BIZMANDU
www.bizmandu.com

व्यापार घट्दा बोटलर्सको वित्तीय अवस्था बिग्रियो, दुवै कम्पनीको घट्यो खुद नाफा

२०८१ जेठ १०

व्यापार घट्दा बोटलर्सको वित्तीय अवस्था बिग्रियो, दुवै कम्पनीको घट्यो खुद नाफा
व्यापार घट्दा बोटलर्सको वित्तीय अवस्था बिग्रियो, दुवै कम्पनीको घट्यो खुद नाफा

काठमाडौं । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालको वित्तीय अवस्था खस्किएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बोटलर्स नेपालका दुवै कम्पनीको खुद नाफा घटेको हो।

Tata
GBIME
Nepal Life

वित्तीय विवरण अनुसार माउ कम्पनी बोटलर्स नेपाल बालाजुको खुद नाफा ८६.२४ प्रतिशतले घटेको छ। पोहोर ९ महिनामा ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको बोटलर्स नेपाल बालाजुले यस वर्ष ५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो।

बालाजुको सञ्चालन आम्दानीमा १२.५८ प्रतिशतले गिरावट आएको छ। गत वर्ष चैतसम्म ८ अर्ब २१ करोड ८४ लाख रुपैयाँको व्यापार गरेको कम्पनी यस वर्ष ७ अर्ब १८ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ९१.२७ प्रतिशतले घटेर २७५ रुपैयाँबाट २४ रुपैयाँमा झरेको छ। प्रति सेयर नेटवर्थ ३,२२९ रुपैयाँ छ।

यस्तै, बोटलर्स नेपाल तराईको खुद नाफा २७.५८ प्रतिशतले घटेको छ। कम्पनीले ९ महिनामा २६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। पोहोर चैतसम्म ३६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको सञ्चालन आम्दानी ३.०१ प्रतिशतले घटेको छ। पोहोर ९ महिनामा ५ अर्ब ९९ करोडको व्यापार गरेको तराईस्थित कम्पनीले यस वर्ष सोही अवधिमा ५ अर्ब ८१ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

कम्पनीको प्रति सेयर आम्दानीमा ३९८ रुपैयाँबाट घटेर २८८ रुपैयाँमा झरेको छ। अर्थतन्त्रमा देखिएको सुस्तता, बढ्दो व्यापार लागतका कारण नाफा घटेको कम्पनीले जनाएको छ।