BIZMANDU
www.bizmandu.com

दक्षिण कोरियाली राजदूत र परिसंघका पदाधिकारीबीच भेट, लगानी प्रवर्धनका बारेमा छलफल

२०८१ जेठ २

दक्षिण कोरियाली राजदूत र परिसंघका पदाधिकारीबीच भेट, लगानी प्रवर्धनका बारेमा छलफल
दक्षिण कोरियाली राजदूत र परिसंघका पदाधिकारीबीच भेट, लगानी प्रवर्धनका बारेमा छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि दक्षिण कोरीयाका राजदूत पार्क तइयोङबीच लगानी एवम् व्यवसायिक सम्बन्ध विस्तारको बारेमा छलफल भएको छ।

Tata
GBIME

परिसंघ सचिवालयमा आज भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापित भएको ५० औं वर्ष पुगेकै दिन भएको यो छलफल अत्यन्त सुखद र महत्वपूर्ण भएको बताएका थिए।

अग्रवालले कोरीयाली लगानी कर्ताहरूलाई नेपालमा भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन, जलविद्युत, कृषिलगायतका क्षेत्रमा लगानी विस्तारका लागि पहल गर्न राजदूत तइयोङलाई आग्रह गरेका थिए।

यस्तै, सरकारले वैदेशिक लगानी आकर्षित गर्न विद्यमान केहि कानुनहरूमा संशोधन समेत गरिसकेको भन्दै अग्रवालले नेपाल लगानीका लागि राम्रो गन्तव्य रहेको बताएका थिए। उहाँले सीप विकासका क्षेत्रहरूमा समेत लगानी गर्न आग्रह गरेका थिए।

भेटमा परिसंघले आगामी सेप्टेम्बरमा आयोजना गर्न लागेको नेपाल पूर्वाधार सम्मेलन २०२४ मा कोरियाबाट उल्लेख्य लगानीकर्ताहरूको सहभागिताका लागि राजदूत तइयोङसँग उनले आग्रह गरेका थिए।

राजदूत पार्कले परिसंघले संचालन गरेको ‘मेक ईन नेपाल (स्वदेशी अभियान’को प्रशंसा गर्दै यस्ता अभियानहरूले मुलुकको उत्पादन, उत्पादकत्व तथा रोजगारी प्रवर्द्धन गर्दै आयात प्रतिस्थापनमा उल्लेख्य योगदान पुर्‍याउने बताएका थिए। राजदूतले कोरीयाको श्रम बजारमा उल्लेख्य उपस्थिति रहेको बताउँदै नेपालीहरू मेहनती तथा ईमान्दार रहेको बताएका थिए।

नेपालको आर्थिक विकासमा आवश्यक सहयोग पुग्ने विषयहरूमा दक्षिण कोरीया सदैव सकारात्मक रहेको राजदूतको प्रतिक्रिया थियो।