BIZMANDU
www.bizmandu.com

बागमतीमा निक्षेप ११.४ प्रतिशत बढ्दा कर्जा वृद्धि कछुवा गतिमा, कुन क्षेत्रमा कति घटबढ ?

२०८१ जेठ १४

बागमतीमा निक्षेप ११.४ प्रतिशत बढ्दा कर्जा वृद्धि कछुवा गतिमा, कुन क्षेत्रमा कति घटबढ ?
बागमतीमा निक्षेप ११.४ प्रतिशत बढ्दा कर्जा वृद्धि कछुवा गतिमा, कुन क्षेत्रमा कति घटबढ ?

काठमाडौं। चालु आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशमा निक्षेप ११.४ प्रतिशतले वृद्धि गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार निक्षेप ४१ खर्ब २१ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

सोही अवधिमा कर्जाको वृद्धि भने निराशाजनक छ। कर्जा प्रवाह ०.६ प्रतिशतले मात्र बढेको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाले बागमतीमा २६ खर्ब ९९ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्।

चालु वर्ष बागमतीमा औद्योगिक क्षेत्रमा जाने ऋण बढेपनि सेवा र कृषिको कर्जा ऋणात्मक देखिएको छ। सेवा क्षेत्रतर्फ रियल इस्टेट कर्जाको वृद्धिदर भने उच्च छ।

सेवा क्षेत्र कर्जा

२०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशमा सेवा क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले ऋणात्मक देखिएको छ। सेवा क्षेत्रमा १६ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ।

गत वर्ष सोही अवधिमा सेवा क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले बढेको थियो। बागमतीमा लगानी गरिएको कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश ५९.६३ प्रतिशत छ।

सेवा क्षेत्रतर्फको कर्जामध्ये थोक तथा खुद्रा बिक्रेता क्षेत्रमा सबैभन्दा बढी ४ खर्ब २७ अर्ब ३८ करोड प्रवाह भएको छ। स्वास्थ्य र अन्य सामाजिक कार्यमा भने सबैभन्दा कम ४२ अर्ब ७७ करोड प्रवाह भएको तथ्यांक छ।

रियल इस्टेट क्षेत्रमा प्रवाहित कर्जा भने ३३.९६ प्रतिशतले वृद्धि भएको छ।

सेवा क्षेत्रतर्फ प्रवाह काठमाडौंमा ७४.८८ प्रतिशत कर्जा प्रवाह हुँदा रसुवामा लगानी गरिएको अंश सबैभन्दा कम ०.१ प्रतिशत छ।

औद्योगिक कर्जा

बैंक तथा वित्तीय संस्थाले बागमतीमा औद्योगिक क्षेत्रतर्फ भने कर्जा लगानी ७.८ प्रतिशतले बढाएका छन्। उनीहरुले पुस मसान्तसम्म यो प्रदेशको औद्योगिक क्षेत्रमा ९ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ लगानी गरेका हुन्।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा ७.२ प्रतिशतले घटेको थियो। यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रको कर्जाको अंश ३६.०७ प्रतिशत छ।

औद्योगिक कर्जामध्ये ९१.२६ प्रतिशत अर्थात ८ खर्ब ८८ अर्ब ५० करोड काठमाडौं र ०.०२ प्रतिशत अर्थात करिब १५ करोड रसुवामा लगानी छ।

औद्योगिक क्षेत्रतर्फ विद्युत, ग्यास र पानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा २१.६७ प्रतिशतले वृद्धि भएको छ। निर्माण उद्योगमा भने १.७६ प्रतिशतले मात्र बढेको छ। खानी सम्बन्धी उद्योगको कर्जा भने ३७.७५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

कृषि कर्जा

बागमतीमा कृषि क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले घटेर १ खर्ब १६ अर्ब २० करोड रुपैयाँ कायम भएको छ। गत वर्ष ६ महिनामा यस्तो कर्जा १९.८ प्रतिशतले वृद्धि भएको थियो।