BIZMANDU
www.bizmandu.com

मोटर पार्ट्समा अर्बौं राजस्व गुमाउदै सरकार, न बजेटको सम्बोधन न त नाकामा कडाइ

२०८१ जेठ ६

मोटर पार्ट्समा अर्बौं राजस्व गुमाउदै सरकार, न बजेटको सम्बोधन न त नाकामा कडाइ
मोटर पार्ट्समा अर्बौं राजस्व गुमाउदै सरकार, न बजेटको सम्बोधन न त नाकामा कडाइ


काठमाडौं। केही समयअघि नेपाली बजारमा टाटाका नक्कली स्पेयर पार्ट्स बिक्रीमा संलग्न दुई व्यवसायीलाई सरकारले कार्बाही गरेको थियो।

Tata
GBIME
NLIC

टाटाका गाडीहरुको पार्टपुर्जा अवैध रुपमा भित्र्याएर कारोबार गर्नेहरुलाई प्रहरी पक्राउ गरेर कानुनी कारवाही समेत अगाडि बढाएको थियो। गाडीका नक्कली पार्टपुर्जा विभिन्न नाकाहरुबाट अवैध रुपमा भित्र्याइएको सुराकी पाएपछि प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा त्यसमा संलग्नको खोजी भएको थियो। नेपालमा गाडीका स्पेयर पार्ट्स अवैध रुपमा आयात तथा बिक्री वितरण बजारका लागि नयाँ घटना होइन।

मोटर पार्ट्स ग्रे मार्केटबाट भित्रिनुमा खुला सीमा मात्रै एक्लो कारण होइन। यसमा सरकारले अख्तियार गरेको कर नीति पनि कारक छ। नेपालमा मोटर पार्ट्सको कर अहिले पनि ४८ प्रतिशतभन्दा धेरै छ। तर भारतमा १८ प्रतिशत मात्रै वस्तु र सेवा कर (जीएसटी) लाग्छ। जसले गर्दा ग्रे मार्केटबाट ल्याउने समान सस्तो पर्न जान्छ। यसरी नेपाली बजारमा नक्कली स्पेयर पार्ट्स छ्यापछ्याप्ती पाउन सकिन्छ।

यसै पनि भारतसँग हाम्रो खुला बजार खुला सिमाना छ। सरकारले करको दर भारतसँग तुलना गरेर राख्न नसक्दा नक्कली स्पेयर पार्ट्स खरिद गर्नेको संख्या बढ्दै छ। बजारमा यसरी नक्कली सामान छ्यापछ्याप्ती हुँदा ७५ प्रतिशत मानिसलाई आफूले नक्कली स्पेयर पार्ट्स प्रयोग गरिरहेको थाहा नै हुँदैन। उनीहरु सक्कली स्पेयर पार्ट्सकै मूल्य तिरेर नक्कली  खरिद गरिरहेका छन्। यसरी उपभोक्ता मात्रै ठगिएका छैनन् सरकारले आफूलाई आउने राजस्व समेत गुमाइरहेको छ।

यसैबीच मोरङ उद्योग व्यापार संघले गत चैत २८ गते काठमाडौंमा भएको नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं साधारण सभाका बेला स्वदेशी उद्योगको संरक्षणका लागि भन्दै तयारी वस्तुहरु अटो ट्युब, मोटरसाइकल टायर र एग्रीकल्चर टायरको भन्सार महसुल बढाउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएको थियो। संघका अध्यक्ष नवीन रिजालले ती ३ वटै वस्तुमा नेपाल आत्मनिर्भर भइसकेको दाबी गरेका थिए।

अटो ट्युब र मोटरसाइकल टायरको आयात महसुल २० बाट ३० र एग्रीकल्चर टायरको महसुल १५ बाट २० प्रतिशत बनाउनुपर्ने संघको माग थियो। यस्तै रबर उद्योगको कच्चा पदार्थ रबर एक्सिलरेटर, रबर प्रोसेस आयल र सीआई रेजिनको आयात महसुल क्रमश: १०, २० र ३० रहेकामा ५ प्रतिशत कायम गर्न संघले आग्रह गरेको थियो।

३५ अर्बको मार्केट सेयर रहेको स्पेयर पार्ट्समा लगभग १० अर्ब रुपैयाँको स्पेयर पार्ट्स कहाँबाट आइरहेको छ भन्ने प्रश्न पेचिलो छ।

बजार ३५ अर्बको, मोटर्स पार्ट्स मात्रै २५ अर्बको आयात

बजारमा जेनुइन पार्ट्सभन्दा नक्कली स्पेयर पार्ट्स बजारमा धेरै पाइन्छन्। हाल नेपालमा रहेका ४० लाखभन्दा बढी सवारीसाधनहरुलाई वार्षिक लगभग ३५ अर्ब रुपैयाँ बराबरको स्पेयर पार्ट्स लाग्छ। यही सेरोफेरोमा बजारमा स्पेयर पार्ट्सको माग हुने गरेको व्यवसायीहरु बताउँछन्। जसमा भन्सार विभागको तथ्यांक हेर्दा गत वर्ष राजस्व तिरेर २५ अर्ब ५८ करोड रुपैयाँको मात्रै स्पेयर पार्ट्स आयात गरिएका छन्। सरकारले यसबाट ९ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

गत आर्थिक वर्षमा लुब्रिकेन्ट ५ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएका छन्। १३ वटा लुब्रिकेन्ट कम्पनीहरुले अहिले नेपालमा उत्पादन गरिरहेका छन्। टायर ९ अर्ब ५३ करोड,  ब्याट्री ४ अर्ब ६ करोड र अन्य स्पेयर पार्ट्स, नट बोल्ट, एयर फिल्टर, गियर आइटम, स्टार्टर मोटर, सकरहरु, ब्रेक शु, ब्रेक लाइनिङ, डिस्क प्याड, प्लास्टिक आइटममा फाइबर मडगार्डहरु जस्ता स्पेयर पार्ट्स आयात भएका छन्।

यसरी ३५ अर्बको मार्केट सेयर रहेको स्पेयर पार्ट्समा लगभग १० अर्ब रुपैयाँको स्पेयर पार्ट्स कहाँबाट आइरहेको छ भन्ने प्रश्न पेचिलो छ। यसबाट सरकारले पाउने लगभग ४ अर्बभन्दा बढी राजस्व पनि सरकारले पाएको छैन। जसमा ग्रे मार्केटबाट आउने समान सबै करको दर महँगो भएका सामानहरु छन्। जसको कुल करको दर ४८.५९ प्रतिशतसम्म छ। यसरी हेर्दा मोटर स्पेयर पार्ट्सको मार्केट सेयरमा २५ देखि ३० प्रतिशत पार्ट्स ग्रे च्यानलबाट आइरहेको देखिन्छ।

टाटाको मात्रै नेपाली बजारमा लगभग १० अर्ब रुपैयाँको स्पेयर आयात हुने गरेको टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए। उनका अनुसार यसमा कमर्सियल र प्यासेन्जर सवारीको लागि स्पेयर पार्ट्स आयात हुन्छन्। जसमा कमर्सियल गाडीको लागि मात्रै ६ देखि ७ अर्बको स्पेयर पार्ट्स आवश्यक पर्छ। यस्तै हुन्डाई, महिन्द्रा, सुजुकी, किया, टोयोटाजस्ता ठुला ब्रान्डहरुको लागि सबैभन्दा धेरै स्पेयर पार्ट्स आवश्यक पर्छ।

बजारमा अहिले पनि गाडीहरु मर्मत गर्ने जाने ग्राहकहरु सस्तो सामानको खोजीमा हुन्छन्।  तिनीहरु त्यस्तै ग्यारेज तथा पसलहरु खोजेर बिना बिलको स्पेयर पार्ट्स खरिद गरी गाडीहरु मर्मत गर्ने गरेका छन्।

यसरी अहिले पनि भन्सार नाकाबाट खुला रुपमा क्यारिङ गरेर स्पेयर पार्ट्स नेपाल भित्र्याइन्छ। यसमा नेपालभरी प्रयोग हुने सबै खालका स्पेयर पार्ट्सहरु छन्। जसमा सवारीसाधनदेखि अन्य मेसिनरी समानमा लाग्ने स्पेयर पार्ट्स पनि समावेश छन्।

भन्सार दर भारतभन्दा नेपालमा महँगो

स्पेयर पार्ट्समा लाग्ने भन्सार दरको तुलनामा भारतमा लाग्ने जीएसटी नै धेरै फरक छ। यसमा सबैभन्दा धेरै फरक लुब्रिकेन्ट, ब्याट्री र नट बोल्टहरुमा छ। जसमा लुब्रिकेन्टमा नेपालमा ४३ प्रतिशत, ब्याट्रीमा ३३ प्रतिशत र ह्यान्डल तथा नटबोल्टमा २५ प्रतिशतसम्म फरक छ। यो भनेको नेपालमा आउने सामानभन्दा भारतमा खरिद गरेर क्यारिङमा ल्याउदा ४३ प्रतिशतसम्म सस्तो पर्छ।

अधिकांश स्पेयर पार्ट्समा ३० प्रतिशत भन्सार शुल्क र त्यसमा १३ प्रतिशत भ्याट छ। यसबाहेक कतिपय आइटममा अन्त:शुल्क पनि छ। नेपालमा आयात हुने स्पेयर पार्ट्स लुब्रिकेन्ट्स, साइड मिरर, ब्याट्री, ग्रिज, गियर आइटम, सक तथा चेन किट, प्लास्टिकका आइटम, ब्रेक प्याड तथा अन्य पार्ट्सहरुमा ३५ देखि ४६.९० प्रतिशतसम्म कुल राजस्व लाग्छ।  

भन्सार दर धेरै लाग्ने स्पेयर पार्ट्स

क्रम संख्यास्पेयर पार्ट्सभन्सार महसुलअन्त:शुल्कभ्याटकुल राजस्व
लुब्रिकेन्ट३०% १३%४६.९०%
मिरर३०% १३%४६.९०%
ब्याट्री१५%१०% १३%४२.९४%
ग्रिज३०% १३%४६.९०%
गियर आइटम२०%  १३% ३५.६०%
सक र चेन किट२०% १३%३५.६०%
प्लास्टिक आइटम३०% १३%४८.५९%
ब्रेक प्याड तथा पार्ट्स२०% १३%३५.६०%
टायरहरु२०% १३%३५.६०%
१०हेलमेट्स१५% १३%२९.९५%

अन्डरबिलिङबाट १० प्रतिशत

व्यवसायीका अनुसार  नीति निर्माण गरेर सरकारले कडा नगरे नक्कली स्पेयर पार्ट्सको बजारले जेनुइन स्पेयर पार्ट्सको व्यापार २५ प्रतिशत पनि हुन सक्दैन। सरकारलाई भन्सार शुल्क उठाउन घाटा छ। सामान पारी बाट अन्डर भ्याल्युएसनमा वा क्यारिङमा ल्याउछन्। त्यसले भन्सार शुल्क संकलनमा ठूलो घाटा हुन्छ।

जस्तै पार्ट्समा कम मूल्य राखेर सामान ल्याउँछन् त्यहीअनुसार भन्सार शुल्क धेरै कम तिर्ने गर्छन्। यसले पनि धेरै कर छली हुने गरेको छ। सरकारले भन्सारबाट आयात हुने सामानको एचएस कोडमा समेत कडाइ गर्न सकेको छैन।

स्पेयर पार्ट्स बिक्रेता तथा नाडा अटोमोबाइल्स एशोसिएसनका महासचिव सुरेन्द्रकुमार उप्रेतीका अनुसार स्पेयर्स पार्ट्स ल्याउने एचएस कोड ८७०८ छ। ‘यो कोडमा सामान ल्याउदा २० देखि ३० प्रतिशत भन्सार दर लाग्छ। त्यस्तै भ्याट १३ प्रतिशत तिर्नुपर्छ। अब यही सामान अर्को कोडमा जस्तै ८४१३ भनेर मगायो भने त्यसमा भन्सारदर कम हुन्छ,’ उनले भने, ‘यस्तो गरेर स्पेयर्स पार्ट्स ल्याउने धेरै छन्। यसले भन्सार शुल्क छली गर्न मद्दत गर्छ।’

उक्त अन्डर भ्याल्युएसनमा ल्याएको सामानको मूल्य जेनुइन सामान आउने गरी मूल्य तोक्छ। त्यही अनुसार मार्जिन जेनुइन स्पेयर पार्ट्स बिक्रेताको भन्दा धेरै राखेर बिक्री गर्छन्। यसरी अन्डरबिलिङ गरेर १० प्रतिशतसम्मको स्पेयर पार्ट्स आइरहेको छ। केही हदसम्म यसरी पनि स्पेयर पार्ट्स आउने गरेको भैरहवा भन्सार कार्यलयका प्रमुख नारद गौतम स्वीकार गर्छन्। तर यसरी सामान आएको थाहा पाइएमा आफूहरुले कार्बाही गर्ने गरेको उनले बताए।

बिलिङ सिस्टम नहुन अर्को समस्या

भन्सार कार्यालयका प्रमुखहरुका अनुसार साना पसलहरुमा बिलिङ सिस्टम नै लागु हुन सकेका छैनन्। भैरहवा भन्सार कार्यलयका नारद प्रमुख गौतमका अनुसार अहिले देश डिजिटलाइजेसनमा गए पनि यस्ता सामान बिक्री गर्ने ८० प्रतिशत पसल तथा लोकल भेन्डरहरुले बिलिङको सफ्टवेयर सिस्टम ल्याउन सकेका छैनन्। यो निजी क्षेत्रको कमजोरी हो। यसले पनि ग्रे मार्केटबाट नेपाल भित्र्याइएका स्पेयर पार्ट्सहरु बिक्री गर्न सहज भइरहेको छ।

बिलिङ सिस्टम राख्ने हो भने १५ देखि २० प्रतिशत राजस्व संकलन बढ्ने उनले बताए। बिलिङ सिस्टम राख्न निजी क्षेत्रले किन यसलाई अहिलेसम्म पनि अपनाउन सकेनन्। जस्तै हामी कुनै वर्कशपमा बाइक तथा गाडी मर्मत गर्न जाँदा बिल लिने प्रवृति छैन। यस्तो बिल नलिएर काम सवारीको स्पेयर पार्ट्स किन्नेको जमात धेरै छ।  

टाटा गाडीको स्पेयर पार्ट्स बिक्रेता सिप्रदी अटो पार्ट्सका सिनियर प्रबन्ध निर्देशक युवराज बुढाथोकी अहिले राजस्व तिरेर नल्याउनेको संख्या धेरै रहेको बताउँछन्। उनका अनुसार यसलाई रोक्नको लागि सबैभन्दा मुख्य कुरा बिलिङ सिस्टम कम्प्युटराइज्ड गर्नु पर्छ। ‘भन्सारबाट अन्डर बिलिङमा छुटाउनेले कम्प्युटर बिलिङ गर्न सक्दैन,’  उनले भने।

बुढाथोकीका अनुसार भन्सारबाट १०० रुपैयाँ मूल्यभन्दा कममा सामान ल्याएकाहरुलाई बिलिङ सिस्टममा आउन डर हुन्छ। ‘सामान ल्याउदा भन्सारमा देखाएको मूल्य १० रुपैयाँमा हुन्छ। तर भन्सारमा देखाएको मूल्यमा बिलिङ बनाउन पर्छ,’ उनले भने, ‘यसरी भन्सारमा तिरेको मूल्य अनुसार समानको बिलिङ गर्नुपर्ने हुन्छ। यसो गर्दा अन्डरबिलिङमा ल्याएको समान फेरि महँगो पर्न जान्छ। जसले गर्दा बिलिङ सिस्टम राख्न ग्रे मार्केटमा काम गर्ने व्यवसायीहरु डराउने गर्छन्।’

भीसीटीएससहितको बिलिङ सिस्टम लागु गर्दा पनि धेरै हदसम्म यो समस्या हट्ने बुढाथोकीको भनाइ छ। यस्तै बोर्डरमा टाइट गर्नुपर्नेमा उनको जोड छ।  

उनका अनुसार ग्रे मार्केट रोक्नको लागि सबैखाले स्पेयर पार्ट्समा भारतको जीएसटी हेरेर नेपालमा पनि एकै किसिमको करको दर ५ प्रतिशत जस्तोमा झारेर कन्ट्रोल गर्न सकिनेछ। ‘यसरी करको दर एउटै हुँदा न अन्डरबिलिङ गर्नु पर्छ न अन्य ठाउँबाट सामान ल्याएर बिक्री गर्छन्,’  उनले भने।

खुला नाकाबाट टोकरीमा ल्याउनेको पनि उत्तिकै ठूलो जमात

नेपाल र भारत खुला सिमाना रहेकाले यस्ता स्पेयर पार्ट्सहरु टोकरीमा ल्याउनेहको जमात पनि उत्तिकै ठूलो रहेको व्यवसायीहरु बताउँछन्। अहिले खुला सिमानामा यस्ता टोकरीमा स्पेयर पार्ट्स ल्याउने धेरै पहिलेदेखि नै सक्रिय छन्।

नक्कली स्पेयर पार्ट्सको धन्दामा लागेकाहरुले सीमा वारिपारि गर्न टोकरीमा सामान ल्याउनेलाई प्रयोग गर्ने गरेका छन्।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका महासचिव सुरेन्द्रप्रसाद उप्रेतीका अनुसार खुला बोर्डर भएकाले पारिबाट टोकरीमा हालेर सामान ल्याउनेको कमी छैन। पहिले नै २० प्रतिशत यस्तो अवैध आयात भइरहेको मोटर स्पेयर पार्ट्स अहिले यो झन् बढेको छ।

कोरोना महामारीका बेला सुरुको लकडाउनमा बोर्डरमा कडाइ गरिएकाले त्यतिबेला यस्तो ग्रे मार्केटको चहलपहल ठप्प भएको व्यवसायीहरुको अनुभव छ। सरकारले सधैं त्यसरी नै सीमामा आयात कडाइ गर्न सके स्पेयर्स पार्ट्सका साथै अन्य मालसामानको पनि कालोबजारी कम हुने उनीहरु बताउँछन्।

यस्तै स्पेयर पार्ट्स बिक्रेता सुनिल रिजाल भन्छन्, ‘यस्तै हो भने वैधानिक तरिकाले आउने र अवैध बाटोबाट नेपाल भित्रिने स्पेयर पार्ट्सको बजार हिस्सा बराबरी हुने अवस्था नहोला भन्न सकिन्न। नाकामा बस्ने राजस्व अनुसन्धानको टोलीले प्रभावकारी रुपमा काम नगरेकाले तस्करले सहजै रुपमा भारतबाट टोकरीमा स्पेयर पार्ट्स ल्याएर नेपाली बजारमा बेचिरहेका छन्।’

हाल नेपालमा अटो पार्ट्स आयातकर्ताको संख्या १ हजार ७ सय ३१ छ। यस्तै यिनीहरुमा १ हजार ३ सय ५४ वटा सप्लायर्स छन्। भोल्जा नेपालले तयार पारेको डेटा अनुसार सबैभन्दा धेरै स्पेयर पार्ट्स नेपालमा सिप्रदी अटो पार्ट्स कम्पनीले ल्याउने गरेको छ। जसमा सिप्रदी वार्षिक १ हजार ९ सय ३२ वटा सिपमेन्ट गर्छ भने दोस्रोमा मायारा अटो पार्ट्सले १ हजार ७ सय ८३ वटा सिपमेन्ट र तेस्रोमा एडभान्स्ड अटोमोबाइल्सले ७ सय ९६ वटा सिपमेन्ट गर्छ।