BIZMANDU
www.bizmandu.com

लगातार घाटामा गएपछि अण्डामा लागत मूल्यको खोजी, खर्च हिसाब गरेर समर्थन मूल्य तय

२०८१ जेठ १२

लगातार घाटामा गएपछि अण्डामा लागत मूल्यको खोजी, खर्च हिसाब गरेर समर्थन मूल्य तय
लगातार घाटामा गएपछि अण्डामा लागत मूल्यको खोजी, खर्च हिसाब गरेर समर्थन मूल्य तय


चितवन। पछिल्ला वर्षहरुमा कुखुरापालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन्। न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै लागत मूल्यको खोजी गरिएको हो।

Tata
GBIME

नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापकहरु डा. रेवन्त भट्टराई, डा. सुवीर सिंह, उपप्राध्यापक डा. अनन्त दाहाल र डा. विष्णु पोखरेल लगायतको समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो।

मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अण्डा प्रतिगोटा १६.५६ रुपैयाँ किसानको लागत मूल्य विज्ञ समूहले निकालेको छ। हाल फार्म मूल्य किसानले सरदर रु १५.३३ पाउने गरेका छन्। अहिले पाएको मूल्य हालसम्मकै बढी हो। डेढ वर्षअघि प्रतिगोटा ८ रुपैयाँमा समेत बिक्री गर्न किसान बाध्य थिए।

मञ्चले लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको लामिछानेले जानकारी दिए। उनका अनुसार उद्योग वाणिज्य संघ, उद्योग संघ, चेम्बर अफ कमर्स, स्थानीय जनप्रतिनिधि, पशु सेवा कार्यालय, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला लगायत सरोकारवालासँग छलफल गरेर कम्तीमा लागत मूल्य धान्ने गरी समर्थन मूल्य तोक्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ। डा. अनन्त दाहालका अनुसार फार्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक ब्याज, औषधि, मजदुरलगायतको खर्च समेटेर लागत मूल्य तय गरिएको हो।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले यसअघि धेरै उत्पादन भएको तुलनामा अहिले अण्डाको उत्पादन आधा घटेको छ। नेपालमा धेरै उत्पादन हुँदा दैनिक ६० लाखसम्म अण्डा उत्पादन भएको अनुमान गरिन्छ।

उनका अनुसार हाल दैनिक २८ लाख मात्रै अण्डा उत्पादन हुँदै आएको छ। ७५ प्रतिशत किसान लागत मूल्यमा उत्पादन बिक्री गर्न नपाएपछि विस्थापित हुनु परेको छ। टिकेकाहरुले पनि बैंकको ऋण थप गरेर व्यवसाय धानेको उनको भनाइ छ।