BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले मौद्रिक नीतिमा त्यस्तो के व्यवस्था गर्‍यो जसले बढायो सेयर बजार

२०८१ जेठ ६

राष्ट्र बैंकले मौद्रिक नीतिमा त्यस्तो के व्यवस्था गर्‍यो जसले बढायो सेयर बजार
राष्ट्र बैंकले मौद्रिक नीतिमा त्यस्तो के व्यवस्था गर्‍यो जसले बढायो सेयर बजार

काठमाडौं। नेप्से परिसूचक आइतबार ४५.६९ अंकले बढ्दा बैंकिङ उपसमूह २.६३ प्रतिशतले बढ्यो। इन्स्योरेन्सपछि वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखियो।

Tata
GBIME
Nepal Life

लामो समयदेखि कारोबार र मूल्यको हिसाबले लगानीकर्ताको रोजाइमै पर्न छोडेको बैंकिङ क्षेत्रमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत लचकता अपनाएपछि १९ वटै वाणिज्य बैंकको सेयर मूल्य बढेको छ।

सबैभन्दा धेरै एनआईसी एसिया बैंकको सेयर मूल्य ६.९१ प्रतिशतले वृद्धि भएको छ। बैंकहरुको सेयरमा धेरैपछि आइतबार उत्साह देखिएको हो।

यस्तै, सबै विकास बैंकहरुको सेयर मूल्य बढेको छ। फाइनान्स कम्पनीका लगानीकर्ताले १.०७ प्रतिशतले कमाएका छन्। ५ अर्ब २५ करोड रुपैयाँभन्दा धेरै मूल्यको सेयर किनबेच भएको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई सेयरमा गरेको लगानी बिक्री गर्न पाउने खुकुलो नीति लिएको छ।

शुक्रबार गरिएको समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने व्यवस्था गरिएको छ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरुले एक वर्षमा प्राथमिक पुँजी कोषको १ प्रतिशत मात्रै सेयर बिक्री गर्न पाउने प्रावधान थियो।

‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ,’ राष्ट्र बैंकले मौद्रिक समीक्षामा भनेको छ।

कोभिडपछि बजार उच्च विन्दुमा पुगेको थियो। सेयर लगानीबाट हुने आम्दानी वृद्धि हुँदा फाइनान्स कम्पनीको नाफामा उछाल आएको थियो।

राष्ट्र बैंकले २०७८ जेठमा बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर बिक्री गर्न १ प्रतिशतको सीमा लगायो। बैंक तथा वित्तीय संस्थाहरुले सेयर किन्न पाउने तर बिक्रीमा सीमा लगाइँदा त्यसबापत प्राप्त हुने नाफा प्रभावित बन्न पुग्यो।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा इन्ट्री गराएपछि बेच्नका लागि सीमा लगाउन नहुने तर्क राख्छन्।

‘सेयर किन्न दिएपछि बेच्न पाउनुपर्छ। कि उनीहरुलाई प्लेयर नै बनाउनु भएन,’ उनले बिजमाण्डूसँग भने, ‘सेयर बजार राज्यले नै बुझ्न सकेको छैन। किन्न दिएपछि बेच्न किन सीमा लगाइरहनुपर्‍यो?’

बैंक तथा वित्तीय संस्थालाई सेयर बिक्रीमा गरेको खुकुलो व्यवस्थाले बजारमा सकारात्मक प्रभाव पार्ने जानकारहरु बताउँछन्।

पूर्वबैंकर तथा वित्तीय क्षेत्रका जानकार अनलराज भट्टराईले राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत गरेको व्यवस्था बजारमैत्री भएको र त्यही कारण आइतबार नेप्सेमा उत्साह देखिएको बताए।

‘राष्ट्र बैंकको नयाँ व्यवस्थाले पुँजीको दबाबमा रहेका बैंकहरुलाई सहज हुने भएको छ,’ उनले भने,’बैंक तथा वित्तीय संस्थाको स्टक मार्केटमा भएको लगानी स्टक भएर बसेको थियो। अब चलायमान हुने भयो। उनीहरुलाई सेयर बेच्ने बाटो खुला भएसँगै बजारमा लिक्विडिटी र सप्लाई बढ्ने देखिन्छ। त्यसैले यसले पोजेटिभ प्रभाव नै पार्छ।’

पछिल्लो दुई वर्षयता सेयर बजार एउटै ट्रेन्डमा छ। राष्ट्र बैंकले यसअघि सेयर धितो कर्जा प्रवाहमा गरेको कडाइ र बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा गरेको कडाइलाई लगानीकर्ता र जानकारहरुले बजार घट्नुको मुख्य कारणका रुपमा लिंदै आएका छन्।

लगानीकर्ता अम्बिका पौडेलले मौद्रिक समीक्षा मार्फत सेयर बजारमा बैंकहरुले सेयर बेच्न पाउने सीमा वृद्धिले सकारात्मक प्रभाव देखिन थालेको बताए।

‘बैंकहरुलाई पहिले सेयर बेच्न सीमा लगाइएको थियो। अहिले त्यसमा खुकुलो भयो। यसले बजारमा सकारात्मक प्रभाव पार्न थालिसकेको छ,’ उनले भने, ‘सीमामा लचकताकै कारण धेरै लामो समयपछि सबै वाणिज्य बैंकको मूल्य बढेको छ।’