BIZMANDU
www.bizmandu.com

मापसेसहित चार शीर्षकमा कारबाहीमा परेका चालक सडकमा एक घण्टा बने स्वयंसेवक

२०८१ जेठ १६

मापसेसहित चार शीर्षकमा कारबाहीमा परेका चालक सडकमा एक घण्टा बने स्वयंसेवक
मापसेसहित चार शीर्षकमा कारबाहीमा परेका चालक सडकमा एक घण्टा बने स्वयंसेवक


काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गरेका सवारी चालकलाई स्वयंसेवकका रुपमा खटाउन थालेको छ।

Tata
GBIME
NLIC

मंगलबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा मापसे लगायत कारबाहीमा परेकालाई स्वयंसेवकका रुपमा खटाउने निर्णय गरेअनुसार सडकमा खटाउन सुरु गरिएको हो। बुधबार बिहानदेखि नै नियम कार्यान्वयनमा आइसकेको ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

‘आज बिहानदेखि नै हामीले कारबाहीमा परेका चालकलाई खटाएका छौँ,’ एसएसपी श्रेष्ठले भने।

गृहमन्त्री रवि लामिछानेले मापसे गरेर सवारी चलाउने चालकलाई लक्षित गरेर स्वयंसेवकका रुपमा खटाउने जानकारी दिए पनि प्रहरीले अन्य कारबाहीमा परेकालाई पनि सडकमा खटाएको छ। सडक लेन अनुशासन, तीव्र गति र सडक बत्तीको नियम उल्लङ्घन गर्ने सवारी चालकलाई पनि स्वयंसेवकका रुपमा खटाइएको हो।

हालसम्म ६ सय ४ जनालाई खटाइएको प्रहरीले जानकारी दिएको छ। यसअघि प्रहरीले यस्तो कारबाहीमा परेकालाई एक घण्टा सचेतना कक्षा लिने गरेको थियो।

त्यसो त यसभन्दा अघि पनि ट्राफिक प्रहरीले एक घण्टासम्म सडकमा उभ्याएर राख्ने समेत गरेको थियो। तर त्यो नियमले निरन्तरता पाएको थिएन।