BIZMANDU
www.bizmandu.com

गगनसँगको भेटबारे शेखरलाई प्रश्न : सत्ता समीकरण फेरबदलबारे कुराकानी भएको हो ?

२०८१ बैशाख ३०

गगनसँगको भेटबारे शेखरलाई प्रश्न : सत्ता समीकरण फेरबदलबारे कुराकानी भएको हो ?
गगनसँगको भेटबारे शेखरलाई प्रश्न : सत्ता समीकरण फेरबदलबारे कुराकानी भएको हो ?

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ। नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो।

Tata
GBIME
Nepal Life

संस्थापनइतरका दुई नेताबीच गोदावरीमा भएको महासमिति बैठकपछि पहिलोपटक वान टु वान वार्ता भएको हो। कांग्रेसले नेकपा एमालेसँग मिलेर सत्ता समीकरण बदल्ने प्रयास जारी राख्दा दुई नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कोइरालालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिसकेको कोइराला निकट केही नेताको दाबी छ। संस्थापन पक्ष भने सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउनुपर्ने अडानमा छ।

गगनसँगको भेटमा सत्ता समीकरणबारे छलफल भएको हो? जवाफमा कांग्रेस नेता डा. कोइरालाले भने, ‘कांग्रेससँग अहिले मेजोरिटी नै छैन। कसरी हुन्छ सरकार परिवर्तन?’

कांग्रेसमा सभापति देउवा र संस्थापनइतर पक्षको सुमधुर सम्बन्ध छैन। यद्यपि सहकारीको रकम अपचलनको विषयमा भने यतिबेला कांग्रेस एकजुट देखिन्छ। कांग्रेसले यस प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन आवश्यक भन्दै संसदीय समिति गठनको माग गर्दै आएको छ।

यसै विषयमा गगनसँग कुरा भएको नेता कोइरालाले बताए। ‘सदन खुलाउने विषयमा राष्ट्रपति र प्रधानमन्त्रीसँग महामन्त्रीको भेट भएको थियो,’ कोइरालाले भने,’ यसै विषयमा ब्रिफिङ भयो।’

महामन्त्री थापाले शनिबार राष्ट्रपति रामचन्द्र पौडलसँग भेट गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भने सभापति देउवासहितको टोलीले आइतबार बिहान छलफल गरेको हो।

बजेट अधिवेशनको पहिलो दिन नै कांग्रेसले सदनमा अवरोध गरेको थियो। लामिछानेमाथि लागेको रकम हिनामिनाको आरोपबारे संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग राखेर कांग्रेसले सदन अवरोध गरेका कारण प्रधानमन्त्री दाहालले आइतबार देउवा, थापालगायत कांग्रेस नेतालाई बालुवाटार बोलाएर छलफल गरेका हुन्।

छलफल सकारात्मक भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। संसदीय छानबिन समिति बनाउने विषयमा सरकारको कुनै निर्णय आएको छैन। कांग्रेस पनि आफ्नो अडानबाट पछि हटेको छैन।

कांग्रेसले सोमबार संसदीय दलको बैठक डाकेको छ। ‘प्रधानमन्त्रीसँग भएको छलफलको विषय र थप विषयमा निर्णय लिन हाम्रो संसदीय दलको बैठक भोलि दिउँसो २ बजे बस्दैछ,’ प्रधानमन्त्री दाहालसँगको छलफलपछि कांग्रेसका प्रमुख सचेतक लेखकले भने।