काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुअघि गत असार ३१ देखि साउन ७ गतेको बीचमा नेप्से १३० अंकले बढेर २२२७ को विन्दुमा पुग्यो।
राष्ट्र बैंकले सेयर बजारप्रति नीतिगत कडाइ हटाउने लगानीकर्ताको बुझाइ थियो। तर, राष्ट्र बैंक सेयर बजारप्रति खासै लचक नभएपछि नेप्सेको उचाईं टिकेन। मौद्रिक नीतिपछि लगातार ओरालो लागेको बजार कात्तिक १९ मा १८२६.२३ को अंकमा झर्यो।
२२ मंसिरमा राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने अघिल्लो दिन नेप्से १८५२.११ विन्दुमा थियो। मौद्रिक नीतिको समीक्षामार्फत बजारप्रति राष्ट्र बैंकले केही लचक भयो। त्यसपछि उकालो लागेको नेप्से पुस ४ मा २१४१.८७ विन्दुमा पुग्यो। पहिलो त्रैमासिक समीक्षाबाट बजारमा देखिएको उत्साह धेरै टिकेन।
बजार फेरि ओरालो लागेर पुस २२मा २०२२ अंकमा झर्यो। माघ २ मा नेप्से साउनपछिकै उच्च विन्दु २१७५ अंकमा पुग्यो। माघ मसान्तमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आयो। तर नेप्सेमा सकारात्मक उत्साह देखिएन। लगातार ओरालो लागेको बजार फागुनमा अर्थमन्त्री फेरिएसँगै २१११ को विन्दुसम्म पुग्यो।
२१०० विन्दु पुगेर घटेको नेप्से वैशाख २४ मा १९५८ अंकमा झर्यो। जेठ ४ मा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले केही लचकता अपनायो। त्यसपछि लगातार ४ दिन बढेर नेप्से २१३१ विन्दुमा पुग्यो।
गत माघयताकै उच्च अंकमा पुगेको बजार आइतबार भने २२.१४ अंकले घटेर २१०९ विन्दुमा झर्यो। ‘मौद्रिक नीतिको समीक्षापछि बढेको बजार आइतबार घटेको छ। यसलाई करेक्सनका रुपमा हेर्न सकिन्छ,’ एक मर्चेन्ट बैंकरले भने, ‘बजारमा सकारात्मक सेन्टिमेन्ट नै छ। लगानीकर्ताको कन्फिडेन्स बढेपछि बजार बढ्ने नै देखिन्छ।’
अहिले बैंकिङ प्रणालीमा तरलता थुप्रिएकाे छ। ब्याजदर एकल अंकमा आउन थालेकाे छ। सेयर बजारका लागि तरलता र न्यून ब्याजदर फेबर गर्ने सूचक मानिन्छन्।
तर, अनुकूल सूचक हुँदा पनि बजार भने बढ्न सकेकाे छैन। नेप्से पछिल्लो दुई वर्षयता १८००-२२०० को विन्दुमा घुमिरहेको छ।
लामो समयदेखि समग्र आन्तरिक अर्थतन्त्रमा संकुचन देखिएपछि राष्ट्र बैंकले नीतिगत कडाइमा चालु वर्षदेखि किस्ता किस्तामा लचकता अपनाइरहेको छ। केही नीतिगत कडाइ भने कायमै छन्।
सेयर धितो कर्जामा लगाएको सीमा र जोखिमभारको नीतिले बजारमा असर गरेको लगानीकर्ताको तर्क छ। नीतिहरु कतिबेला फेरिन्छन् भन्ने अनुमान नै गर्न नसकिने भएकै कारण कतिपय लगानीकर्ताहरु सेयर बजारबाट डाइभर्ट भइरहेको जानकारहरु बताउँछन्।
उत्पादन र कम्पनीको व्यवसायले ड्राइभ गर्नुपर्नेमा नीतिगत रुपमा चलाउँदा संस्थागत र ठूला लगानीकर्ता आकर्षित हुन नसकेको विश्लेषक अनलराज भट्टराई बताउँछन्।
‘बजारमा संस्थागत र ठूला लगानीकर्ता आउनको लागि अनुमान र विश्लेषण गर्न सक्ने खालको नीति हुनुपर्छ,’ उनले भने, ‘तर, प्रेडिक्टेबल नभएपछि अरुतिर डाइभर्ट हुन्छन्। एग्रेसिभ रुपमा ठूला लगानीकर्ता जुन रुपमा आउनुपर्ने हो त्यो देखिंदैन।’
अर्थमन्त्री वर्षमान पुनले गत फागुनमा कार्यभार सम्हाल्दै सेयर बजार सुधारका लागि काम गर्ने बताएका थिए। उनले सार्वजनिकरुपमै वित्त नीतिसँग तालमेल हुने गरी खुकुलो मौद्रिक नीति ल्याउने बताउँदै आएका छन्। बैंकहरुले ऋणको माग नभएर कर्जा लगानी बढाउन सकेका छैनन्।
माग वृद्धि नहुँदा एकातिर ऋण लगानी भएको छैन भने अर्कोतिर ब्याजदर निरन्तर घट्दो क्रममा छ। त्यहीकारण बजारमा माग बढाउन भए पनि राष्ट्र बैंक नीतिहरु खुकुलो बनाउने पक्षमा छ।
लगानीकर्ताहरु आगामी आर्थिक वर्षको बजेट र राष्ट्र बैंकले लिने नीतिको पर्खाइमा रहेको जानकारहरु बताउँछन्। ‘बजार अहिले प्रि-बजेट सिन्ड्रमको अवस्थामा छ। आयकर, पुँजीगत लाभकरको कुरा जोडिएको छ,’ भट्टराईले भने, राजस्वको दबाब भएका कारण सरकारले कर बढाउँछ कि भन्ने पनि छ। लिड चाहिं बजेटले दिन्छ।’