काठमाडौं। सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार शहरी विकासमन्त्री धनबहादुर बुढा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल सबैभन्दा धनी देखिएका छन्।
सम्पत्ति विवरण अनुसार सुनमा मन्त्रीहरुको मोह देखिएको छ। सुन नहुने मन्त्री एक जना पनि छैनन्। त्यति मात्र होइन मन्त्रीहरुको सम्पत्ति विवरणले दाइजोका रुपमा सुन लिने प्रवृत्ति डरलाग्दो रहेको देखाएको छ। एक जना मन्त्रीले आफूसँग रहेको १५८ तोला सुनलाई विवाहमा उपहारका रुपमा पाएको उल्लेख गरेका छन्।
वर्षौंदेखि रवाफिलो जीवन बाँच्दै आएका कतिपय मन्त्रीहरुले काठमाडौंमा घर घडेरी आफ्नो र परिवारको नाममा देखाएका छैनन्।
शिक्षामन्त्री सुमना श्रेष्ठले बैंकमा ७ करोड रुपैयाँभन्दा बढी रकम देखाउँदा खानेपानीमन्त्री राजेन्द्र राईले सबैभन्दा धेरै ५५ लाख रुपैयाँ ऋण देखाएका छन्।
धेरैजसो मन्त्रीले घरजग्गा, गाडी र बैंकमा राखेको रकमलाई सम्पत्तिका रुपमा देखाएकामा मन्त्री राईले गाई र बाख्राको संख्या सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
प्रधानमन्त्रीको खातामा २५ लाख
जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नाममा २५ लाख रुपैयाँ नगद र ५ तोला सुन बाहेक सम्पत्ति नरहेको उल्लेख गरेका छन्। विवरण अनुसार सुन पैत्रिक सम्पत्ति हो।
यस्तै भरतपुर महानगरपालिका-१४ मा १४ कठ्ठा जग्गामा घर रहेको र पैत्रिक सम्पत्तिबाट प्राप्त त्यो घरजग्गा पत्नी सीताको नाममा रहेको प्रचण्डको सम्पत्ति विवरणमा उल्लेख छ। भरतपुर महानगर-१२ मा सीताकै नाममा अंशबाट प्राप्त भएको १ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ। सीताको गत असार २७ गते निधन भएको थियो।
प्रचण्डले आफ्नो नाममा सवारीसाधन, सेयर र ऋण नरहेको उल्लेख गरेका छन्।
महासेठको जग्गा पत्नीको नाममा
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले धेरैजसो सम्पत्ति पत्नि जुलीकुमारी महतोको नाममा देखाएका छन्। महतोको नाममा ललितपुरमा २ रोपनी १३ आना, जनकपुरमा ४,२०० वर्गमिटर जग्गा तथा र दुवै स्थानमा साढे दुई तलाको घर छन्।
विवरण अनुसार महतोको नाममा धनुषामा ७ रोपनी, सिन्धुलीमा ४ आना, ललितपुरर महानगर-९ मा एक रोपनी ७ आना जग्गा छ। महासेठको नाममा धनुषामा १.१५ विगाहा जग्गा रहेको उल्लेख गरिएको छ।
उनले आफूसँग ४३ तोला सुन, २ करोड २५ लाख रुपैयाँ नगद र ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको उल्लेख गरेका छन्।
नारायणकाजीसँग जम्मा सवा लाख !
विवरण अनुसार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ गरिब देखिन्छन्। उनीसँग बैंकमा एक लाख २२ हजार ९१८ रुपैयाँ नगद छ, घर छैन।
गोरखा सिरान्चोकमा रहेको ३७ रोपनी जग्गा २०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेअनुसार अहिले प्रक्रियामा रहेको श्रेष्ठले उल्लेख गरेका छन्। उनले आफूसँग रहेको बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रयोग गर्न दिएको भनेका छन्।
रविसँग कहाँबाट आयो ८० तोला सुन ?
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भक्तपुरमा १ रोपनी १ आना जग्गा देखाएका छन्। त्यो उनको पैतृक सम्पत्ति हो। उनले ८० तोला सुन भने बाबुआमा र पत्नी निकिताले खरिद गरेको भनेका छन्।
विवरण अनुसार निकिताको नाममा काठमाडौंको बुढानीलकण्ठ-८ मा पाँच आना जग्गा छ। त्यो जग्गा ३ करोड ७५ लाख रुपैयाँमा किनेको भनिएको छ। जग्गा किन्दा लिएको १ करोड ५० लाख ऋण तिर्न बाँकी रहेको लामिछानेले विवरणमा उल्लेख गरेका छन्। निकिताको नाममा माइतीतर्फबाट सगोलमा काठमाडौं महानगरपालिका-७ मा १० रोपनी जग्गा छ। यस्तै निकिताको नाममा नै २० तोला चाँदी छ।
अर्थमन्त्रीसँग छैन उपत्यकामा घरघडेरी
अर्थमन्त्री वर्षमान पुनले आफ्नो नाममा काठमाडौं उपत्यकामा घर घडेरी केही पनि छैन भनेका छन्। उनले रोल्पामा ८२० वर्गमिटर जग्गाबाहेक आफ्नो नाममा देशका कुनै पनि ठाउँमा घर घडेरी नरहेको उल्लेख गरेका हुन्। ८२० वर्गमिटर भनेको २५ आना हो।
उनले आफ्नो नाममा बैंकमा ३७ लाख ७० हजार ६१८ रुपैयाँ रहेको देखाएका छन्। त्यो रकम तलब र भ्रमण भत्ताबाट प्राप्त भएको उनको भनाइ छ। उनको नाममा तीन वटा बैंकमा खाता रहेकामा दुई वटामा एक रुपैयाँ पनि नरहेको उल्लेख गरिएको छ।
सेयर र ऋण पनि केही नरहेको उल्लेख गरेका पुनले आफूसँग एउटा हुलुका सवारी साधन रहेको र त्यो पार्टीको सम्पत्ति भएको विवरणमा उल्लेख गरेका छन्।
सुमनाको बैंक खातामा ७ करोडभन्दा धेरै
शिक्षामन्त्री सुमना श्रेष्ठ नगदका आधारमा धनी देखिएकी छन्। उनले आफ्नो नाममा विभिन्न बैंकमा ७ करोड रुपैयाँभन्दा बढी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्।
उनका अनुसार साढे ५ करोड रुपैयाँभन्दा बढी रकम विदेशी बैंकमा छ। पति पावल लुकास स्काविन्सकीले आफ्नो नाममा विदेशी बैंकमा १ लाख ८९ हजार ७०० अमेरिकी डलर (२ करोड ५२ लाख ३० हजार रुपैयाँ) र १ लाख ८० हजार पाउन्ड (३ करोड ४ लाख २० हजार रुपैयाँ) जम्मा गरिदिएको श्रेष्ठले उल्लेख गरेकी छन्।
यस्तै एनआइसी एसिया बैंकमा १ करोड १५ लाख र एभरेष्ट बैंकमा ३७ लाख रहेको तथा त्यो रकम पारिश्रमिकबापतको भएको उनको भनाइ छ।
नगद धेरै देखिएकी उनको नाममा घर भने छैन। काभ्रेको पनौतिस्थित रयालेमा ८ रोपनी जग्गा रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्। विवरण अनुसार उनीसँग ११ तोला सुन, सय तोला चाँदी, हिराको सेट एउटा र हिराको टप एक सेट छ।
विराजभक्तको सेयरमा लगानी
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बुबा वीरेन्द्रभक्त श्रेष्ठसँग २० लाख रूपैयाँ ऋण लिएको देखाएका छन्। २०७० सालमा लिएको ऋण अझै फिर्ता नगरेको उनले उल्लेख गरेका छन्।
विवरण अनुसार हाल उनीसँग ५० लाख ऋण छ। बैंकमा उनको नाममा ८३ लाख ७२ हजार ७४५ रूपैयाँ नगद छ। श्रेष्ठले सेयरमा १ करोड रुपैयाँभन्दा बढी लगानी गरेको देखिएको छ। विवरणअनुसार उनीसँग १५ हजार ९०६ कित्ता सेयर छ।
डीपीसँग सुन, नगद, सेयर र जग्गा प्रशस्तै
श्रममन्त्री डोलप्रसाद (डीपी) अर्यालले विभिन्न १२ ठाउँमा जग्गा देखाएका छन्। उनले पत्नी अम्बिका केसीको नाममा काठमाडौंमा करिब ३ करोड मूल्य बराबरको घर रहेको विवरणमा उल्लेख गरेका छन्।
धादिङको गजुरी, काठमाडौंको नागार्जुन र लमजुङको राइनासमा जग्गाका साथै अर्यालसँग १५० तोला सुन, १०० तोला चाँदी र हिरा १० तोला छ। उनले ५७ हजार कित्ता सेयरमा लगानी तथा बैंकमा २ करोड १८ लाख रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन्।
बुढाको ७ वटा घर
शहरी विकासमन्त्री धनबहादुर बुढाले आफूसँग ७ वटा घर र १५० तोलासहितको सम्पत्ति रहेको सार्वजनिक गरेका छन्।
उनले गृहजिल्ला डोल्पामा ५ रोपनी जग्गा र ४ वटा घरको स्रोतका रुपमा पैत्रिक सम्पत्तिलाई देखाएका छन्। यस्तै काठमाडौं महानगरपालिका-६ मा उनीसँग ३ वटा घर छन्। ती घर पत्नी हिमालीको नाममा रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
काठमाडौं महानगरपालिका-६ मा १७ आना जग्गामा ७ तले एउटा र २० आना जग्गामा ३ तले २ वटा घर रहेको उल्लेख गर्दै उनले ती घरजग्गा व्यापार व्यवसायबाट जोडेको भनेका छन्। यसबाहेक उनकी पत्नीको नाममा काठमाडौं महानगरपालिका-६ मा नै ७ आना जग्गा छ।
यस्तै आफूसँग १५० तोला सुन र ३०० तोला चाँदी रहेको मन्त्री बुढाको सम्पत्ति विवरणमा उल्लेख छ। मंगलबारको बजार भाउ अनुसार सुन २ करोड १० लाख ९० हजार र चाँदी ५ लाख ६५ हजार रुपैयाँ बराबरको हो।
मन्त्री बुढाले बैंकमा आफ्नो नाममा १५ लाख र पत्नीको नाममा ४५ लाख रुपैयाँ रहेको तथा त्यो रकम व्यापार व्यवसायबाट प्राप्त भएको उल्लेख गरेका छन्। उनी निर्माण व्यवसायी हुन्। उनीसँग हाइलक्स गाडी पनि छ। विवरण अनुसार उनको नाममा ऋण छैन।
उप्रेतीको नाम छैन एक टुक्रा जग्गा
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पत्नी भोजकुमारीको नाममा सर्लाहीमा ७० कठ्ठा पुर्ख्यौली जमिन र दिलकुमारी मैनालीको नाममा १६ लाखको एउटा कार रहेको उल्लेख गरेका छन्। यस्तै २५ तोला सुनलाई पुर्ख्यौली सम्पत्तिका रुपमा देखाएका छन्।
बस्नेतको जग्गा जाजरकोटमा मात्रै !
उर्जामन्त्री शक्ति बस्नेतको जाजरकोटमा बुवाको नाममा घर तथा छोरी र पत्नीको नाममा केही जमिन रहेको उल्लेख गरेका छन्। उनीसँग ५ तोला सुन, ३५ लाख नगद र विभिन्न बैंकमा १६ लाख बचत रहेको उल्लेख गरेका बस्नेतले स्कारपियो गाडीलाई पार्टीले दिएको सम्पत्तिका रुपमा देखाएका छन्।
जोशीको ३ वटा घर
सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले काठमाडौंको कीर्तिपुर, बझाङको छविसपाथिभेरा-४ र जयपृथ्वी नगरपालिका-७ मा गरी ३ वटा घरका साथै जयराज जोशीको नाममा बझाङका विभिन्न ठाउँमा जग्गा र काठमाडौंमा निर्मला कुमारी कोइरालाको नाममा जग्गा देखाएका छन्।
उनीसँग विभिन्न बैंक खातामा १ लाख ६९ हजार रुपैयाँ निक्षेप, ३१ तोला सुन र ६० तोला चाँदी छ। उनले सुनचाँदीलाई पैतृक सम्पत्ति र विवाहबाट दाइजो प्राप्त भनेका छन्। सेयरमा ८ लाख लगानी गरेका उनको नाममा ४३ लाख रुपैयाँ ऋण छ। ऋणवापत ३ लाख १० हजार रुपैयाँ ब्याज तिरेको विवरणमा उल्लेख छ।
तामाङसँग पैत्रिक सम्पत्तिको जग्गा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सम्पत्तिका रुपमा राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ मौज्दात, ६ तोला सुन र ७/८ तोला चाँदी देखाएका छन्।
उनले जन्मथलो नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्।
रेखाको अढाइ तले घर
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कृष्णध्वज खड्काको नाममा कीर्तिपुर नगरपालिका-७ मा ६ आना जग्गा र साढे २ तलाको घर, ६ तोला सुन र २ तोला चाँदीलाई सम्पत्तिका रुपमा देखाएकी छन्। उनको नाममा राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत छ।
आफू, पति र छोरीहरूका नाममा १५ सय कित्ता सेयर देखाएकी उनले ६५ लाख ऋण लिएको तथा २०७७ साउनमा ३६ लाखमा कार किनेको उल्लेख गरेकी छन्।
गिरीको लगानी रेष्टुरेन्टमा
कानूनमन्त्री पदम गिरीले २३ तोला सुन र पारिश्रमिकबाट आएको १ लाख रुपैयाँ बैंक खातामा रहेको उल्लेख गरेका छन्। मन्त्रिपरिषद्मा बुझाएको विवरण अनुसार उनको नाममा पर्वतमा पैतृक सम्पत्तिबाट प्राप्त ७ आना जग्गा छ। गिरीले न्यू ऐरा रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस पोखरामा ऋण र पैतृक सम्पत्तिबाट ५० लाख लगानी गरेको उल्लेख गरेका छन्। नेपाल बैंकबाट ४० लाख ऋण लिएको देखाइएको छ।
भण्डारीको नाममा १० लाख ऋण
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग बैतडीको पाटनमा घर र जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। उदय सिंह भण्डारीको नाममा ६ कोठे पुर्ख्यौली घर र २ रोपनी जग्गा देखाएका उनले पत्नी कविता भण्डारीको नाममा कञ्चनपुरमा २ कट्ठा जग्गा छ भनेका छन्।
उनीसँग ६ तोला सुन छ जुन पत्नीले नोकरी र कृषि व्यवसायबाट आर्जित रकमबाट खरिद गरेको उल्लेख गरेका छन्। उनको नाममा एभरेस्ट बैंकमा ८ लाख ६४ हजार ४४६ रुपैयाँ र पत्नी कविताको नाममा ग्लोबल बैंकमा ३ लाख ६३ हजार रुपैयाँ छ। यस्तै १० लाख रुपैयाँ ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।
छोराको नाममा सेयरमा लगानी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफ्नो नाममा जग्गा देखाएका छैनन्। सम्पत्ति विवरणमा पत्नी वसुन्धरा पौडेल अधिकारीको नाममा कपिलवस्तुको वाणगंगामा ५ कठ्ठा, वुद्धभूमि-५ मा १ बिगाहा १५ कठ्ठा र काठमाडौंको कीर्तिपुरमा २०६.६६ वर्ग मिटर जग्गा छ भनेका छन्।
यसबाहेक १० तोला सुन तथा विभिन्न बैंकमा १५ लाख रुपैयाँ नगद देखाइएको छ। मन्त्री अधिकारीले छोरा मनोजका नाममा भिजन इनर्जीमा १५ लाख रुपैयाँ सेयर लगानी गरेका छन्।
जग्गा प्रशस्त, ३ लाख कित्ता सेयर
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको काठमाडौंमा झन्डै तीन करोड रुपैयाँ बराबरको जग्गा–जमिन देखिएको छ। उनीसँग काठमाडौं महानगरपालिका-९ मा १२ आना १ पैसा ३ दाम जग्गा छ। त्यो स्वआर्जनबाट २ करोड ६७ लाख रुपैयाँमा किनेको उल्लेख गरिएको छ।
उनीसँग सुनसरीको दुहबीमा १ विगाहा १ धुर, तनमुना ६ (क) मा २ कठ्ठा, तनमुना ६ (क) मै २ विगाहा ११ कठ्ठा साढे ६ धुर, औराबनी ९ (ख) मा १० धुर र औराबनी ९ (ख) मा १० धुर जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। यसबाहेक दाङको सोनपुरमा १५ कट्ठा पैतृक सम्पत्ति छ।
चौधरीसँग एभरेष्ट बैंकमा १२ लाख ४१ हजार ८३० रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा ५ लाख ४६ हजार ११९ रुपैयाँ र नबिल बैंकमा १२ हजार रुपैयाँ नगद मौज्दातका साथै ८५ तोला सुन र २५ किलो चाँदी छ।
उनले लघुवित्तमा २ लाख ४२ हजार १०५ र अन्य कम्पनीमा १ लाख ५० हजार कित्ता सेयर रहेको उल्लेख गरेकी छन्। सेयरमा लगानीलाई उनले स्वआर्जन भनेकी छन्। उनीसँग ४ लाख ६५ हजार मूल्यको मोटरसाइकल पनि छ।
सम्पत्ति गाई र बाख्रा
खानेपानीमन्त्री राजेन्द्र राईको गृहजिल्ला धनकुटामा जमिन देखिएको छ। उनले १० तोला सुन, सय तोला चाँदी, ७ वटा गाई र ६३ वटा बाख्रालाई सम्पत्तिका रुपमा देखाएका छन्। विवरण अनुसार गाई र बाख्रा ३५ लाख रुपैयाँबराबरका हुन्। उनले रामबहादुर राईबाट २० लाख र राष्ट्रिय वाणिज्य बैंकबाट ३५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन्।
साहको सम्पत्ति यस्तो
कृषि तथा पशुपंक्षीमन्त्री ज्वालाकुमारी साहले सम्पत्तिका रुपमा बारा र सर्लाहीमा १० कठ्ठा जग्गा, १० तोला सुन र २५ तोला चाँदी देखाएकी छन्। उनले आफूसँग ४० हजार रुपैयाँ नगद रहेको उल्लेख गरेकी छन्।
१५८ तोला सुन उपहार
वन तथा वातवरणमन्त्री नवलकिशोर साह सुडीले आफू र परिवारको नाममा १५८ तोला सुन देखाएका छन्। सुन उनले किनेका भने होइनन्। सबै उपहारका रुपमा प्राप्त भएको भनिएको छ। उनले ५६ तोला आफ्नो विवाहमा ससुरालीबाट तथा बाँकी १०२ तोला छोराको विवाहमा बुहारीको माइती पक्षबाट उपहार पाएको उल्लेख गरेका छन्।
यसबाहेक उनको र परिवारका सदस्यको नाममा बैंक खातामा ५० लाख रुपैयाँ छ भने सप्तरीमा घरजग्गा पनि अत्यधिक देखिएको छ।
२३ सदस्यीय मन्त्रिपरिषद्का २ सदस्यको भने सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन। अशोक राई नेतृत्वको जसपाबाट केही दिनअघि मन्त्री बनेका प्रदीप यादव र हसिना खानको भने सम्पत्ति विवरण प्राप्त हुन बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।