काठमाडौं। बंगलादेशी क्रिकेट टोली अमेरिकासँग स्तब्ध भएको छ। विश्वकपअघि तीन खेलको टी-२० सिरिज खेल्न अमेरिका पुगेको बंगलादेशी टोलीलाई अमेरिकाले ५ विकेटले हराउँदै सिरिजमा सुखद सुरुवात गरेको हो।
प्रेइरीभ्यू क्रिकेट कम्प्लेक्समा सम्पन्न खेलमा टस जित्दै अमेरिकाका कप्तान मोनांक पटेलले पहिला फिल्डिङ रोजेका थिए।
सुरुवाती ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनायो। बंगलादेशका लागि ताउहिद हृडोएले सर्वाधिक ५८ रन बनाउँदा महमदुल्लाले ३१ रन बनाए। त्यस्तै, ओपनरद्वय सौम्य सरकारले २० तथा लिट्टोन दासले १४ रन बनाए।
बलिङतर्फ अमेरिकाका स्टेभेन टेलरले २ विकेट लिँदा सौरभ नेत्रभाल्कर र अली खानले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले १९.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। अमेरिकाका लागि कोरी एण्डरसनले सर्वाधिक अविजित ३४ रन बनाउँदा हरमीत सिंह १३ बलमा ३३ रन बनाउँदै अविजित रहे। त्यसअघि स्टेभेन टेलरले २८ तथा एन्ड्रिज गुएजले २३ रनको योगदान दिएका थिए।
बलिङतर्फ बंगलादेशका मुस्तफिजुर रहमानले २ विकेट लिँदा रसिद हुसैन र सोरिफुल इस्लामले समान १ विकेट लिए।
विश्वकपको तयारीका लागि खेलिएको सिरिजको दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुँदैछ।
बंगलादेश विश्वकपमा नेपाल रहेकै समुह छ। समूह ‘डी’ मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, श्रीलंका र दक्षिण अफ्रिका छन्। नेपालले बंगलादेशसँग १७ जुनमा खेल्दैछ।