BIZMANDU
www.bizmandu.com

बजेटमाथि जेठ २० गतेदेखि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल, २३ गते पुनले जवाफ दिने

२०८१ जेठ १५

बजेटमाथि जेठ २० गतेदेखि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल, २३ गते पुनले जवाफ दिने
बजेटमाथि जेठ २० गतेदेखि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल, २३ गते पुनले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको राजस्व र व्ययको वार्षिक अनुमानित प्रति (बजेट) टेबुल गरेका छन्।

Tata
GBIME
Nepal Life

उक्त बजेटमाथि सामान्य (सैद्धान्तिक) छलफलका लागि सभामुख देवराज घिमिरेले यही जेठ २०, २१ र २२ गतेका दिन तोकेका छन्। अर्थमन्त्री पुनले छलफलमा उठेका प्रश्नको जवाफ जेठ २३ गते दिने कार्यक्रम तय गरिएको छ। उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सदस्यहरुले भाग लिनेछन्।

पुनले ‘आर्थिक विधेयक, २०८१’ बैठकमा पेस गरे। यसअघि संघीय संसद्को आजको संयुक्त बैठकमा मन्त्री पुनले बजेट प्रस्तुत गरेका थिए।

यसैगरी आजको प्रतिनिधिसभाको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ स्वीकृत भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सो अध्यादेश स्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

भण्डारीले सरकारले हालै गरेको लगानी सम्मेलनलाई लक्षित गरी निजी क्षेत्र तथा सरकोरवालाको परामर्शमा अध्यादेश ल्याएको अवगत गराएका थिए। उक्त अध्यादेश पेस नगर्न नेपाल मजदुर किसान पार्टीका प्रेमबहादुर सुवालले प्रस्तुत गरेको विरोधको सूचना बहुमतबाट अस्वीकृत भएको थियो।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राख्नुभएको प्रस्ताव पारित भएको छ।

यसैगरी उद्योगमन्त्री भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकले पारित गरेको छ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले ‘सुरक्षण मुद्रण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गरेका थिए।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।

यस्तै, उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सात सदस्यहरु मनोनयन गरेका थिए।

प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २० गते आइतबार बिहान ११ बजे बस्नेछ।