काठमाडौं। अबको एक महिनामा धान रोपाइँ सुरु हुन्छ। देशको विभिन्न भागमा रोपाइँ जेठको अन्तिमदेखि हुने हुन्छ। हरेक वर्ष बाली लगाउने समयमा रासायनिक मलको अभाव हुने गरेको छ। सरकारले बाली लगाउनुअघि मल आपूर्ति हुने आश्वासन दिन भने छाड्दैन। यसपटक पनि त्यस्तै छ।
सरकारले भनेको नपुर्याउँदा किसानले समयमा मल नपाउने समस्या वर्षैवर्ष दोहोरिने गरेको छ। तर, यो वर्ष धान रोपाइँका लागि रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडले दाबी गरेको छ।
प्रबन्धक निर्देशक विष्णु पोखरेल भन्छन् ‘धआनका लागि डीएपी बढी चाहिन्छ। तर, यो पटक अभाव हुँदैन।’ उनका अनुसार बर्खे बालीका लागि जेठदेखि भदौसम्म करिब १ लाख १० हजार युरिया र ७० हजार टन डीएपी मल चाहिन्छ। कृषि सामाग्रीले बजारको मागभन्दा बढी मलको आपूर्ति व्यवस्था मिलाएको उनले बताएका छन्।
बर्खेबालीका लागि आवश्यक पर्ने रासायनिक मल सुनिश्चित गरिसकेको उनको भनाइ छ। उनका अनुसार हाल ‘कम्पनीमा हाल ५४ हजार मेट्रिक टन युरिया मल स्टक छ। ५ हजार ६ सय मेट्रिक टन डीएपी र ८ हजार ८सय ६० मेट्रिक टन पोटासको स्टक छ। यस अघि युरिया मलको स्टक करिब ७० हजार मेट्रिक टन थियो। जुन दैनिक रुपमा बिक्री हुँदा परिमाण घटेको हो।
हाल देशभर दैनिक रासायनिक मलको माग ८ सय देखि एक हजार मेट्रिक टन रहेको प्रबन्धक पोखरेलले बताए।
कम्पनीले यो वर्षको लागि करिब ४ लाख मेट्रिक टन मल आयात गर्ने लक्ष्य राखेको थियो। जसमा २ सय २० मेट्रिक टन आइसकेको छ। बाँकी मल आउने प्रक्रियामा छ।
उनका अनुसार डीएपी २५ हजार टन चीनबाट लोडिङ हुदैछ। २० हजार मेट्रिक टन युरिया भारतको कोलकाता आइसकेको छ। त्यसमध्ये एक र्याक मल लोड भएर वीरगंज भन्सारमा आउँदैछ।
युरिया ३६ हजार, मेट्रिक टन र २५ हजार मेट्रिक टन डीएपी भारतको विशाखापटनामा केही प्रक्रिया नपुगेर अड्किएर बसेको छ। प्रक्रिया पुगेपछि उक्त मल पनि चाडै नेपाल आउने छ। यसको अलवा यही साता ३० हजार मेट्रिक टन युरिया मल आउदैछ
त्यस्तै थप ३० हजार मेट्रिक टन आगामी जुनमा आउने तयारी छ। यी सबै मल असारभित्रै धान सिजनको लागि आउने छ।
त्यस्तै साउन र भदौमा गरी ६० हजार मेट्रिक टन मल नेपाल आइपुग्ने छ। भदौमा २५ हजार मेट्रिक टन डीएपी प्राप्त हुनेगरी टेण्डर निकालिसेको र त्यसको प्राविधिक मूल्यांकन गर्न बाँकी छ।
साथै, यो वर्ष भारतबाट जिटुजीमार्फत २५ हजार मेट्रिक टन मल खरिद गर्ने सम्झौता भएको थियो छ। उक्त मल यही साता चीनमा लोड भएर आउन लागेको हो।
प्रबन्धक निर्देशक पोखरेलले कृषि सामग्रीले यस अघिको समस्यालाई मध्यनजर गरी हरेक महिना मल आउने गरी काम गरिरहेको बताए। यसले गर्दा मलको अभाव यस पटक नदोहोरिने दाबी उनको छ।
चालु आर्थिक वर्षको लागि रासायनिक मल खरिदका लागि सरकारले ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसमध्ये अनुदानको रुपमा २१ अर्ब रुपैयाँ पाउने अनुमान गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा केही समययता रासायनिक मलको भाउ घट्दै गएको छ। अब टेण्डर प्रक्रियासम्म मूल्य घटिरहे किसानहरुले अहिलेको भन्दा सस्तो मूल्यमा मल खरिद गर्न सक्ने प्रबन्धक निर्देशक पोखरेलले बताए।
कम्पनीसँग रहेको मल सातै प्रदेशमा कोटा अनुसार वितरण हुने गरेको छ।नेपालमा हरेक वर्ष करिब ५ लाख मेट्रिक टनभन्दा बढी रासायनिक मलको माग हुने गरेको छ। तर सरकारले बजारको माग अनुसार मलको आपूर्ति गर्न नसक्दा किसानहरु ठूलो समस्या झेल्नु परेको छभने उत्पादनमा समेत असर परेको छ।