काठमाडौं । काठमाडौं महानगरपालिकाले टुंडिखेलमा संचालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण भोलि सकिँदैछ। वैशाख १९ गते मेलाको उद्घाटनपछि कक्षाहरु सुरु भएका थिए।
यस चरणमा १ हजार ५७७ जनाका लागि तालिमको कोटा थियो। यसमध्ये १ हजार ५०५ जना तालिममा सहभागी भएको महानगरले जनएको छ।
३० दिन र १५ दिनको तालिम अवधिमध्ये भोलि १५ दिनको अवधि सकिनेछ। आज र भोलि तालिम सम्पन्न भएका प्रशिक्षार्थीहरुको योग्यता परीक्षा र नयाँ प्रशिक्षार्थीका लागि अभिमुखीकरण संचालन भइरहेको छ ।
अभिमुखीकरण कार्यक्रमअन्तर्गत आज ६४६ जना कार्यक्रममा सहभागी थिए।
दोस्रो चरणको कक्षा जेठ ६ गते आइतबारबाट सुरु हुने महानगरले जनाएको छ। यसमा १ हजार १३५ जनाको कोटा छ। यसका लागि १ हजार २६५ जनाको नाम सूचीकरण गरेर फोनमार्फत तालिममा आउन अनुरोध गराइएको छ।
तालिममा समावेश १० क्षेत्र र ३० पेशासँग सम्बन्धित तालिममध्ये अटो इलेक्ट्रिक, इलेक्ट्रिक कार (इभी), डकर्मी, टाइल एण्ड मार्वल फिटिङ, इलेक्ट्रिसियन, प्लम्बिङ, रेफ्रिजेरेसन एण्ड एसी टेक्निसियन र आर्ट एण्ड स्कप्चर ३० दिन अवधिका हुन्।
यस्तै बारिस्ता, फास्ट फुड कुक, बेकरी, बार टेन्डिङ्, वेटर, डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेट वर्किङ, सीसीटीभी क्यामरा, मोवाइल रिपेयरिङ, वेल्डिङ, टेलरिङ/ड्रेस मेकिङ्, फेसन डिजाइनिङ, नेल आर्ट, मेक अप आर्ट एण्ड आइलेस, आइलेस आर्ट एक्सटेन्सन, हेयर कट एण्ड स्टायल, सैलुन, स्क्रीन प्रिन्टिङ्, ज्योतिष र ज्योतिष पुरोहित १५ दिन अवधिका तालिम हुन्।