै लिन सकिरहेका छन्। सानो रकमको ऋण पनि डिजिटल माध्यमबाट लिन मिलिरहेको छ। ठुला व्यवसायी मात्रै नभएर साना व्यवसायी पनि डिजिटल भुक्तानी प्रणालीमा जोडिएर सहज रुपमा भुक्तानी लिइरहेका छन्। यो रुपान्तरणलाई केही मुख्य कारकहरूसँग जोड्न सकिन्छ।
नेपालमा बढ्दो स्मार्टफोन र इन्टरनेटको पहुँचले डिजिटल भुक्तानीको वृद्धिका लागि आधार तयार गरेको छ। कोभिड-१९ महामारीले पनि यस प्रक्रियालाई तीव्र बनाएको छ। बैंक र अन्य भुक्तानी प्रदायकहरुद्वारा गरिएको लगानीले पनि डिजिटल भुक्तानीलाई बढावा दिएको छ। इन्टरनेट कनेक्टिभिटीको लागत घट्दै जानु र डिजिटल प्रविधिको पहुँच सुलभ र किफायती हुनुले पनि यो परिवर्तन सम्भव भएको हो। विभिन्न भुक्तानी उपकरणहरूको उदयले डिजिटल भुक्तानीलाई अझ सजिलो बनाएको छ।
प्रगतिको बाबजुद चुनौती भने उस्तै छन्। डिजिटल भुक्तानी आधारभूत तहमा प्रवेश गर्न थालेपछि साइबर सुरक्षा र डिजिटल वित्तीय साक्षरताको आवश्यकता पनि त्यत्तिकै महत्त्वपूर्ण बनेको छ। नेपालमा डिजिटल भुक्तानी प्रणालीको तीव्र विस्तारसँगै डिजिटल ठगीको जोखिम पनि बढ्दो छ। डिजिटल भुक्तानी प्रणालीले नगद कारोबारलाई सजिलो र छिटो बनाएको भए पनि यसमा ठगीको सम्भावना पनि उच्च छ।
तर, सचेतना र सुरक्षाका उपाय अपनाएर यस्ता जोखिमलाई कम गर्न सकिन्छ। यसका लागि व्यक्ति, बैंक र सरकारले मिलेर काम गर्नुपर्छ। यसरी, डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित, विश्वासिलो र व्यापक बनाउन सकिन्छ।
प्रयोगकर्ता आफैं सचेत हुन आवश्यक छ। ‘भर्दै नभरेको चिट्ठा पर्यो’ भनेर आर्थिक कारोबार गर्ने, पासवर्ड, ओटीपी अरुलाई सेयर गर्ने जस्ता क्रियाकलापले ठगीको घटना बढाउँछ।
डिजिटल ठगी न्यूनीकरणका लागि केही मुख्य उपाय अपनाउन आवश्यक छ :
पहिलो विषय भनेको प्रयोगकर्ता आफैं सचेत हुन आवश्यक छ। ‘भर्दै नभरेको चिट्ठा पर्यो’ भनेर आर्थिक कारोबार गर्ने, पासवर्ड, ओटीपी अरुलाई सेयर गर्ने जस्ता क्रियाकलापले ठगीको घटना बढाउँछ। प्रयोगकर्ताले आफ्नो व्यक्तिगत र वित्तीय जानकारी सुरक्षित राख्नुपर्छ र अनावश्यक रूपमा अरूलाई सजिलै बाँड्नु हुँदैन।
सेवा प्रदायकले पनि सुरक्षालाई अझ मजबुत बनाउन प्रयास गरिरहेका छन्। शंकास्पद कारोबार गर्नेलाई ब्लक गर्ने, डिभाइस बाइन्डिङ गर्ने, अन्य डिभाइसबाट कारोबार गर्न नदिने जस्ता उपाय अपनाउन सक्छन्। डिजिटल ठगीलाई कम गर्न सेवा प्रदायकले समय समयमा सुरक्षा उपायको समीक्षा र त्यसलाई अद्यावधिक गर्नुपर्छ।
डिजिटल माध्यमबाट हुने ठगीलाई शून्यमा झार्न सम्भव त छैन, यसलाई मध्यनजर गर्दै विभिन्न सुरक्षाका उपाय अवलम्बन गर्न सकिन्छ। उदाहरणका लागि, हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा इसेवाले वालेट इन्स्योरेन्स सुरु गरेको छ। यस इन्स्योरेन्स पोलिसीअन्तर्गत प्रयोगकर्ताको ओटीपी अथवा एमपीन ‘कम्प्रमाइज’ भएर आर्थिक नोक्सानी भएमा २० हजार रुपैयाँसम्मको क्षतिपूर्ति दिने व्यवस्था छ।
प्रयोगकर्ताले ५० रुपैयाँ वार्षिक बीमा शुल्कमा २० हजार रुपैयाँसम्मको कभरेज पाउन सक्छन्। यस्तो बीमाले प्रयोगकर्तालाई सुरक्षाको अतिरिक्त तह प्रदान गर्छ। भारतमा पनि पेटीएम मोबाइल वालेटले प्रयोगकर्ताहरुको विश्वास दिलाउन केही समय अघि वालेट इन्स्योरेन्स सुरु गरिसकेको छ।
सजगताका साथ विद्युतीय भुक्तानी प्रणालीको प्रयोगले डिजिटल ठगीलाई कम गर्न सकिन्छ।
प्रयोगकर्तालाई वित्तीय साक्षरताको महत्त्व बुझाउन आवश्यक छ। डिजिटल भुक्तानी प्रणालीको सुरक्षित प्रयोगका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ। विभिन्न तालिम, कार्यशाला तथा अभियान सञ्चालन गरेर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रणालीका सुरक्षाका उपायहरूबारे जानकारी दिनुपर्छ।
सजगताका साथ विद्युतीय भुक्तानी प्रणालीको प्रयोगले डिजिटल ठगीलाई कम गर्न सकिन्छ। प्रयोगकर्ताहरूलाई वित्तीय साक्षरताको महत्त्व बुझाउन, सुरक्षाका उपाय अवलम्बन गर्न र ठगी नियन्त्रणका उपायलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न आवश्यक छ। यसरी, नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउन सकिन्छ। डिजिटल भुक्तानीको सुरक्षित प्रयोगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्याउने छ।