काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा विपक्षीहरुको रणनीति तय गर्न संयुक्त बैठक डाकेको छ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा १०: ३० मा बस्ने तय भएको कांग्रेसले जनाएको छ।
बैठकमा कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीलाई निम्ताएको छ। आफू कांग्रेसले डाकेको बैठकमा पुगेको राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले बताए।
शुक्रबार प्रतिनिधि सभा बैठक ११ बजे बस्दैछ। बैठकअघि साझा रणनीति तय गर्न विपक्षीहरुको संयुक्त बैठक बस्न लागेको कांग्रेसले जनाएको छ। यसअघि कांग्रेसको संसदीय दलको बैठक संसद भवनमा बसेको थियो।
सहकारीको रकम अपचलन गरेको विषयमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध जारी राखेको छ। कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको छ। सत्तारुढ दलले भने सहकारीको समग्र विषयमा अनुसन्धान गर्न छानबिन समिति बनाउन सकिने तर व्यक्ति किटेर समिति बन्न नसक्ने अडान लिँदै आएको छ।