काठमाडौं। नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा नयाँ कुरा केही नरहेको भन्दै अर्थतन्त्रमा थप क्षयीकरण हुने बताएको छ।
पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नीति तथा कार्यक्रमले अर्थतन्त्रमा सुधार हुने आशा गर्न नसकिने बताए।
‘यो नीति कार्यक्रमले अर्थतन्त्रमा सुधार होला भन्ने म देख्दिन। बरु अर्थतन्त्र थप क्षयीकरण हुने देख्छु,’ उनले भने।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि नीति तथा कार्यक्रमले कुनै उत्साह जगाउन नसकेको बताए। उनले सहकारी क्षेत्रमा अहिले देखिएको समस्यालाई नीति तथा कार्यक्रममा बेवास्ता गरिएको उनको आरोप छ।
‘पुरानै कार्यक्रम आएका छन्। विदेश जाने युवालाई स्वदेशमै रोजगारी भनेर आएका साथीहरु अहिले युवालाई विदेश पठाइरहेका छन्। नीति तथा कार्यक्रम परम्परागत छ। सहकारीको समस्या समाधान गर्न कुरै छैन,’ उनले भने।