काठमाडौं। सरकारले नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्रतिष्ठानको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
प्रतिष्ठानमा अध्यक्षको पद एक वर्षभन्दा लामो समयदेखि खाली थियो। सरकारले थिंक ट्यांकका रुपमा २०७५ असोजमा स्थापना गरेको प्रतिष्ठानमा यसअघि प्रा. चैतन्य मिश्र, डा. गणेश गरुङ र डा. विष्णुराज उप्रेतीले अध्यक्षका रुपमा काम गरिसकेका छन्।
सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ। मधेश प्रदेशका कामु सचिव लोकनाथ पौडेल र कृषि तथा वन समूहबाट राजेन्द्रप्रसाद मिश्रलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको शर्माले जानकारी दिइन्।
सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको छ। उनी माओवादी कार्यकर्ता हुन्। उनले यसअघि पनि समिति अध्यक्षको नियुक्ति लिएकी थिइन्।