BIZMANDU
www.bizmandu.com

बौद्ध परिसरमा आज यस्तो देखियो २५६८औँ बुद्ध जयन्तीको विशेष रौनक

२०८१ जेठ १०

बौद्ध परिसरमा आज यस्तो देखियो २५६८औँ बुद्ध जयन्तीको विशेष रौनक
बौद्ध परिसरमा आज यस्तो देखियो २५६८औँ बुद्ध जयन्तीको विशेष रौनक


काठमाडौं। शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइएको छ।

Tata
GBIME
NLIC

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएका योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाइएको हो।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ। आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ। बौद्ध स्तुपामा हरेक वर्ष आजका दिनमा रंगरोगन गर्ने गरिन्छ भने ध्वजापताका पनि फेर्ने गरिन्छ।

बौद्ध परिसरमा आज बुद्ध जयन्तीको विशेष रौनक देख्न सकिन्थ्यो। भिक्षुदेखि सर्वसाधारणहरूसम्म पूजाआजाका लागि यहाँ आएका थिए।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।

राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने। २९ वर्षको उमेरमा उनी दरबार छोडी तपस्याका लागि निस्किएका थिए।